|

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो सङ्ख्याका जनतालाई गरीबीमा राखेर केहीको मात्रै समृद्धिले सुरक्षा, दिगोपना र हिंसारहित समाजको कल्पना गर्न नसकिने बताएका छन्।

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा चीनको च्याङ्सु प्रान्तको नानजिङमा आयोजना गरिएको ‘विश्वको दिगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविष्य निर्माण गर्न मिलेर काम गरौँ’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन र गरीबीको चुनौतीलाई सम्बोधन नगरेसम्म दिगो शान्ति र वास्तविक सुरक्षा सपनामै सीमित रहने उल्लेख गरे।

उनले भने, “मानव सुरक्षालाई जलवायु परिवर्तनले वास्तवमै चुनौती खडा गरिदिएको छ । विश्व वाष्फीकरण, मरुभूमीकरण तथा पानीको अभाव र अन्य रुपमा देखिएका जलवायु परिवर्तनका असरका कारणले विभिन्न क्षेत्रमा द्वन्द्व देखिन थालेका छन् ।” 

शान्ति र सुरक्षाका लागि सम्मानित जीवनको प्रत्याभूति एउटा पूर्वशर्त भएको बताउँदै अध्यक्ष दाहालले त्यसको आधार समावेशी, समानता र दिगो विकास भएको उल्लेख गरे। उनले भने, “देश र जनताका बीचको तीब्र विभाजन र असमानता पनि आजको वास्तविकता हो । हाम्रो समयको गरीबी एउटा अत्यन्तै डरलाग्दो चुनौती हो ।” 

लाखौँ मानिस अहिले पनि गरीबीको रेखामुनि रहन बाध्य भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसबीचमा लाखौँ मानिस केही दशकयता गरीबीको रेखाबाट बाहिर आए पनि धनी र गरीबबीचको खाडल फराकिलो बन्दै जाँदा अशान्तिको खतरा बढेको बताए।

विश्व शान्ति र सुरक्षाका लागि मिलेर विकास गर्ने र समृद्ध हुने महत्वलाई अन्तर्राष्ट्रिय समुदायले व्यापकरुपमा आत्मसाथ गर्नु एउटा खुसीको विषय भएको उल्लेख गर्दै उनले भने, “यसलाई व्यापक रुपमा स्वीकारिएको छ, कि शान्तिबिना विकास हुँदैन र विकास बिना शान्ति हुँदैन । हामी भन्न सक्छौ कि तुलनात्मक रुपमा हामी विश्वको शान्तिपूर्ण अवधिमा छौँ ।” 

दिगो शान्ति र सुरक्षा तथा सुव्यवस्था प्राप्तिका लागि मुलुक मनैदेखि मिलेर लागिरहे पनि केही मुद्दाहरु सामूहिक प्रयासबाट पनि समाधान हुन बाँकी रहेको उनको भनाइ छ।

विश्वव्यापीकरण र तीव्र विकास, सूचना तथा सञ्चार प्रविधिले विश्वलाई एउटा एउटै गाउँमा रुपान्तरण गरिदिएको स्मरण गर्दै अध्यक्ष दाहालले भौतिक वातावरण र प्रविधि, संस्कृति र मान्यताका साथसाथै हाम्रा आशा र चाहनामा पनि हामी एक अर्कामा निर्भर छौँ भने।

“विश्वव्यापीकरणले ल्याएका चुनौतीको पनि सँगै सामना गरिरहेका छौँ । हामीसँग आशावादी हुने कारण छन् । एउटा देशमा भएको प्रविधिको विकास र अन्वेषणले विश्वभरिका मानिसको जीवनलाई सहज बनाइदिएको छ”–अध्यक्ष दाहालले भने, “विश्वको एउटा भागमा भएको तीव्र र दिगो आर्थिक विकासले बाँकी विश्वका लागि समृद्धिको आशा जगाएको छ ।” 

विश्वको एउटा भागको शान्ति र स्थिरताले विश्वको अर्को भागलाई त्यही दिशामा धकेल्न प्रोत्साहित गरेको उल्लेख गर्दै उनले  न्यूयोर्क वा साङ्घाईको शेयरबजारमा हुने उतारचढावले विश्व अर्थतन्त्रलाई तरङ्गित बनाउने बताए।

“न्युयोर्क, पेरिस वा काबुलमा हुने आतङ्कवादी आक्रमणले जहाँ सुकैका जनतालाई पनि शान्त र सुरक्षित महसुस गराउँदैन”–अध्यक्ष दाहालले भने , “इबोला भाइरसलाई एउटा देशबाट अर्को देशमा प्रवेश गर्न राजनीतिक सीमा र बलियो अध्यागमन नीतिले रोक्न सक्दैन । विकसित मुलुकका उद्योगहरुद्वारा उत्सर्जित विषालु ग्यासले त्यस्तो ग्यास उत्सर्जन नगर्ने मुलुकको जलवायुमा खराब असर पारेको हुन्छ ।” आतंकवाद, क्रुर हिंसा र अन्तरदेशीय अपराधको संयन्त्र तीब्ररुपमा फैलिइरहेकामा उनले चिन्ता व्यक्त गरे।

जनता र देशलाई जोड्न चीनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै अध्यक्ष दाहालले सबैलाई हित हुने गरी बजारलाई एकीकृत गर्ने र क्षेत्रीय आर्थिक सहयोग अभिवृद्धि गर्ने ‘वेल्ट एण्ड रोड इनिसियटिभ’को कार्ययोजनाले अन्तर्राष्ट्रिय समुदायबाट व्यापक सहयोग प्राप्त गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.