|

जनकपुरधाम :  ३० वर्षअघि ऋण लिएको २०० रुपैयाँ तिर्न नसक्दा जेल चलान भएका धनुषा जनकपुरधाम उप–महानगरपालिकाका–१८ कुवारामपुरका ६० वर्षीय राधाकृष्ण खत्वेलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ।

जेल चलान गरिएको दुई दिन नबित्दै राधाकृष्णलाई थुनामुक्त गर्न प्रदेश २ को मुख्य न्यायाधिवक्ताको कार्यालयले सोमबार उच्च अदालत जनकपुरमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेको हो। मुख्य न्यायाधिवक्ताको कार्यालयले दायर गरेको रिटमा जिल्ला अदालत धनुषाले राधाकृष्ण खत्वेलाई गैरकानुनी तरिकाले एक वर्ष कारागारमा राख्ने सजाय सुनाएको दाबी गरिएको छ।

निवेदनमा राधाकृष्ण तथा बिक्रु भन्ने विक्रम यादवबीचको लेनदेन मुद्दासँग सम्बन्धित सबै कागजात तथा मिसिल झिकाउन अनुरोध गरिएको छ। मुख्य न्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको बन्दीप्रत्यक्षीकरण निवेदनमा ‘२०० रुपैयाँका लागि एक वर्ष जेल चलान हुनु चिन्ताजनक' भनेको छ। 

यस्तो थियो घटना 

जनकपुरधाम उप–महानगरपालिका व१२ बस्ने ६० वर्षीय राधाकृष्ण खत्वे (खंग) २०४६ श्रावण १५ गते घर खर्चका लागि राधाकृष्ण खत्वेले गाउँकै बिक्रु भन्ने विक्रम यादवसँग एक हजार ऋण लिएका थिए।

गाउँघरको चलनअनुसार साहु यादवले उनीसँग मूलधनको एक हजारको तीन गुणा तीन हजारको कपाली तमसुक बनाए। तमसुकअनुसार मासिक ३०० का दरमा राधाकृष्णलाई ब्याज तिर्नु पर्ने थियो। ऋण लिएको ९ महिनापछि २०४७ साल जेठ ९ गते उनले ८०० रुपैयाँ बिक्रुलाई फर्काए। बाँकी रहेको २०० मूलधन तथा २७० रुपैयाँ ब्याजको गरी  ४७० रुपैयाँको सावा र ब्याज गरी २०४९ साल भदौ १५ गते २९ हजार मूलधन राखी अर्को कपाली तमसुक बनाए।

सोही क्रममा बिक्रुले जिल्ला अदालत धनुषामा उनीविरुद्ध मुद्दा दर्ता गराए। मुद्दा परे पनि स्थानीयले ७६ हजार रुपैयाँ तिरेर मिलापत्र गर्न आग्रह गर्दा आफू तयार भए पनि साहुले नमानेको राधाकृष्णको भनाइ छ। सोही मुद्दाको सुनुवाइको क्रममा २०६३ साल पुस ९ गते जिल्ला अदालत धनुषाले उक्त रकमको साँवा ब्याज गरी एक लाख ६५ हजार बिगो भराउने फैसला सुनायो। हाल उनले तीन लाख भन्दा अधिक भुक्तान गर्नुपर्ने भएको देखाइएको छ।

जिल्ला अदालत धनुषाले २०६४ माघ २७ गते राधाकृष्ण्लाई एक वर्ष जेल सजाय सुनायो। झन्डै १० वर्षसम्म फैसला कार्यान्वयन नभएको भन्दै प्रहरीको खोजी गरेपछि राधाकृष्णले आइतबार आत्मसर्पण गरे।

पछि गाउँका व्यक्तिहरुको सुझावमा पुनरावेदन गरे पनि जिल्ला अदालतकै फैसला पुनरावेदनले समेत सदर गर्‍यो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.