|

पाल्पा : तानसेनको टुँडिखेल, जहाँ भुइँमा लडेको अवस्थामा शव, वरिपरि मानिसहरूको भिड, शव हेरिरहेका मानिसको गहभरी आँसु। कतिपय त को मान्छे मर्‍यो होला भनेर हतारहतार दौडिँदै आएको दृश्‍य पनि। यहाँ मानिस नभएर एउटा पशु मरेको थियो। जुन नेपालको राष्ट्रिय जनावरको रूपमा लिइने गाई थियो।

विगत पन्ध्र दिन पहिले ट्याक्टरको ठक्करबाट गाई घाइते भएको थियो। स्थानीय, तानसेन नगरपालिका र केहि व्यक्तिहरूको सहयोगमा टुडिखेलमा राखेर घाइते गाईको उपचार भइरहेको थियो। गम्भीर अवस्थामा रहेको गाईको मंगलबार बिहान मृत्यु भयो। मृत्युपश्चात् गाईको पनि मान्छेको जस्तै दाहसंस्कार गरिएको छ। विश्व हिन्दु महासंघ पाल्पाको नेतृत्वमा मृतक गाईको हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको हो।

मृतक गाईलाई नुहाइदिनुका साथै फूलमाला लगाएर श्रद्धाञ्जली अर्पण गरिएको थियो। उपस्थित सबै मानिसले पुष्पगुच्छा चढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए। यस्तै हरेराम लेखिएका पहेँलो बस्त्रले ढाकिएको थियो।

गाईको महत्वको बारेमा सन्देश दिनको लागि विधिवत् रुपमा मृतक गाईको दाहसंस्कार गरिएको विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य शंकर गिरीले बताए। उनले भने 'हिन्दु धर्म मान्नेहरूका लागि महत्वपूर्ण मानिने र बहुगुणी रहेको गाईलाई पछिल्लो समयमा स्याहार गर्न छोडेको भन्दै गाईको महत्वबारे जानकारी दिनको लागि हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको हो।'

विश्व हिन्दु महासंघ पाल्पाका वरिष्ठ उपाध्यक्ष होमनाथ न्यौपानले अन्य जनावरको तुलनामा गाईका फरक महत्व रहेको बताए। उनले भने 'संसारमा गाई, गंगा, तुलसी र शालिग्राम गरी चार कुराको महत्व छ। लक्ष्मी माताको रूपमा लिइने गाईको शरिरमा सम्पूर्ण तेत्तिसकोटे देवता रहेको विश्वास गरिन्छ।'

गाईलाई पृथ्वीको रूप मानेर संसारमा सृष्टि गरेर जनतालाई पालनपोषण गर्नको निम्ति गाईबाट गोबर दूधलगायत मान्छेले उपभोग गर्ने अधिकांश वस्तुहरू गाईबाट दोहन गरेको पण्डितसमेत रहेका न्यौपानेले बताए। उनका अनुसार आदिम कालको सृष्टिमा गाईलाई लक्ष्मीको रूप मानेर पूजा गर्न थालिएको थियो। अहिलेपनि पूजा गर्ने चलन छ उनले थपे गाईको गोबर, मुत्र, दूध मानिसको जन्म तथा मृत्यु सबै संस्कारमा आध्यात्मिक हिसाबले प्रयोग गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.