|

उत्तरी छिमेकी राष्ट्र चीनको भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग भेटवार्ता गरेका छन्।

भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालमा द्वन्द्वको अन्त्य गरेर शान्ति स्थापना गरेको बताउँदै अबको आफूहरूको अभिभारा देशको समृद्धि भएको बताएका थिए। त्यसको आधारका रुपमा कम्युनिस्ट पार्टीको बलियो सरकार बनाई राजनीतिक स्थिरता निर्माण गरेको उनको भनाई थियो। प्रचण्डले भने, “हामीसँग थुप्रै अवसर र चुनौतिहरू छन्। चुनौतिहरूको सामना गरेर मात्र विद्यमान अवसरहरू प्राप्त गर्न सकिन्छ।”

अध्यक्ष प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टी बीचको सम्वन्धलाई अझै सुदृढ गर्ने र नेपाल सरकार र चीनियाँ सरकारबीच भएका सम्झौता र समझदारीलाई कार्यान्वयन गराउने आफ्नो भ्रमणको उद्देश्य भएको बताए।

उपराष्ट्रपति सानले अध्यक्ष प्रचण्डलाई भने, “तपाईलाई चीनमा स्वागत गर्न पाउँदा अत्यन्त खुसी लागेको छ। तपाई हाम्रो पुरानो कमरेड हुनुहुन्छ। तपाईसँग भेट गर्न पाउँदा हामीलाई खुसी लाग्छ। तपाई हाम्रो पहिले पनि भेट भएको थियो।” उनको भनाइ उदृत गर्दै प्रचण्डको सचिवालयले भनेको छ अध्यक्ष प्रचण्डले गरेको सम्बोधन निकै प्रभावशाली भएको भन्दै प्रसंशा पनि गरेका थिए।

अध्यक्ष प्रचण्डले चीनको च्याङ्सु प्रान्तको नान्चिङमा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्मृति दिवसलाई बुधवार सम्बोधन गरेका थिए। उक्त समारोहमा विभिन्न देशका राष्ट्रपति, उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री लगायतको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.