प्राय सबै प्रमाण नष्ट गरिए पछि अनुसन्धान प्रभावित

|

काठमाडौं : कंचनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब दुई महिना पुग्दै छ तर अझै दोषी पत्ता लाग्ने छनकसम्म देखिएको छैन। यसो हुनुको प्रमुख कारण तत्कालीन कंचनपुर प्रहरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्ली विष्टको भूमिका नै प्रमुख भएको प्रहरीको भनाइ छ।

विष्टले अपराधीसम्म पुग्नुको साटो प्रमाण नष्ट गर्ने कार्यमा सक्रिय भूमिका खेलेको बालिकाकै आमाबुबाको आरोप छ। यही कारण कंचनपुरमा आन्दोलन भयो।  आन्दोलनमा एक जना बालक सनी खुना प्रहरीको गोली लागेर मारिए।

पीडितका आमाबुबा न्याय माग्दै सिंहदरबारसम्म पुग्नुपर्‍यो। भलै प्रहरी प्रधान कार्यालयले बलात्कार र हत्याकाण्डमा लापरवाही गरेको भन्दै एसपी डिल्लीराज विष्टसहित केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसी, कंचनपुर प्रहरीका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश भट्ट, कंचनपुर प्रहरीका अनुसन्धान अधिकृत इन्स्पेक्टर एकेन्द्र खड्का र अस्थायी प्रहरी चौकी सालघारीका प्रहरी नायव निरीक्षक (सई) रामसिंह धामी निलम्बनमा परिसकेका छन्। 

प्रहरीले पन्तको बलात्कारपछि हत्या अभियोगमा यसअघि कंचनपुरकै दिलीपसिंह विष्टलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। तर दिलीपको डिएनए परीक्षणका क्रममा नमिलेपछि उनी साधारण तारेखमा रिहा भइसकेका छन्। वास्तविक अपराधी को हुन्? त्यो थाहा पाउन अब निर्मलाका आमाबाबु मात्रै होइन, देश नै प्रतीक्षामा छ।

छानविन माथि छानविन

निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा कंचनपुर प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डिआईजी) धीरु बस्नेतको नेतृत्वमा नौ सदस्यीय छानविन टोली गठन गरेको छ। यसअघि भदौ १४ गते वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदी नेतृत्वको समिति गठन भएको थियो। त्यही समितिलाई अधिकार सम्पन्न बनाउन बस्नेतलाई प्रमुख बनाइएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षत्रीको भनाइ छ।

बस्नेतको समितिले आतबारबाटै पन्तको हत्याबारे अनुसन्धान सुरु गरिसकेको छ। निलम्बनमा परेका र तत्कालीन समयमा निर्मला पन्त हत्याको अनुसन्धानमा संग्लन सबै दर्जाका प्रहरीलाई हेडक्वार्टर बोलाएर बयान लिन सुरु भइसकेको जनाएको छ। त्यस्तै, पन्तको हत्याकाण्डको गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली र सिआइबीका एसएसपी ठाकुरप्रसाद ज्ञवालीको टोलीले समेत छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ।

प्रमाणको नाममा एउटै 'भेजिनल स्वाब'

निर्मलाका बलात्कारी र हत्यारा पत्ता लगाउने प्रहरीसँग खास प्रमाण नै छैन। हत्यासँग सम्बन्धित प्रमाण सयम र अन्य कारणले नष्ट भइसकेका छन्। तर प्रहरीसँग एउटै प्रमाण छ, निर्मलाको यौनांगको भित्री भागमा भेटिएको पुरुषको शुक्रकिट।

प्रहरीले यही प्रमाणबाट अपराधीसम्म पुग्ने प्रयास गरिरहेको छ। उक्त प्रमाण डिएनए परीक्षणमा मेल नखाएपछि दिलीपसिंह विष्ट छुटेका हुन्। अहिले छानविन समितिले निलम्बित एसपी डिल्ली विष्ट, उनका छोरा किरण विष्ट र आयुष विष्टको समेत त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा डिएनए परीक्षणका लागि रगत दिएको जनाएको छ। यसको नतिजा केही दिनमा आउनेछ। सिआइबी स्रोतका अनुसार निर्मलाको यौनांगमा भेटिएको शुक्रकिट एक जनाको मात्रै रहेको छ।

नतिजा डिएनए परीक्षण गरेकाहरूको पक्षमा आए अर्थात् निर्दोष देखिए अनुसन्धानको पाटो अझ जटिल बन्दै जाने गृह मन्त्रालयको निष्कर्ष छ। यसका लागि अन्य प्रक्रियाबाट समेत अनुसन्धान थालिसकेको गृह मन्त्रालयको भनाइ छ। निर्मलाको शव भेटिएको ठाउँ नजिकका परिवार र तीन किलोमिटर टाढा रहेको सेनामाथि समेत अनुसन्धान सुरु भइसकेको प्रहरीको भनाइ छ। प्रहरी स्रोतका अनुसार अहिले अनुसन्धान फेरि शून्यबाट सुरु गरिएको छ।

कंचनपुर भीमदत्तनगरपालिका- २ महुलीयाकी निर्मला गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी थिइन्। उनी त्यसको दोस्रो दिन अर्थात् साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.