'म मरे पनि ठाडो भाका नमरोस्'

|

लमजुङ : नागरिक स्तरबाट ठाडो भाका शिरोमणि उपाधि पाएका सर्जक भेडीखर्के साहिँलालाई सम्झने कारण छन्। बाहुनको छोरो भए पनि बुबाको आँखा छलेर बाल्यकालदेखि भागेर मतवाली समाजमा गीत गाउन जाने स्वर्गीय भेडीखर्के साहिँलाको जन्म भदौ २९ मा भएको थियो। उनले जीवनको अन्तिम समयसम्म भनिरहन्थे, ‘म मरे पनि ठाडो भाका नमरोस्।’

देउबहादुर दुरा, पञ्चे सुब्बा गुरुङ करापुमा घम्सान
ह ... व ... पञ्चे सुब्बा गुरुङ करापुमा घम्सान
जे भए पनि लमजुङको संस्कृति ठाडो भाका मेरो
राखिदिनु सम्झना
ह ... व ... भन्छौ र यसै माया जाला ... राखिदिनु सम्झना।

तन बुढो भए पनि ठाडो भाका गाउँदै हिँड्छु घट्या छैन तन्देरी जोश
ह ... व ... घट्या छैन तन्देरी जोश
फलामे ताई श्रीकृष्णजीको सोह्र सय गाई
लाने र ल्याउने हो
ह ... व ... लाने र ल्याउने हो
मादलु तानी, म मरेर गए पनि, ठाडो भाका नमरोस्
हे ... भन्छौ र यसै माया जाला ठाडो भाका नमरोस्।

नागरिक स्तरमा चिनिने नाम- भेडीखर्के। वास्तविक नाम- दीर्घराज अधिकारी। पिता बलभद्र अधिकारी र माता नन्दकुमारी अधिकारीका साहिँला छोरा। सानो छँदा पिताको भेडीखर्कमा हुर्किए। दीर्घराज अधिकारीले ठाडो भाका गीत गाएर हिँड्न थालेपछि श्रोता र दर्शकले भेडीखर्के साहिँला भन्न थाले।

पछिल्लो समय विभिन्न औपचारिक कार्यक्रमहरूमा पनि निमन्त्रणा गरेर भेडीखर्के साहिँला भनेर आसन ग्रहण गराउने परिपाटी बस्यो। त्यसैले दीर्घराज अधिकारी नागरिकतामा सीमित रहनपुग्यो। नागरिक स्तरमा चिनिने नाम भेडीखर्के साहिँला नै प्रचलित बन्यो। जिल्लामा हुने विभिन्न कार्यक्रमहरूमा राजनीतिक नेता आउँदै छ भन्ने थाहा पाएपछि पार्टीका सीमित कार्यकर्ताहरू जम्मा हुन्थे भने भेडीखर्के साहिँला आउँछ भनेपछि नागरिक स्तरका सबै जना ठाडो भाका सुन्ने लालसमा जम्मा भइहाल्थे।

जहिले पनि भेडीखर्केको मास विशाल हुन्थ्यो। त्यतिबेला भेडीखेर्के साहिँलाले भन्ने गर्थे, ‘म मरे पनि ठाडो भाका नमरोस्।’ गीत सुनिसकेपछि भेडीखर्के साहिँलाले यस्तो भन्दा दर्शकदीर्घा भक्कानिन्थे र ठाडो भाकाको भविष्यबारे सोच्न बाध्य हुन्थे। वेस्टकोटमाथि कोट अनि शिरमा ढाका टोपी। चाउरी परेका अनुहार, आँखामा पावरवाला चस्मा। गलेको शरीर भए पनि उत्तिकै जोश जाँगर। अप्ठ्यारो भाका तर खिरिलो स्वर! भेडीखर्के साहिँलाको विशेषता थियो।

सुन्दरबजार नगरपालिका- ११ सिन्दुरे तुर्लुङकोटमा वि.सं. १९९० भदौ २९ गते शुक्रबार जन्मिएका थिए भेडीखर्के साहिँला उर्फ दीर्घराज अधिकारी। ८४ वर्षको उमेरमा २०७४ भदौ २६ गते भेडीखर्के साहिँलाको निधन भएको थियो।

ठाडो भाका गीतमा विभिन्न टुक्का जोडेर गाउने गरिन्छ। अहिले जनमानसमा चर्चित लोक दोहोरी गीतलाई ठाडो भाकाको मूल मानिन्छ। यो लोकगीतभन्दा अलिक फरक भएकाले जोकोही गायकलाई पनि गीतको लय समाउन र टुक्का जोड्न मिहिनेत गर्नै पर्छ। श्रोताबाट उजेलिएका र राज्यबाट ओझेलिएका गायक भेडीखर्के साहिँला ठाडो भाकाका मूल दियो निभेको पनि एक वर्ष भयो। जुनसुकै ठाउँमा हुने साँस्कृतिक कार्यक्रम, औपचारिक तथा अनौपचारिक कार्यक्रममा ठाडो भाकाको गुंजायस हुन्थ्यो। अहिले एक वर्षभन्दा बढीको समयमा सर्जकको अभावले ठाडो भाकाको गु‌ंजिन कम भएको छ। जिउँदो छँदा जनताले उनलाई ठाडो भाका शिरोमणिको उपाधि दिए पनि मुलुक भने चुकेको देखिन्छ। कला क्षेत्रमा काम गर्नेहरूको निजी जीवनका बारेमा राज्य बेखबर जस्तै रहेको कलाकारहरूले गुनासो गर्दै आएका छन्।

बाल्यकाल

दीर्घराज अधिकारी सानोमा आफ्ना बुबासँगै भेडीगोठमा बस्थे। बाल्यकालको भेडीगोठले दीर्घराज अधिकारीलाई ठाडो भाका गायनको क्षेत्रमा नयाँ नाम ‘भेडीखर्के साहिँला’ प्राप्त भयो। सात वर्षको कलिलो उमेरदेखि नाच्न गाउन निकै रुचि भएको भेडीखर्केले बताएका थिए। बुबाआमाको आँखा छलेर गाउँघरको पूजाआजामा नाच्ने गाउने ठाउँमा लुकिछिपी जाने गरेको विभिन्न कार्यक्रमहरूमा भेडीखर्के साहिँलाले बताउँदै आएका थिए। तत्कालीन अवस्थामा बाहुनको छोराले लेखपढ मात्रै गर्नुपर्छ, नाच्न गाउन हुँदैन भन्ने ब्राह्मण परम्परालाई पनि तोडेका थिए उनले। नौ वर्षको उमेरदेखि लमजुङमा प्रचलित झ्याउरे र काठे भाका गाउन सिक्ने क्रममा भेडीखर्केमा गला, कला र शैलीको विकास हुँदै गयो।

युवावस्था र सांगीतिक यात्रा

हरेक वर्ष तुर्लुङकोटमा चैतेदशैँ मेला, करापुटारमा महाशिवरात्री र फागु पूर्णिमाको रमाइलो मेला लाग्ने गर्थ्यो। त्यतिबेला मेलामा देउबहादुर दुरा र पञ्च सुब्बा गुरुङले गाउने भाका ठाडो भाका थियो। त्यही भाकाबाट भेडीखर्के साहिँला प्रभावित भएपछि कालान्तरमा पूर्ण रूपमा गाउन सक्ने भए। त्यही बाल्यकालमा नाच र गानमा चासो राख्ने भए पनि ठाडो भाका सिक्ने क्रममा उनको जीवनको सांगीतिक यात्रा अगाडि बढेको देखिन्छ। प्रचलित भाकामा आफ्नै शैलीबाट माया, प्रेम, धर्मशास्त्र, पौराणिक कथाका शब्दहरू र उखान टुक्काहरू जोडेर गाउन थोपछि छोटो समयमा ठाडो भाका गायकका रूपमा लोकप्रियता बढ्दै गयो र ठाउँठाउँमा उनको माग बढ्न थाल्यो। भेडीखर्के साहिँलाका समकालीन गायन सहयात्रीहरू देवी गुरुङ, धनमाया राना, बन्दीपुरकी उत्तम गुरुङ, भक्तिमाया दुरा, शकुन्तला दुरा, ज्ञानुमाया थापा, गौमाया दुरालगायत थिए।

ठाडोभाका शिरोमणि उपाधि

युवा अवस्थादेखि वृद्धावस्थासम्म भेडीखर्के साहिँला आयोजकले निम्त्याएका कार्यक्रमहरूमा ठाडो भाका गीत गाउँदै हिँडे। माला लगाइदिएर भेडीखर्के साहिँलाको स्वागत हुन्थ्यो। गला र कला भइन्जेलसम्म भेडीखर्के साहिँलाको निकै हाइहाइ हुन्थ्यो। बुढ्यौली लाग्दै गएपछि स्वरले पनि चाहेजस्तो गरी साथ दिन सकेन। तैपनि गीत गाउन भने छोड्दैनथे। उनको गला र कलाको क्षमतालाई मध्यनजर गर्दै एकताका लमजुङमा निकै चर्चामा आएको साहित्यिक संस्था हिमालचुली कला साहित्य प्रतिष्ठानले भेडीखर्के साहिँलालाई निमन्त्रणा गर्‍यो। उमेरले ७४ वर्षको बुढो भए पनि गायनमा युवा जोश थियो उनको। प्रतिभाको धनी हुँदाहुँदै पनि मुलुक, समाज र नागरिक स्तरमा चिनाउनका लागि २०६४ सालमा साधारणसभाबाट पारित गरेर हिमालचुली कला साहित्य प्रतिष्ठानले भेडीखर्के साहिँलालाई ‘ठाडो भाका शिरोमणि’ घोषणा गर्‍यो। त्यसपछि मात्रै हरेक औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूमा ‘ठाडो भाका शिरोमणि भेडीखर्के साहिँला’ भनेर सम्बोधन हुन थाल्यो। ‘भेडीखर्के साहिँला बा मुलुकले पहिचान गरेन, प्रतिभा र क्षमता हुँदाहुँदै पनि कसैले उनलाई चासो राखेन। आदरणीय लोक संस्कृतिकर्मीको रूपमा हामीले सम्मान गरेका हौँ’, प्रतिष्ठानका अध्यक्ष बेनबहालुर सुँयलले भने।

'कहिलेकाहीँ दुःख लाग्थ्यो'

आयोजकले कार्यक्रममा निम्ता गर्थ्यो। भेडीखर्के साहिँलाले गीत गाउँथे। दर्शक र श्रोताको हुटिङले मन फुरुङ्ग हुन्थ्यो उनको। कहिलेकाहीँ आयोजकले खाजा खुवाउँथ्यो। कहिलेकाहीँ निम्त्याएको स्थानमा आउनका लागि बस भाडा हुँदैनथ्यो। कार्यक्रम सकिएपछि वास्ता गर्दैनथे। सहभागीहरूको मागअनुसार आयोजकले कार्यक्रम हुँदा फेरि बोलाउँथे। त्यतिबेला भेडीखर्के साहिँलालाई दुःख लागेर आउँथ्यो। जहाँ स्टमित्र छन्, त्यहीँ बास हुन्थ्यो। ठाडो भाकाबाट लमजुङको कला सँस्कृतिलाई देशविदेशसम्म चिनाउने भेडीखर्के साहिँला सम्मानका भोका थिएनन्। उनलाई ठाडो भाकाको राग र नशा मात्रै थियो। राज्यले अहिलेसम्म चिन्न नसकेकोमा भेडीखर्के साहिँला दुःखी थिएनन् तर आफू मरेपछि ठाडो भाका पनि मर्छ कि भन्नेमा भने उनलाई दुःख लाग्थ्यो।

योगदान

भेडीखर्के साहिँला प्रतिभाशाली स्वरका व्यक्तित्व थिए, जसले ठाडो भाका जस्तो अत्यन्त दुर्लभ र कठिन लोक सँस्कृतिकलाई जगेर्ना र उजागर गर्दै देश र विदेशसम्म फैलाएर महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए। उखान र टुक्कालाई जोडेर ठाडो भाकामा समसामयिक र सामाजिक विकृतिका बारेमा गीत गाएर समाजलाई सही मार्गमा सुसूचित गर्न भेडीखर्केको योगदान महत्त्वपूर्ण छ।

पारिवारिक वातावरण

बाल्यकालमा छोरो नाचगानमा मात्रै हिँड्न थालेपछि पिता बलभद्र अधिकारी बसाइँ सराइ गरेर परिवारका साथ सुन्दर बजार नगरपालिका- ४ परेवाडाँडामा आए। तैपनि छोराको नाचगान गर्ने बानी सुध्रिएन। पढाइ लेखाइमा ध्यान गएन। तन्नेरी छोरा दीर्घराजको गायनमा लत बसेपछि बाबुले पनि पछि कराउन छाडे। परिवार र समाजमा दीर्घराज ‘भेडीखर्के साहिँला’ बने। उनका एक छोरा र तीन छोरीको जन्म भयो। परिवारमा पारिवारिक बेमेल बढ्दै गयो। भेडीखर्केकी श्रीमती थलीमाया अधिकारी जेठी छोरी लीला लौडारी र ज्वाइँ शमशेर लौडारीका साथमा रहिन्। पछि भेडीखर्के पनि छोरी-ज्वाइँको सहारामा आए। छोरी-ज्वाइँको घरमा नै भेडीखर्के साहिँलाले प्राण बिसाए। श्रीमान भेडीखर्के साहिँलाको निधनपछि पनि छोरी-ज्वाइँको सहारामा थलीमाया रहेकी छन्।

भेडीखर्केको नाउँमा खोलिएका प्रतिष्ठानहरू

भेडीखर्केको नाउँमा विभिन्न प्रतिष्ठान नै गठन भए। भेडीखर्के साहिँला जिउँदो छँदा लमजुङमा ‘ठाडो भाका  लोककला प्रतिष्ठान नेपाल’ नामक संस्था खोलिएको थियो। सुरुका वर्षहरूमा यस संस्थाले धेरै कार्यक्रमहरू गरेको देखिन्छ। ठाडो भाका गायनमा रुचि राख्ने प्रतिभाहरूको खोजी गर्न यसले विभिन्न आरोह अवरोह पार गरेको थियो। भाका मर्न नदिनका लागि विभिन्न स्कुलहरूमा साहित्य संगीत क्लवको नामबाट पनि ठाडो भाका, गीत, कविता, चित्रकला, भित्तेपत्रिका लेखनमा उल्लेखनीय भूमिका खेलेको देखिन्छ। तर पछिल्लो समय भेडीखर्के साहिँलाको नाममा अन्य संस्थाहरू खुल्न थालेपछि तुलनात्मक रूपमा क्रियशीलता कम भएको छ। प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले भने, ‘ठाडो भाका जोगाउनका लागि विविध कार्यक्रमहरू गर्दै आएका छौँ। राम्रा गायकहरू जन्माउने हाम्रो अभियान जारी छ।’ उनले यो संस्था देखाउनका लागि मात्र नखोलिएको ठाडो भाका र सँस्कृतिको संरक्षणका लागि संचालन गरिएको बताए।

भेडीखर्केको निधनपछि गत माघ महिनामा अर्को संस्था ‘भेडीखर्के साहिँला स्मृति प्रतिष्ठान’ खुलेको छ। यसले विशेष कोष स्थापना गरी सुन्दर बजारमा भेडीखर्के साहिँलाको शालिक स्थापना गर्ने, ठाडो भाका संरक्षण, नवप्रतिभाको उजागर गर्ने, मौलिक संस्कृतिको संरक्षणका साथै विविध साँस्कृतिक तथा साहित्यिक गतिविधिहरू संचालन गर्ने कार्यक्रमहरू घोषणा गरेको थियो। तर अहिलेसम्म पनि गठित प्रतिष्ठानले उल्लेख्य कार्य गरेको देखिएको छैन। प्रतिष्ठानका अध्यक्ष शमशेर लौडारीले भने, ‘भेडीखर्केको शालिक तयार भएको छ। अनावरण असोज १४ गते वार्षिक तिथिको अवसरमा गर्छौं।’ उनका अनुसार सुन्दर बजार नगरपालिका- ६ स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा भेडीखर्के साहिँलाको शालिक अनावरण हुने भएको छ तर अन्य गतिविधिहरू भने शून्य रहेको देखिएको छ।

यस्तै, सुन्दर बजार नगरपालिका- ९ भोटेओडारको बगैँचामा स्वर्गीय भेडीखर्के साहिँलाको सालिक निर्माणका लागि अर्को संस्थाको रूपमा ‘भेडीखर्के स्मारक स्थल निर्माण समिति’ बनेको छ। यो समितिका अध्यक्ष एवं भेडीखर्केका छोरा गंगाधर अधिकारी हुन्। भेडीखर्के स्मारक स्थल निर्माणका लागि मल्टिमिडिया इन्टरनेशनल प्रालि काठमाडौंको संयोजकत्वमा लमजुङ समाज युके, लमजुङ सेवा समिति हङकङ, लमजुङ अमेरिका सेवा समाज, लमजुङका कलाकारहरू र भेडीखर्के स्मारक स्थल निर्माण समितिको संयुक्त पहलबाट निर्माण गर्न लागिएको मल्टिमिडियाका प्रबन्धक मोहन श्रेष्ठले बताए। उनका अनुसार स्मारक स्थल निर्माणको सुरुवात लागत ३२ लाख ७३ हजार ५४५ रुपैयाँ रहेको छ। स्मारक स्थलमा भेडीखर्केको शालिक निर्माणका लागि खाल्डो खनेर राखेको तीन महिना बढी भइसकेको छ। शालिक राख्ने स्थानमा खाल्डो यथावत छ। खाल्डो कहिले पुरिने हो, थाहा छैन।

यसरी भेडीखर्के साहिँलाको नाममा संस्थाहरू जन्मने क्रम चलेको छ। संस्थाहरूबीच अस्वस्थ्य प्रतिस्पर्धाको कारण पदाधिकारीहरूबीच कहिलेकाहीँ जुहारी पनि चल्ने गरेको छ। जन्मिएका संस्थाहरूले स्वर्गीय भेडीखेर्के साहिँलाको नाम, काम र योगदानलाई उचो राख्दै ठाडो भाकालाई संरक्षण गर्न सके सार्थक होला तर व्यक्तिगत रिसिइवीमा संस्थाहरू जन्माउँदा भने स्वर्गीय भेडीखर्के साहिँलाको योगदानले मूर्त रूप लिन नसक्ने स्थानीय बताउँछन्।

ठाडो भाका गीत गाएर जनमानसलाई मन्त्रमुग्ध बनाउन सक्ने कला र गलाका धनी भेडीखर्के साहिँलाको गत वर्ष ४५औँ पुण्यतिथिका अवसरमा पूर्व प्रहरी संगठन लमजुङको आयोजनामा भोटेओडारमा आयोजित राष्ट्रव्यापी ठाडो भाका प्रतियोगिताले ठाडो भाका गायकहरूलाई केही ऊर्जा मिलेको थियो। प्रतियोगितामा लमजुङ, तनहुँ, गोरखासहित जिल्लाहरूका ठाडो भाका गायकहरूले प्रतिस्पर्धा गरेका थिए। भेडीखर्के साहिँला जिउँदो छँदा सोही स्थानमा अन्तिम गीत गाएको संगठनका अध्यक्ष वीरसिंह घलेले बताए। उनले भने, ‘भेडीखर्केको निधनले ठाडो भाकाको मूल दियो निभे तापनि सर्जकहरूले ठाडो भाकालाई संरक्षण दिनुपर्छ।’

भेडीखर्केको वृत्तचित्र बनाइने आश्वासन

भेडीखर्के साहिँला जिउँदो छँदा ठाडो भाकाको संरक्षणका लागि वृत्तचित्र निर्माण गर्ने जिल्लाका राजनीतिक दलका शीर्ष नेताहरूले भाषण गरेका थिए। त्यस्तै, वृत्तचित्र बनाइने कलाकारहरूले पनि आश्वासन दिएका थिए। तर भेडीखर्केको निधन भएको अहिले एक वर्ष पूरा भइसक्दासम्म यो काम पूरा हुन सकेको छैन। भेडीखर्केको वृत्तचित्र निर्माणका लागि सुन्दर बजार नगरपालिकाले कुनै पनि आश्वासनसम्म दिएको छैन, मौन बस्दै आएको छ। तर शालिक निर्माणका लागि सहयोग गर्ने नगरपालिका प्रमुख जनक मिश्रले बताए। शालिक निर्माणका लागि गायक कृष्ण कणेल, भेडीखर्केका समकालीन गायक देवी गुरुङ, ठाडो भाका गायक बुद्धिमान दुरा ‘धम्पु’सहितका कलाकारहरूले पनि आश्वासन दिँदै आएका छन्।

भेडीखर्केको गीत रेकर्ड

२०३५ सालदेखि भेडीखर्केले रेडियो नेपाल धाएर गीत रेकर्ड गर्न धेरै जमर्को गरे। त्यतिबेला भेडीखर्के साहिँलाले भनेका थिए, ‘आर्थिक र पहुँचको कमी भयो।’ आर्थिक अवस्था र पहुँचको अभावले ठाडो भाका गायनमा निराश हुनुपरेन। दर्शक र श्रोता उनको साथमा थिए। २०५३ सालमा चलचित्र निर्देशक प्रदीप उपाध्याय सुन्दर बजार आएको मौकामा भक्तिमाया दुराको स्वरलाई जोडी बनाएर अल्ट्रासाउन्ड प्रालिद्वारा गीत रेकर्ड गरी ‘मेरो सेरोफेरो’ श्रव्य एल्बम निकाले। मेरो सेरोफेरो एल्बमको रोयल्टी भने भेडीखर्केले पाएनन्। त्यसपछि अलिमिया लोक सँस्कृति प्रतिष्ठान पोखराले २०६० सालमा भेडीखर्के साहिँलाले ज्ञानुमाया थापालाई जोडी बनाएर ठाडो भाकाको सिडी पनि निकाल्यो। त्यही बेला भेडीखर्के साहिँलालाई प्रतिष्ठानले पहिलो पटक सम्मान गरेको थियो।

ठाडो भाकामा भेडीखर्केको योगदान

देउबहादुर दुरा र पञ्च सुब्बा गुरुङले सिर्जना गरेर छाडेर गएको लमजुङको मौलिक सम्पत्तिलाई भेडीखर्के साहिँलाले थामे। भेडीखर्के साहिँला देउबहादुर दुरा र पञ्च सुब्बा गुरुङका सर्जक थिए। यसको संरक्षण गरी विस्तार र उजागर गर्दै जीवनको अन्तिम अवस्थासम्म ठाडो भाका गायन छाडेनन् उनले। भेडीखर्के साहिँलाको सर्जकको रूपमा देउबहादुर दुराका नाति यामबहादुर दुरा पनि सक्रिय छन्। त्यस्तै, बुद्धिमान दुरा (धम्पु), उत्तम गुरुङ, मञ्जु विक, सीता दुरा, अनिता गुरुङ, शंकर परियार, राधिका भन्डारी जस्ता अनगिन्ती कलाकारहरू ठाडो भाका गायनको मैदानमा छन्। 

ठाडो भाका उत्पत्ति

वि.सं. १८७४ सालतिर पर्वत बलेवाका मानवीर खत्री र बाग्लुङ राङ्खानीका गोर्या श्रीसले झ्याउरे सालैजो भाकाको सुरुवात गरेको कालीभक्त पन्तको लेख ‘हाम्रो साँस्कृतिक इतिहास’मा उल्लेख छ। त्यस्तै, वि.सं. १९१४ तिर बौद्धसिंह गुरुङ धौलागिरि क्षेत्रबाट कास्कीको हङ्सपुर बसाइँ सरेर आउने क्रममा भाकालाई आफूसँगै ल्याएका थिए। जनकवि केशरी धर्मराज थापाले लेखेको पुस्तक ‘गण्डकीको सुसेली’का अनुसार पछि यस भाकालाई त्यस ठाउँका मोतीलाल गुरुङ र बखतबहादुर गुरुङले केही परिमार्जित गरेर विस्तार गरेर लमजुङको करापुटारमा ल्याएको भन्ने जनस्तरमा भनाइहरू रहेका छन्। तर करापुटारका स्थानीय शिक्षक युवराज घिमिरेले ठाडो भाकाको उद्गमस्थल करापुटार भएको बताए। ‘लमजुङका पञ्च सुब्बा गुरुङ र देउबहादुर दुराले गाउने गीत ठाडो भाका हो’, उनले भने, ‘विवाद ल्याउनका लागि विभिन्न व्यक्तिहरूले किंवदन्ती र अनर्गल तर्क गरे पनि हाम्रा पुर्खाले भनेको तथ्य हामीले पत्याउनुपर्छ।’ उनका अनुसार करापुराट मेलामा महाशिवरात्रिका दिन ईशानेश्वर महादेव मन्दिर परिसरमा रातभर ठाडो भाका गायन हुन्थ्यो, अहिले पनि हुन्छ। स्थानीय युवराज घिमिरे ठाडो भाका लोककला प्रतिष्ठान नेपालका उपाध्यक्षसमेत हुन्। पछिल्लो समय ठाडो भाकालाई लमजुङे भाका र दुरा भाका पनि भन्ने गरिन्छ।

को हुन् पञ्च सुब्बा र देउबहादुर? 

पञ्च सुब्बा गुरुङ पहिलेको लमजुङको मिजुरेमा जन्मिएका थिए। लमजुङमा रहेको मिजुरे हाल मादी गाउँपालिका- १ कास्कीमा पर्छ। मिजुरेलाई नयाँ कास्की पनि भनिन्छ। वि.सं. १९४७ मा पिता वृषलाल गुरुङ र माता पूर्णकुमारी गुरुङबाट पञ्च सुब्बा गुरुङको जन्म भएको थियो। बाल्यकालदेखि नै गुरुङ समाजको परम्पराअनुसार नाच्ने गाउने रीतिरिवाजमा हुर्केका पञ्च सुब्बाले सात वर्षको उमेरदेखि नाचगान गर्थे। उखान टुक्काहरू जोडेर गीत गाउने पञ्च सुब्बाको करापुटारको मेलामा ठाडो भाकामा घम्साघम्सी पर्थ्यो। २०३३ सालमा ८६ वर्षको उमेरमा पञ्च सुब्बा गुरुङको मृत्यु भएको थियो। करापुटारमा ठाडो भाका गाउने क्रममा पञ्च सुब्बा गुरुङको देउबहादुर दुरासँग भेट भएको थियो। 

देउबहादुर दुराको जन्म वि.सं. १९५१ मा मध्यनेपाल नगरपालिका- १० हाडेखोला वरधान भन्ने ठाउँमा भएको थियो। हाल देउबहादुर दुराको घरलाई दुरा संग्रहालयको रूपमा स्थापित गर्ने र शालिक राख्ने योजना बनाएको स्थानीय शिक्षिका कमला दुराले बताइन्। उनका अनुसार देउबहादुर दुराको छोरा मोतीलाल दुरा र बुहारी चिनीमाया दुरा अझै पनि छन्। स्थानीयका अनुसार बाल्यकालदेखि नाचगान गर्ने स्वभाव भएका देउबहादुर नेपाली सेनामा रहँदा राजा पृथ्वी वीरविक्रमले त्रिभुवन जन्मिँदा उनलाई बोलाएर नाचगान गर्न लगाएका थिए। दुरा भाषा, गुरुङ भाषा र खस भाषा सबै बोल्ने देउबहादुरले स्थानीयस्तरमा चलेका भाकाहरूलाई सम्मिश्रण गरी ठाडो भाका सिर्जना गरेका थिए।

पञ्च सुब्बा गुरुङ र देउबहादुर दुरा करापुटारमा भेट भएपछि ठाडो भाका दोहोरीमा दुवै जना पुरुष प्रतिस्पर्धा गर्नुभन्दा पनि गायनमा महिलाहरू नपाउने भएकाले आपसमा केटा र केटीको जोडी बनेर मेला र महोत्सवहरूमा दोहोरी गाउन थाले। पछि देउबहादुर दुराले मध्यनेपाल नगरपालिका- १० थानसिङ नेटाकी मैरानी दुरा, भक्तिमाया दुरालगायतलाई ठाडो भाका सिकाएका थिए। उनीहरूको गायन क्षेत्र लमजुङ, तनहुँ, कास्की र गोरखा थियो। वि.सं. १९९१ मा ४० वर्षको अल्पायुमा देउबहादुर दुराको निधन भएको थियो।

प्रतिभावान् व्यक्तित्वको जिल्ला लमजुङ

जिल्ला र राष्ट्रियस्तरदेखि अन्तर्राष्ट्रियस्तरसम्म नेपालको छवि फैलाउने प्रतिभावान् व्यक्तित्वको जन्म दिने जिल्लामध्ये लमजुङ महत्त्वपूर्ण जिल्ला हो। नेपालमा ठाडो भाकाको उद्गमस्थल लमजुङ भएकाले पञ्च सुब्बा गुरुङ, देउबहादुर दुरासहित ठाडो भाका शिरोमणि भेडीखर्केको नाम नेपालमा चर्चित रहेको छ। यही लमजुङ जिल्लामा वीर शहीद भक्ति थापाको मर्स्याङ्दी गाउँपालिका- ३ मा जन्म भएको थियो। सोही गाउँपालिका- ८ मा भूगोलविद् डा. हर्क गुरुङको जन्म भएको थियो। त्यस्तै, सोही गाउँपालिका- ६ मा राष्ट्रकवि माधवप्रसाद घिमिरे जन्मिएका थिए, जसलाई अहिले जिल्लाले शताब्दी पुरुष घोषणा गर्दै जन्मोत्सव मनाउँदै छ।

त्यस्तै, अस्ट्रेलियामा बसोबास गर्दै आएका धनी व्यक्तिको सूचीमा रहेर लमजुङलाई चिनाउने शेष घले क्वहोलासोथर गाउँपालिका- १ घनपोखराका बासिन्दा हुन्। खेलको क्षेत्रमा राष्ट्रिय भलिबल टिमका चर्चित खेलाडी दीपक थापा बेसीशहर नगरपालिका- २ भुकण्डेका बासिन्दा हुन्। राइनास नगरपालिका- ६ धमिलीकुवा निवासी रेस्लिङ खेलमा हिमालयन टाइगर नामले नेपालको प्रतिनिधित्व गर्ने खेलाडी भरतबहादुर बिसुरालसहित राष्ट्रिय कलाकारहरू बीमाकुमारी दुरा, राजु परियारलगायत कलाकारहरूले लमजुङको गौरव धान्नमा प्रतिनिधित्व गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.