|

सल्यान : आमाबुबा गुमाएर बेसहारा बनेकी सल्यान बागचौर नगरपालिका–४ सेतोगुराँसकी ८ वर्षिया सुनिता बिकलाई सुर्खेत कोपिला भ्याली स्कुलमा पठाइएको छ। २०६४ सालमा स्थापना भएको कोपिला भ्याली सेवा समाज सुर्खेतद्धारा सञ्चालित कोपिला भ्याली स्कुलमा पठाइएको हो। उनलाई कोपिला भ्याली स्कुलमा खाने, बस्ने, पढ्ने सबै नि:शुल्क रूपमा व्‍यवस्था गरिएको छ। उनलाई १२ कक्षासम्म नि:शुल्क पढ्ने व्यवस्था गरिएको छ।

१८ वर्षको उमेरसम्म उनलाई सबै कुरा नि:शुल्क गरेर राखिने समाजका अध्यक्ष टोपबहादुर मल्लले बताए। अशाय, आमाबुबा गुमाएका टुहुरा बालबालिकाहरुलाई निःशुल्क रूपमा पढाउनका लागि कोपिला भ्याली सेवा समाज खोलिएको बताउँदै उनले अहिले ४ सय बढी बालबालिकाहरूले पढिरहेको बताए।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, जिल्ला बाल कल्याण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, बागचौर नगरपालिका ४ का वडाअध्यक्ष प्रेम बहादुर पुन, सुनिताका मामा कृष्णबहादुर बिक, पत्रकारलगायत सरोकारवालाहरुको रोहबरमा उनलाई सुर्खेत पठाइएको हो।

सल्यानमा भएको अकल्पनीय घटनामा परेर आमाबुबासँगै दुई बहिनी र एक भाई गुमाएकी सुनिताको हरेक क्षेत्रको विकासको लागी कन्जुसाई नगर्न  कर्णाली प्रदेशका आर्थिक मामिला तथा अर्थमन्त्री प्रकाश ज्वालालले आग्रह गरे।

उनले जिल्लामा घटेका घटनाले आफूलाई दुखित बनाएको बताउँदै  परिवारका ५ जना गुमाएर बाँच्न सफल भएकी सुनिता सँगै उनकी २ दिदिहरुको लागी सहयोग गर्न सबैलाई आग्रह गरे। उनले आफ्नो एक महिनाको आधा तलबपीडित परिवारका लागि उपलब्ध गराउने बताउनुका साथै सहयोग गर्न विभिन्न निकायहरुलाई अपिल गरे।

गत भदौ १२ गते राति बागचौर नगरपालिका-४ सेतोगुराँस स्थित आफ्नै घरमा सुतेका ५ जनाको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा मृत्यु भएको थियो। मृत्यु हुनेमा सुनिताका बुबा ४० वर्षीय बुबा रामसिंह कामी, आमा ३५ वर्षीया आमा रामकला कामी बहिनी ७ वर्षीय गंगा बिक, ६ वर्षीय प्रमिला बिक र भाइ ४ वर्षीय रूपलाल बिक थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.