|

लहान : पूर्वी सप्तरीको कञ्चनरुप नगरपालिकाअन्तर्गत विभिन्न गाउँ बस्तीमा प्रकोपको रुपमा देखिएको मौसमी ज्वरो तथा रुघाखोकी (सिजनल फ्लु) क्रमशः घट्दै गएको छ। नगरका प्रभावित वडाहरूमा समेत ज्वरो तथा रुघाखोकीका बिरामीको संख्या घट्दै गएको नगर स्वास्थ्य शाखाले जनाएको छ।

नगर स्वास्थ्य शाखा प्रमुख शाखा प्रमुख डम्बरप्रसाद गुप्ताका अनुसार भदौ ३१ गतेसम्म जाँच गराउन आउने बिरामीको संख्या मंगलबारदेखि घटेको छ। 

तीन दिनमा भेटिए ३६१ बिरामी

विद्यालय समेत बन्द गरी घर घर पुगेर जाँच गर्दा मंगलबारसम्म नगर क्षेत्रभित्र ३६१ जना मौसमी ज्वरो तथा मौसमी रुघाखोकीका बिरामी भेटिएको स्वास्थ्य शाखा प्रमुख गुप्ताले बताए। नगर क्षेत्रमा स्वाइन फ्लु (एचवनएनवन) र हङकङ फ्लु (एचथ्रिवनटु) को संक्रमित बिरामी पाइएको कञ्चनरुप नगर क्षेत्रमा पछिल्लो तीन हप्ताको अवधिमा तीन बालकसहित चार जनाको मृत्यु भएको थियो। 

कञ्चनरूप नगरपालिका ३ बरमझियाका १४ वर्षीय किशोर राम, ७ धरमपुरका १४ वर्षीय दिवस बस्नेत  र ९ रुपनगरका १४ वर्षीय आमोदकुमार रामको उच्च ज्वरोको कारणले मृत्यु भएपछि सिंगाे नगर क्षेत्र त्रसित रहेका बेला कञ्चनरुप ४ का ६० वर्षीया भाल्सेरदेवी सरदारको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको थियो। उस्तै उमेरका तीन जना किशोर र बृद्धाको मृत्युको कारण खुल्न सके पनि स्वाइन फ्लु वा हङकङ फ्लुको संक्रमण कारण हुन सक्ने आशंका गरिएको छ।

स्वाइन फ्लु र हङकङ फ्लु भाइरस संक्रमण फैलिन नदिन भदौ ३१,असोज १ र २ गते गरी तीन दिन नगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय समेत बन्द गरिएको थियो। जिल्लाको कञ्चनरुप तथा हनुमाननगर नगरपालिका क्षेत्रमा स्वाइन फ्लु (एचवनएनवन) र हङकङ फ्लु (एचथ्रीवनटु) को भाइरस फेला परेपछि जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णयको आधारमा दक्षिणी सीमा जोडिएको भारतीय सीमा नाका कुनौली र पूर्वी नाका कोशी ब्यारेजदेखि पूर्वपट्टि भारतको भीमनगर हुँदै आउनेहरूको पनि स्क्रिनिङ गर्न हेल्प डेस्क राखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। 

नगरपालिकाको स्वास्थ्य शाखाले प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत र महिला स्वयंसेवीकालाई गाउँ गाउँमा परिचालन गरी ज्वरो तथा खोकी लागेका बिरामीहरूको उपचार गरिरहेको छ। नगरपालिकाले हरेक वडामा तीन जना स्वास्थ्यकर्मी र औषधिसहितको टोली परिचालन गरी उपचार सेवा दिइरहेको स्वास्थ्य शाखा प्रमुख गुप्ताले बताए।

घरदैलोमा विशेषज्ञ टोली पुग्दै

पछिल्लो भदौ २४ देखि २६ सम्म रगत संकलन र जाँचमा संलग्न रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) बाट पुनः डा.प्रकाश साह र जनस्वास्थ्य अधिकृत विजय रिमालसहितको विशेषज्ञको टोली हरेक घरदैलोमा पुग्दैछ।

सोमबार आएको टोली बुधबारदेखि प्रभावित गाउँ बस्तीमा परिचालन हुने जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.