|

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघको २०औं साधारण सभा र ११ औं अधिवेशनमा यक्षध्वज कार्कीले अध्यक्ष पदका लागि बुधबार आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। कार्कीले ५१ बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्कीले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

महासंघको संस्थापक सदस्य भई स्थापना कालदेखि नै महासंघ एवं व्यवसायीहरूको हकहित र गरिमाका लागि आफू  निरन्तर लागिपरेको उनको जिकिर छ।

अहिलेको परिवेशमा निर्माण व्यवसायप्रति सरकारी निकाय नागरिक समाजलगायत सम्पूर्ण क्षेत्रबाट बदनाम र नकरात्मक सोच भई समाजमा स्थापित हुन कठिनाइ भइरहेको तितो सत्य सुनाउँदै कार्कीले भने, ‘महासंघको उद्देश्यमा नै धक्का पुग्ने अवस्था भएकोले म पुनः अध्यक्षमा उठेको छु। समयमै काम सम्पन्न गर्ने गुणस्तरीय काम गर्ने अवस्था सिर्जना गर्छु।’

उनले महासंघको नेतृत्वमा पुग्न रहरले नभएर समय र परिस्थितिले ल्याउने कुरा भएको पनि स्पष्ट पारे। उनले भने, ‘व्यवसायीहरूको उत्थान गर्ने हो। सरकारसँग हातेमालो गरेर विकास निर्माणको कामहरू सम्पन्न गर्ने हो। जनतासँग नजिक रहने हो।’

उनले आफूविरुद्ध अध्यक्षको लागि मैदानमा उत्रिएका साथीहरूप्रति आफ्नो कुनै गुनासो नरहेको पनि स्पष्ट पारे। उनले भने, ‘क्षमता, योग्यता, मत र विश्वासले नेतृत्वमा पुग्ने हो। १२ हजार ५ सय प्रतिनिधि साथीहरू हुनुहुन्छ, उहाँहरूको मतले म जित्नेछु।’

कार्कीसँग महासंघको दुई कार्यकाल सचिव, एक कार्यकाल प्रथम महासचिव, एक कार्यकाल प्रथम उपाध्यक्ष, सल्लाहकार हुँदै अध्यक्ष भएर काम गरेको अनुभव छ। पत्रकार सम्मेलनमा कार्कीले आफ्नो कार्यकालमा प्राप्त भएका विविध उपलब्धिहरूसमेत सुनाएका थिए।

कार्यक्रममा पूर्वसांसद एवं वरिष्ठ निर्माण व्यवसायी जनार्दन ढकालले कार्की महासंघको लागि सक्षम र योग्य उम्मेदवार रहेको भन्दै उनको जीत सुश्चित् रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.