|

काठमाडौं : सरकारले भदौ १ गतेदिख लागू गरेको सवारी ऐन चालकमैत्री नभएको भन्दै देशका विभिन्न ठाउँमा चालकहरूले सवारी साधन ठप्प पारेका छन्। सरकारले लागू गरेको ऐनले चालकलाई अपराधी सरह व्यवहार गरेको भन्दै ऐन संशोधनको माग गर्दै आन्दोलनस्वरूप सवारी साधान सञ्चालन ठप्प पारेका हुन्।

चालकको आन्दोलनका कारण देशका विभिन्न ठाउको जनजीवन प्रभावित भएको छ। नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले सुरु गरेको आन्दोलनका कारण सिन्धुलीमा सवारी साधन ठप्प भएका छन्। संघर्ष समितिले सुरु गरेको आन्दोलनको दोस्रो दिन पनि सिन्धुलीमा सवारी साधन ठप्प रह्यो।

मंगलबारबाट देशैभर आन्दोलित चालकहरूसँगै सिन्धुलीका चालकहरू पनि आन्दोलित हुँदा सिन्धुलीको वीपी राजमार्ग, मध्येपहाडी लोकमार्ग, हेटौँडा–सिन्धुली–गाईघाट वैकल्पिक मार्ग, जिल्लाका ग्रामीण भेगमा संचालन हुने सवारी साधनलगायत लामो तथा छोटो दूरीमा सञ्चालन हुने सबै सवारी साधन बन्द भएका छन्। राजमार्गमा एम्बुलेन्स र मोटरसाइकलबाहेक अन्य सवारी साधन चलेनन्।

सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन २०४९ को संशोधित ऐन २०७४ को दफा ६३ देखि १६३ सम्मका विभिन्न बुँदाहरू सवारी चालकहरूको हितविपरीत भएको भन्दै चालकहरू बुधबार बिहानदेखि नै सडकमा जम्मा भएर विरोधमा उत्रिएको सिन्धुलीगढी यातायातका चालक शुक्र श्रेष्ठले बताए।

त्यस्तै, नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले सुरु गरेको आन्दोलनका कारण बैतडीमा पनि यातायात ठप्प भएको छ। चालकहरूको आन्दोलनका कारण बैतडीबाट कुनै पनि सवारी साधनको चलानी नभएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए।

चालकले सवारी साधन नचलाएर आन्दोलनमा उत्रिएपछि राजमार्ग सुनशान देखिएको छ। चालकहरूको आन्दोलनले लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा नआएका महाकाली यातायात सतबाझ बुकिङ काउन्टरका इन्चार्ज कर्णबहादुर पाण्डेले बताए। यहाँका राजमार्गमा एम्बुलेन्स, प्रेस र मोटरसाइकलबाहेक अन्य सवारी साधन चल्न सकेका छैनन्।

सरकारलाई दबाव दिनका लागि आफ्नो सवारी साधन घरमै राखेर आन्दोलन गरिएको र चालकलाई अपराधी बनाउने ऐन सच्याउन आफूले माग राखेको समितिले जनाएको छ।  'सबैले घरमै गाडी राखेर लागू ऐन संशोधनको माग राखेका छौँ' चालक मानबहादुर टेरले भने 'नियतबस कसैले दुर्घटना गराउन चाहदैन तर दुर्घटना भएर कसैको मृत्यु भइहाले चालकले जन्मकैद सजाय भोग्नुपर्ने कस्तो कानुन हो?'

त्यस्तै, काभ्रेपलाञ्चोकका टिपर चालकले पनि अघोषित अन्दोलन सुरु गरेका छन्। नयाँ व्यवस्थाअनुसार चालकले बढी कारबाही भोग्नु पर्ने भएको भन्दै अहिले काभ्रेपलाञ्चोक जिल्ला भएर गुड्ने अधिकांश सडकमा टिपर गुड्न बन्द भएका हुन्। चालकहरूले टिपर चलाउन बन्द गरेपछि कोहीले सडकको खुल्ला ठाउँ त कसैले आफ्नै घर आँगनमा त कसैले पेट्रोल पम्प छेउछाउमा पार्किङ गरेर राखेका छन्।

काभ्रेपलाञ्चोक जिल्लामा दैनिक आठ/नौ सयको संख्यामा टिपर सञ्चालन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बनेपाका प्रमुख निशेष चापागाईले जानकारी दिए।

वर्तमान ऐनको दफा १६१ को १ मा ज्यान मार्ने मनसाय लिई दुर्घटना गरेको भए चालकलाई जन्म कैद हुने व्यवस्था छ। उक्त दफाले आफूहरूले सवारी साधन चलाउँदा प्राविधिक या अन्य कसैको कारण दुर्घटना भए या कसैको ज्यान गए पनि आफूहरू जन्मकैद बस्नु पर्ने बाध्यकारी व्यवस्था सरकारले ल्याएको कारण आफूहरू पेसागत सुरक्षाका लागि आन्दोलनमा उत्रनु परेको अर्का चालकहरूको भनाइ छ।

जिल्ला समाचारदाताहरूको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.