|

काठमाडौं : खानेपानीमन्त्री बिना मगरले खानेपानी मन्त्रालय र मातहतका निकायका कर्मचारीहरूलाई अनावश्यक विदेश भ्रमण जानमा रोक लगाएकी छन्।

खानेपानी मन्त्रालय सिंहदरबारमा मंगलबार आकस्मिक बैठक बोलाएर मन्त्री मगरले कर्मचारीहरूको अनावश्यक विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेकी हुन्। उनले मन्त्रालयका सचिव, सहसचिव र मन्त्रालय मातहतका विभिन्न निकायका विभागीय प्रमुखहरूलाई मन्त्रालयमा बोलाएर विदेश भ्रमण रोक्न निर्देशन दिएकी हुन्।

अहिले काम गर्नुपर्ने बेला आएकाले भ्रमण रोक्नु अति आवश्यक रहेको भन्दै मन्त्री मगरले उक्त कदम चालेकी हुन्। उनले कर्मचारीहरूलाई कडा निर्देशन दिँदै भनिन्, ‘अहिले काम गर्ने बेला हो। जनताले सरकारसँग राखेको अपेक्षा पुरा गर्नुपर्ने समय हो। यो समयमा अति आवश्यक भए मात्र भ्रमणमा जाने हो। नत्र भ्रमणमा नजानुहोला। मन्त्रालयसँग जोडिएर आएका कतिपय नकारात्मक समाचारहरूले हामीलाई राम्रो गर्दैन।’

उनले बैठकमा भनिन्, ‘म आफैँ पनि भ्रमणको आवश्यकता हेरेर मात्र जान्छु नत्र जाँदिन। तपाईंहरू पनि नजानु होला। अति आवश्यक भए मात्र भ्रमण स्वीकृत हुन्छ, नत्र हुँदैन।’

निर्देशनअनुसार काम गर्न उनले मातहतका अधिकारीहरूलाई निर्देशन दिएकी छन्।  

मुलुकभरको ढलको अनुगमन गरिने

यसैगरी, खानेपानी मन्त्रालयले मुलुकभरीका ढलको अनुगमन गर्ने भएको छ। मन्त्रालयको मंगलबारको बैठकमा मन्त्री बिना मगरले मुलुकभर ढलको समस्या बढ्दै गएको भन्दै व्यवसायिक अपार्टमेन्ट, उद्योग, संयुक्त आवास र अस्पताल लगायत विभिन्न क्षेत्रका ढलहरूको अनुगमन गर्ने बताइन्। प्रारम्भिक प्रशोधन गरेर मात्र ढल फाल्नुपर्ने नीतिगत व्यवस्था गर्न लागिएको उनले जानकारी दिइन्।

मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका अस्पताल, उद्योग, अपार्टमेन्ट र संयुक्त आवासको ढल अनुगमन गर्न विशेष कार्यदल समेत गठन गरेको छ। खानेपानी तथा ढल निकास विभागकी उपमहानिर्देशक मीना श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय काठमाडौं उपत्यका ढल अनुगमन तथा निरीक्षण व्यवस्थापन कार्यदल गठन गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.