|

कवि गोविन्द नेपाल ‘अक्षर खेल्ने आँगन’ नामको कवितासंग्रह २०६३ सालमा प्रकाशन गरेपछि लामै समय नेपाली कविताको क्षेत्रबाट हराएझैँ भए। बाह्र वर्षमा खोला फर्केझैँ उनी फेरि आफ्नो पदचाप सुनाउँदै नेपाली कविताको क्षेत्रमा ‘तर्कको साम्राज्य’ कवितासंग्रह लिएर फकिए, २०७५ सालमा। यतिका वर्ष गोविन्द नेपाल हराएका थिएनन्, उनी नेपाली कविताको मूल दृश्यबाहिर कतै बसेर नयाँ स्वर, नयाँ सन्दर्भ र नयाँ बान्कीमा कविता लेखिरहेका थिए। उनको नयाँ कवितासंग्रह ‘तर्कको साम्राज्य’ले यही भन्छ।

पुस्तकको सुरुमै कवि गोविन्द नेपालले ‘कविता पढ्दा शब्दको थुप्रोले कविता किचिएको देख्यो भने गोविन्द पारसमणिलाई सम्झिन्छ’, आत्मस्वीकृति लेखेका छन्। र, उनले पारसमणि प्रधानको प्रसिद्ध कवितांश ‘... शब्द थुपारीकन के हुन्छ, भाव भए पो हुन्छ’लाई समेत उद्धृत गरेका छन्। गोविन्दको कविताको अध्ययन गर्दा उनको यस आत्मस्वीकृतिलाई पनि सन्दर्भको रूपमा लिइएको छ।

पुस्तकमा लामा र छोटा दुवै खालका कविता रहेका छन्। लामो कविता र छोटो कविताको संरचनासँगै प्रभावकारिता पनि एकै किसिमको हुँदैन। गोविन्दका पनि आलेखमा कवि पूर्णविराम, कृपया आवेशमा नआउनुहोला, किस्ने, कालोपनको विपक्षमा, श्रीमतीजी माइत गएपछि, क्यालेन्डरमा जीवनको पाना पल्टाउँदै, भुइँमान्छे जस्ता कविताहरू लामो आकारका कविताहरू हुन् भने संकट, बाटोमा, दृष्टिदोष, माया र व्यस्तता, नखस्ने आकाश, इरेजर, पोखरी र पहिरो, जगेडा मुटु, आगो शृंखलाका कविताहरू आकारका दृष्टिले छोटा छन्।

लामा कविताहरूमा कविलाई अनुभूति र विषयवस्तुसँग खेल्ने केही स्पेश र छुट हुन्छ। तर छोटा कवितामा कवित्व र कला दुवैलाई सन्तुलनमा राखेर मानिसको मन, मस्तिष्कलाई प्रभावित गर्नेगरी सोझै व्यक्त गर्नुपर्ने हुन्छ। लेख्ने शिल्पमा कवि चुक्यो भने छोटो कविता चुट्किला बन्ने खतरा रहन्छ। त्यसैले छोटा कविता लेख्नु चुनौतीपूर्ण छ। कवि गोविन्दले यस चुनौतीलाई सफलतापूर्वक सामना गरेका छन्। पुस्तकमा संगृहीत छोटा कविताहरू तीक्ष्ण छन्, तिनको प्रभावकारिता पाठकको मनभित्रसम्म विस्तार हुन्छ र धेरै बेरसम्म रहिरहन्छ। यी कविताहरूमा कविताको बुनोट खँदिलो छ। 

लामा कविताहरू पनि धेरैजसो प्रभावकारी र शक्तिले भरिएका छन्। तर कुनैकुनै कवितामा कवि गोविन्द उनकै शब्दमा ‘पारसमणिलाई सम्झनुपर्ने’ अवस्थामा समेत पुगेका छन्। कवितामा राखिएको प्रत्येक अनुच्छेद अघिल्लो अनुच्छेदसँग विचार वा भावनाको अभिव्यक्तिमा जोडिएर आएको हुनुपर्छ र त्यसले कविताको मूल विचार वा थिमलाई केही अलग्गै किसिमले बलियो बनाउन अथवा अझ प्रभावकारी बनाउन सहयोग गरेको हुनुपर्छ।

तर प्रस्तुत पुस्तकका  कुनैकुनै लामो आकारका कवितामा पुनरुक्तिको दोष नभए तापनि कवितालाई थप सुन्दर बनाउन वा कविको कथ्यलाई थप पुष्टि गर्न वा कवितामा सम्प्रेषण गर्न खोजिएको अभिव्यक्ति एवं विषयवस्तुलाई प्रभावकारी बनाउन थप सहयोग नगर्ने तर कवितालाई लामो बनाउने किसिमका मात्र हरफहरू वा अनुच्छेदहरू समेत भेटिन्छन्। यस पक्षलाई भने कवि गोविन्द र बाँकी सबै कविहरूले कविता लेख्दा नदोहोर्‍याउन सचेत हुनुपर्ने देखिन्छ।

कविता आफूलाई संलग्न गराएर लेख्ने प्रविधि पनि छ। त्यसैगरी, कविले आफूलाई असंलग्न वा निरपेक्ष गराएर लेख्ने शैली पनि प्रचलित छन्। सामान्यतया कविले आफूलाई संलग्न गराएर कविता लेख्ने शैली तुलनात्मक रूपमा सहज हुन्छ। गोविन्दले यी दुवै शैलीको प्रयोग उत्तिकै प्रभावकारी रूपमा गरेका छन्। प्रायः सबै कविताहरूमा कविताको प्रारम्भ ज्यादै शक्तिशाली किसिमको रहेको देखिन्छ तर केही कविताहरूमा भने त्यो शक्ति अन्त्यसम्म कायम रहेको अनुभव हुँदैन।

‘तर्कको साम्राज्य’ पुस्तकको अध्ययन गरिसकेपछि गोविन्द नेपालका कवितामा संगीतात्मकता प्रचुर रहेको पाइन्छ। उनका कवितामा विषयको विविधता छ, जसले पाठकलाई नयाँनयाँ विषयमा प्रवेश गर्ने अवसर प्रदान गर्छन्।

खासगरी लामा कविताहरूमा यस्तो अवस्था देखिन्छ। लामो कवितामा प्रारम्भमा कायम रहेको प्रभावलाई त्यत्तिकै जोगाइराख्नु चुनौतीपूर्ण कार्यसमेत हो। 
पुस्तकमा एउटा कविता छ ‘कालोपनको विपक्षमा’ शीर्षकको। यो कविता बुनोटको दृष्टिले सुन्दर छ तर अर्थ सम्प्रेषणका दृष्टिकोणले भने प्रश्न उठाउन सकिने ठाउँहरू छन्। कवि लेख्छन् :

तपाईं रङ भन्नुस्
चाहे उमंग भन्नुस्
कालो ढोँगी हो
कालो भोगी हो
कालो रोगी हो। (पृष्ठ २७)

कालोलाई प्रतीकको रूपमा मात्र नभएर रङको रूपमा समेत कवितामा प्रयोग भएको छ। कालो रङ अरू रङ जस्तै पूर्ण र अर्थ बोकेको रङ हो। कालो रङ भन्नेबित्तिकै खराब, अँध्यारो वा नकारात्मक अर्थमा मात्र धेरै लिने गरिएको देखिन्छ नेपाली कवितामा। अब यस प्रवृत्तिलाई परिवर्तन गर्न आवश्यक छ। रात छ र त बिहान आउँछ त, अथवा अँध्यारो भएकाले त उज्यालोको चाहना गरिन्छ भन्ने किसिमले पनि सोच्न आवश्यक छ।

‘शैलुनमा’ शीर्षकको कविता सुन्दर एवं अर्थपूर्ण कविता हो। यसले पाठकलाई सोचमग्न बनाउँछ तर कवितामा कविको सानो असावधानीले अर्थ सम्प्रेषणमा भ्रमपूर्ण अवस्था बन्न पुगेको छ। सुन्दर, सम्प्रेष्य र प्रभावकारी कविताका लागि यस किसिमको असावधानी कवितामा अस्वीकार्य हुन्छ। यसतर्फ सबै कविहरूको ध्यान जान आवश्यक देखिन्छ। उदाहरणका लागि: 

तपाईं सुरक्षित रहनुस्/नरहनुस्
हातमा कैँचीरूपी लाइसेन्स लिएपछि
तपाईंको बाउले पनि नछोएको 
हजामसँग
तपाईंको कान समात्ने अधिकार सुरक्षित रहन्छ।

कविताको यस अनुच्छेदलाई यसरी भनेको भए अझ प्रष्ट र सुन्दर हुन्थ्यो–
तपाईं सुरक्षित रहनुस्/नरहनुस्
हातमा कैँचीरूपी लाइसेन्स लिएपछि
हजामसँग
तपाईंको बाउले पनि नछोएको 
तपाईंको कान समात्ने अधिकार सुरक्षित रहन्छ। (पृष्ठ ५३)

कविताको शक्ति र सीमा दुवै बुझेको व्यक्तिबाट राम्रो कविताको अपेक्षा गर्न सकिन्छ। यस पुस्तकलाई अध्ययन गरेपछि कवि गोविन्द कविताको शक्ति र सीमा बुझ्ने सामर्थ्य राख्ने कवि हुन् भन्ने देखिन्छ। आगो शृंखलाका कविताहरू तुलनात्मक रूपले धेरै प्रभावकारी छन्। लामा आकारका कविताको हकमा भने रोइरहेकी तिमीलाई, फेसबुक फिभर, बा एक विश्वविद्यालय, माकुरो, तिम्रो माया र बाडुलीले त्यो सामथ्र्यलाई बोकेका छन्। अन्य कविता भने विषयवस्तुका दृष्टिले सुन्दर भए तापनि प्रस्तुति एवं अर्थ सम्प्रेषणका दृष्टिले त्यत्तिकै अब्बल अनुभूत हुँदैनन्।

समग्रमा, ‘तर्कको साम्राज्य’ पुस्तकको अध्ययन गरिसकेपछि गोविन्द नेपालका कवितामा संगीतात्मकता प्रचुर रहेको पाइन्छ। उनका कवितामा विषयको विविधता छ, जसले पाठकलाई नयाँनयाँ विषयमा प्रवेश गर्ने अवसर प्रदान गर्छन्। उनका कविता शब्दका गह्रौँ भारी बोकेर हिँड्ने नभई सरल शब्दहरूको कलात्मक प्रस्तुतिले गर्दा सुललित लाग्छन्। नेपाली कविता विधामा एउटा संग्रहणीय कविताकृतिको आगमन भएको छ। यसका लागि यस कृतिका सर्जक गोविन्द नेपाल र प्रकाशक गरिमा प्रकाशन, जोरपाटी दुवै बधाईका पात्र छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.