|

काठमाडौं : नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशनको मिति कार्तिक १६, १७ र १८ गतेका लागि तय भएको छ। आन्तरिक कलहले दुई वर्ष कामै नगरी बितेको थियो। 

गत भदौ २ गते समय सकिएपछि महाधिवेशनका लागि भन्दै विधानअनुसार तीन महिनाको समय थप गरिएको थियो। उक्त समयमा महाधिवेशन सक्ने गरी तीन समूहका नेता बसेर आन्तरिक सहमति गरेका थिए। 

पार्टी सभापति शेरबहादुर देउवा समूह, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र नेता कृष्णप्रसाद सिटौला समूहका नेताहरूले आन्तरिक सहमति गरेर महाधिवेशन गर्ने निर्णय गरेका थिए। यसअघि विधानमा भएको ३२ वर्षे उमेर हद खुलाएर महाधिवेशन गर्ने सहमति गरेका थिए तर उनीहरूको उक्त निर्णयप्रति पार्टी नेता नै असन्तुष्ट भएपछि अहिले फेरि विवाद सुरु भएको छ।

उक्त निर्णय गर्दै नेविसंघका पदाधिकारीहरू पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न गएका थिए। उक्त भेटमा सभापतिले उक्त निर्णयप्रति असन्तुष्टि जनाएको नेविसंघका एक पदाधिकारीले जानकारी दिए।

‘पार्टी सभापति उमेर हद लगाउने पक्षमा हुनुहुन्छ’, उनले भने, ‘सभापतिले भेटका क्रममा म पनि नेविसंघको पूर्वअध्यक्ष हो। तपाईंहरू पनि पूर्व हुन तयार हुनुहोस् भन्नुभयो। यसको अर्थ उहाँ उमेर हद लगाउने पक्षमै हुनुहुन्छ।’ विशेष गरेर पार्टी पदाधिकारीहरू उमेर हद कायम गर्ने योजनामा छन्। पार्टी वरिष्ठ नेता पौडेल र सिटौला समूहका विद्यार्थी नेता भने उमेर हदको विपक्षमा छन्। 

यस्तै, नेविसंघले उमेर हद हटाउनलेलगायत विभिन्न निर्णय गर्दै पार्टी केन्द्रीय समितिलाई निर्णय बुझाएको थियो। तर पार्टीको केन्द्रीय समिति नै अहिले अन्योलमा छ। नेविसंघले गरेको निर्णयअनुसार यही असोज ७ बाट अधिवेशनका कार्यक्रमहरू सुरु हुन्छन् तर करिब एक साताअघि नेविसंघले बुझाएको संशोधित विधान अहिलेसम्म पनि पार्टीले अनुमोदन गरेको छैन। पार्टीको आन्तरिक कलहले केन्द्रीय समितिको बैठकसमेत अनिश्चित बनेको छ। 

‘पार्टीभित्रको गुटको जुँगाको लडाइँले नेविसंघको महाधिवेशनमा असर नगरोस्’, केन्द्रीय सदस्य सुशील भट्ट भन्छन्, ‘हामी समयमा महाधिवेशन चाहन्छौँ।’
नेविसंघको विधान अनुमोदन नगरी संयन्त्र समितिका संयोजक पार्टी सहमहान्त्री डा. प्रकाशशरण महत भने विदेश भ्रमणमा गएका छन्। नेविसंघको अधिवेशनको कार्यक्रम सुरु हुनु एक साता पनि बाँकी नरहँदै उनी भने नेविसंघको विवाद नमिलाई विदेश भ्रमणमा गएका हुन्। 

तर नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले भने आफूहरूले पठाएको विधान पार्टीले अनुमोदन गरेको दाबी गरे। उनले भने, ‘पार्टीले पठाएको पत्रमा साविकको विधानअनुसार अधिवेशनका कार्यक्रम सुरु गर्नु भन्ने छ। यसको अर्थ हामीले बुझाएको विधानअनुसार हो। पार्टीले विधान पास गरिसक्यो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.