|

काठमाडौं : सिक्स प्याक शरीरसहित एक्सन हिरोका रूपमा फिल्म क्षेत्रमा डेब्यु गरेका नायक हुन्, आर्यन अधिकारी। फिल्म ‘के म तिम्रो होइन र’बाट रजतपटमा भित्रिएका उनलाई सम्भावना बोकेका नायकका रूपमा हेर्ने गरिन्छ। आर्यन अभिनित पहिलो फिल्म सफल भयो। उनको कामको पनि प्रशंसा नै भएको थियो। उनी अभिनित दोस्रो फिल्म 'बटरफ्लाई' भने फ्लप फिल्मको सूचीमा छ।

अहिले नायक आर्यन आफ्नो तेस्रो फिल्म 'बाँध मायाले'को प्रचार प्रसारमा व्यस्त छन्। असोज ५ गते अर्थात यही शुक्रबारबाट रिलिज हुने फिल्म 'बाँध मायाले'को प्रचारमा रहेका आर्यन अधिकारीसँग थाहाखबरका लागि दिप्सन लुइटेलले गरेको कुराकानी प्रस्तुत छ।

फिल्मको रिलिज मिति नजिकिँदै छ, दौडधुप कतिको छ?

ठीकै छ। फिल्म रिलिजको बेला नदिएको समय कहिले दिनु छ र! फिल्मको प्रचार त गर्नै पर्‍यो नि होइन?

यस फिल्ममा तपाईंको भूमिका कस्तो छ?

यस फिल्ममा मैले अर्जुनको भूमिका निर्वाह गरेको छु। एक प्रेमी, जसले आफ्नी प्रेमिकालाई एकदमै माया गर्छ। अहिले यत्ति भनौँ।

'बाँध मायाले'बाट कतिको आशावादी हुनुहुन्छ?

एकदमै आशावादी छु। मैले विदेशमा धेरै पटक दर्शकसँग बसेर फिल्म हेरिसकेको छु। त्यहाँ फिल्मले एकदमै राम्रो प्रतिक्रिया पाएको छ। जहाँ हामीले रुवाउन खोजेको छौँ, त्यहाँ दर्शक रुनुभएको छ, जहाँ हँसाउने हो, त्यहाँ हाँस्नुभएको छ। त्यसैले पनि म ढुक्कसँग भन्छु, फिल्म राम्रो बनेको छ र सफल हुन्छ।

तपाईंको करिअरमा 'बाँध मायाले'ले कतिको सहयोग पुर्‍याउँछ जस्तो लाग्छ?

मेरो करियरमा यो फिल्मले निकै महत्वपूर्ण हुने मैले ठानेको छु। एउटा कलाकार स्थापित हुनका लागि एउटा ब्लकबस्टर फिल्म चाहिन्छ नै। सबै जना त्यसैको पर्खाइमा हुन्छन्। मेरो त्यो चाहना 'बाँध मायाले'ले पूरा गरिदिन्छ जस्तो मलाई लाग्छ।

सृष्टि श्रेष्ठसँग पहिलो पटक काम गर्नुभएको छ। उनीसँग काम गर्दाको अनुभव कस्तो रह्यो?

सृष्टि एकदमै सजिलो मान्छे हुन्। काम गर्न पनि धेरै सजिलो भयो। दर्शकले पनि हाम्रो केमेष्ट्रीलाई रुचाउनुभएको छ। धेरैले रियल कपल जस्तै देखियो भन्ने प्रतिक्रिया दिनुभएको छ। सायद यही होला हाम्रो जोडीले पाउने सफलता।

पहिलो फिल्मबाट एक्सन, अभिनय र लुक्सको प्रशंसा नै पाउनु भयो। तर दोस्रो फिल्म 'बटरफ्लाई'बाट त्यो पहिलेको सफलता भेट्न नसक्नुभएको हो?

पक्कै पनि हो। पहिलो फिल्म 'बटरफ्लाई'बाट पाएको सफलता दोस्रो फिल्मबाट पाइनँ तर मेरो कामको भने धेरैले प्रशंसा गर्नुभएको थियो। फिल्म सफल भएन भन्नेसँग म सरोकार राख्दिनँ। मैले क्यारेक्टर हेरेँ। बटरफ्लाईमा भएको मेरो गौतमको क्यारेक्टर एकदमै मनपर्‍यो, त्यही भएर काम गरेको हुँ।

त्यो फ्लपको ट्याग 'बाँध मायाले' फिल्ममा दोहोरिने डर छ कि छैन?

मलाई यस कुरामा अलिकति पनि डर छैन किनभने मैले अघि पनि भने मैले दर्शकसँग बसेर फिल्म हेरिसकेको छु। त्यहाँ पनि नेपाली दर्शकहरूले फिल्म हेर्नुभएको हो। यहाँ पनि नेपाली दर्शकले नै हेर्ने हो। त्यसैले पनि फिल्मलाई दर्शकले रुचाउने कुरामा म विश्वस्त छु। ढुक्कसँग भन्छु, फिल्म सफल हुन्छ।

'के म तिम्रो हैन र'मा भरपुर एक्सनसहित डेब्यु गर्नुभयो तर त्यसयता तपाईंको एक्सनलाई दर्शकले हेर्न पाएका छैनन् र आगमी फिल्ममा पनि त्यो छ जस्तो लाग्दैन। के एक्सनलाई छोड्नुभएको हो?

होइन, मैले एक्सन छोड्दिनँ। हरेक फिल्ममा अलिअलि एक्सन गरिरहेको छु। मेरो बाँध मायाले फिल्ममा पनि एक्सन समावेश छ तर पहिलो फिल्ममा जति अन्य फिल्ममा एक्सन गरेको छैन। धेरैको गुनासो पनि यही छ। म पनि पहिलो फिल्ममा भन्दा केही अझै राम्रो गर्ने कोसिसमा छु। सायद छिट्टै एक्सन फिल्म गर्छु होला।

सुरुमा एक्सन फिल्म गर्नुभयो अनि क्यारेक्टर बेस फिल्म गर्नुभयो। अहिले रोमान्टिक लभस्टोरी फिल्म गर्नुभएको छ। कतिको चुनौती हुनेरहेछ फरक फरक काम गर्दा?

फरक क्यारेक्टर गर्न चुनौती त हुन्छ नै तर म कन्फिडेन्टली भन्न सक्दिनँ कि मैले गरेका काम फरक छन्। सबै लभस्टोरी फिल्महरू हुन्। यसले चाहिँ कलाकारमा भएको विविधतालाई प्रस्फुटित गर्न सक्दैन जस्तो लाग्छ। तर क्यारेक्टरअनुसारचाहिँ मैले फरक फरक गर्ने कोसिस गरिरहेको छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.