|

तनहुँ : प्रविधिको विकास क्रमलाई पछ्याउँदै पछिल्लो समय नेपाल सरकारले स्मार्ट लाइसेन्स प्रयोगमा ल्याएको छ। विगत दुई वर्षदेखि पुरानो लाइसेन्स खारेज गर्दै स्मार्ट कार्ड प्रयोगमा ल्याएको हो।

प्रविधिको विकास र सवारी चालक अनुमति पत्र टिकाउपन बनाउन सरकोले  स्मार्ट लाइसेन्सको नीति ल्याएको छ। जति किफायती हुने सोचले राज्यले नयाँ प्रविधि थप्यो त्यसको परिवर्तन हुनु स्वाभाविक हो। तर स्मार्ट लाइसेन्समा पनि नक्कली भेटिन थालेको छ। स्मार्ट लाइसेन्स नक्कली भेटिन थालेपछि ट्राफिक प्रहरी कार्यालय तनहुँले चेकजाँचमा कडाई गरेको छ। पृथ्वी राजमार्गको मुग्लिन-कोत्रे सडक खण्डमा प्रहरीले दिनहुँ चेकिङ गर्न थालेको छ। ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी नायव निरीक्षक कृष्ण बहादुर क्षेत्रीले चालकहरुले नक्कली स्मार्ट कार्ड लिएर सवारी चलाउने गरेको जानकारी दिए। 

‘स्मार्ट कार्ड पनि नक्कली किनबेच हुने सूचना सुन्नमा आयो। त्यसैले हामीले राजमार्गमा सवारी साधनको चेकजाँच कडाइ गरेका छौँ’ उनले भने,‘चेकजाँचलाई कडाई गर्नासाथ नभन्दै नक्कली स्मार्ट कार्ड फेला पार्‍याै। नक्कली स्मार्ट फेला पारेका चालकको मुद्दा चलिरहेको छ।’ सर्वसाधारणले लाइसेन्स निकाल्न धेरै समय लाग्नुका साथै झन्झटिलो हुने हुँदा विचौलीयामार्फत् उनीहरूले नक्कली लाइसेन्स लिने गरेको प्रहरीको अनुमान छ।

यातायात व्यवस्था विभागका प्रवक्ता तथा सुचना अधिकारी तुलसीराम अर्यालले चालकले नक्कली स्मार्ट कार्ड लिएको भेटिएमा कारवाही गरिने बताए। ‘त्यस्ता चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही हुन्छ,’ उनले भने। प्रहरीले २०७५ असार ९ गते राती सवारी चेकजाँचका क्रममा भोर्लेटार चोकमा ना २ ख ८४६० नम्बरको ट्रकका चालक किशोर लामाले नक्कली स्मार्ट कार्ड प्रयोग गरिरहेको भेटिएको प्रहरी नायव निरीक्षक क्षेत्रीले बताए। नक्कली स्मार्ट कार्ड भेटिएपछि खैरेनी नगरपालिका-४ पर्साका लामालाई असार १० गते तनहुँ प्रहरीले मुद्धा दर्ता गरेको उनले जनाए।

‘किशोर लामाको लाइसेन्स नम्बर ०३–०५–००००२३९० भएको पाइएको छ,’ क्षेत्रीले भने, ‘बीरगंजको स्मार्ट कार्डको नम्बर ०१–०५–०००००००१ हुनुपर्ने हो। तर नेपाल अधिराज्यभर कहीँबाट जारी नभएको सम्बन्धित यातायात कार्यालयबाट जानकारी हुन आएको हुँदा उक्त स्मार्ट कार्ड नक्कली भएको पुष्टि भएको हो।’त्यस्तै करिव दुई महिना अगाडि बेलचौतारामा प्रहरीले चेकजाँच गर्दा बिलबुक लगायतका कागजपत्र नलिकन आएका मोटरसाइकल चालक चन्द्रबहादुर राईले स्मार्ट कार्ड छाडेर भोलि आउँछु भनेर गएको भए पनि लामो समयसम्म सम्पर्कमा नआएको र उसको स्मार्ट कार्डका बारेमा अनुसन्धान गर्दा नक्कली भेटिएको क्षत्रीले बताए।

५० हजारमा कारोबार

नक्कली स्मार्ट लाइसेन्सको कारोबार ५० हजार रुपैयाँसम्म खरिद बिक्री हुने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। मुद्दा चलाइएका सवारी चालकले ४७ हजारमा स्मार्ट कार्ड खरिद गरेको प्रहरीको भनाई छ। ट्राफिक प्रहरीको चेकजाँचको क्रममा उक्त स्मार्ट कार्ड नक्कली भएको ठहर्‍याई कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय तनहुँमा बुझाइसकेको र सरकारी छाप किर्ते मुद्दा दर्ता गरेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ। मुद्दाको कार्य क्षेत्र तनहुँ नपर्ने हुँदा चितवन पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

कसरी थाहा पाइने नक्कली र सक्कली 

स्मार्ट लाइसेन्स नक्कली र सक्कली छुट्ट्याउन सर्वसाधारणलाई कठिन हुने प्रहरीको भनाई छ। प्रहरीले कोडको आधारमा नक्कली र सक्कली छुट्याउने गरेको बताइएको छ। प्रहरीले नक्कली स्मार्ट कार्डको लाइसेन्स नम्बर, स्मार्टमा राखिएको चिप्स, पासपोर्टबाट स्क्यान गरिएको फोटो तथा दस्तखत गर्दा कोष्ठभित्र नपरिकन बाहिर समेत हुने गरेकाले पत्ता लगाउन सकिने ट्राफिक प्रमुख क्षेत्रीको बताए।

पृथ्वी राजमार्गमा दिनहुँ हजारौं सवारी साधन आवतजावत गर्ने भए पनि प्रहरीले अक्कल झुक्कल चेकिङ गर्ने गरेको थियो। तर पछिल्लो समय भने नक्कली लाइसेन्सको बिगबिगी बढेपछि दिनहुँ चेकजाँच गर्न सुरु गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.