|

बनेपा : काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकाअन्तर्गत ७, ८, ९ र ११ बिपी राजमार्गअन्तर्गत पर्ने सडक दायाँबायाँ मापदण्डभित्र परेका ५५ वटा घरटहराहरू भत्काएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

सो राजमार्गअन्तर्गत नेपालथोक-धुलिखेल सडकखण्ड ४ अन्तर्गतका दायाँबायाँ १५/१५ मिटरभित्रका घर, टहरा तथा होर्डिङ बोर्डहरू सोमबारबाट भत्काउन सुरु गरिएको हो। सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिवास सडक आयोजनाको अगुवाई र जिल्ला प्रहरी कार्यालयको सहयोगमा धुलिखेल नगरपालिका-७ हस्पिटल चोकबाट सडक अतिक्रमण गरी बनाएका टहरा तथा संरचनाहरू भत्काउन थालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए।

उनका अनुसार सोमबार धुलिखेल नगरपालिकाको वडा ७ हस्पिटल चोकबाट सो नगरपालिकाको वडा ११ पात्लेखेतसम्म गरी ५५ वटा घर तथा टहराहरू, होडिङ बोर्ड ६५ वटा र शौचालय १८ वटा भत्काइएको छ।

सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाका निमित्त आयोजना प्रमुख राकेश महर्जनले काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाको सिमानासम्म तोकिएको मापदण्डभित्रका घर टहरा तथा संरचनाहरू सबै हटाउने बताए।

उक्त राजमार्गअन्तर्गत पर्ने धुलिखेल नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको गरी ४८६ घर तथा टहराहरू भत्काउनु पर्ने सडक आयोजनाले जनाएको छ। त्यसको लागि सम्बन्धित वडा अध्यक्षहरूलाई सम्पूर्ण जानकारी पठाईसकेको र उनीहरूले सम्बन्धित घर/टहरा धनीलाई जानकारी गराएर सो कार्य सुरु गरेको निमित्त आयोजना प्रमुख महर्जनले बताए।

धुलिखेल नगरपालिका-७ का स्थानीय गंगा थापाले भत्काउनु अघि सामानसमेत निकाल्न नदिई भत्काएको भन्दै आक्रोस पोखे। उनले भने ‘नियमअनुसार भत्काउने ठाउँमा सामान सार्न त सकिन्थ्यो, तर पाकेको खाना र एक/एक रुपैयाँ गरी कमाएको धनसमेत ध्वस्त हुने गरी पेलेरै अमानवीय व्यवहार देखाएर प्रहरी लगाएर डोजर चलायो।’

धुलिखेल अस्पताल चोकका अनिल श्रेष्ठले जग्गा सडक मापदण्डभित्र परेको भने पनि पहिला सर्वेक्षण गरेको ठाउँभन्दा भित्रबाट सडक निर्माण गरी आफ्नो भएको जग्गासमेत सबै गुमाउन बाध्य बनाएको गुनासो गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.