|

पर्सा : मुलुका विभिन्न प्रदेशमा भव्य संविधान दिवस मनाइरहँदा पर्सामा भने समर्थन, विरोध र संविधानका बारेमा बहस र मन्थन गरी त्रिकोणात्मक कार्यक्रम गरिएका छन्। राज्य संयन्त्रका प्रमुख तथा प्रतिनिधिले बिहान संविधान दिवसको अवसरमा प्रभात फेरि निकालेको पर्सामा १० बजेपछि दिवस विरोधी कार्यक्रम गरियो।

मधेश आन्दोलनका घाइतेको भावनाअनुसार मधेशका नेताहरू पनि नहिडेको र सरकारले पनि मधेशका मुद्दालाई उपेक्षा गरेको निष्कर्षसहित सानो पाइला र युवा संशक्ति संघको संयुक्त आयोजनामा पर्सामा दुईदिने संविधानको बहस र मन्थन कार्यक्रम सुरु गरेएको छ। सो कार्यक्रममा राजधानी काठमाडौंमा बसी सधैं त्यहिको सुविधा भोग गरेर आन्दोलन चर्किएका बेला मधेशमा झरी मधेश आन्दोलनलाई हुडलेर फकर्नेहरू मुख्य वक्ता रहेका छन्। उनीहरूले मधेश आन्दोलनका घाइते र शहीदको भावनाअनुसार मधेशी दल र सत्तापक्षले संविधान संसोधन नगरेको आरोप लगाए।

कार्यक्रम घाइते र शहीद परिवारका सदस्यलाई मञ्चमा राखी बाँकी नेता र वक्ताहरूलाई फ्लोरमा बसाएर सुरु गरिएको कार्यक्रममा मधेश आन्दोलनका घाइतेहरूले पहिले सम्बोधन गरे। उनीहरूले सम्बोधनका क्रममा एउटै कुरा भने 'मधेसी नेताहरू बेशरम रहेछन्। हामीले यहि दिन देख्न गोली खाएको, टुहुरा भएको हो त?'

गोलीले आफ्नो शरीरमा वारपार गरेको दाग देखाउँदै रौतहटका लालबाबु पटेलले मधेसी नेताहरूलाई देखेर पनि नदेख्ने जस्तो गर्ने अन्धा भएको आरोप लगाए। गहभरी आँसु पार्दै महन्थ ठाकुर, लक्ष्मणलाल कर्णहरूतिर प्रश्न तेर्स्याए, 'हामीलाई मधेशका कुन ठूला नेताले साथ दिनु'भो?' परिवार र घाइतेको एउटै भनाइ छ 'राज्य र नेताहरूले हामीलाई उपेक्षा नगरोस्।'

उनीहरुको कुरा सुनेर आफ्नो ४० मिनेट लामो भाषण गरेका राजपाका महन्थ ठाकुरले सत्तापक्षसँग शेयर माग्दा नदिए अंश लिएरै छाड्ने भनी अलग मधेशको संकेत गरी चेतावनी दिए।

त्यस्तै डा. सुन्दरमणि दिक्षितले मधेशी दलहरुले द्विविधामा पारेर आफू जस्तालाई अप्ठ्यारो पारेको तर्क गरे। 'तपाई मधेसी दलहरु साँच्चो बोलिदिनुस् । कन्फ्यूजन नपारिदिनुस्। पद, पैसा, पावर र व्यक्ति हितका पछाडि लागेर अलगअलग कुरा नगर्नुस्। के गर्ने हो एक भएर भनिदिनुस्' उनले भने।

बुधबारसम्म चल्लने कार्यक्रममा खगेन्द्र संग्रौला, दमननाथ ढुंगाना, सिके लाल, सिके झालगायतले मधेश आन्दोलनको समर्थन गर्दै आफ्ना भनाइ राखेका छन्। 

उता साँझ राजपा पर्साको आयोजनामा तेस्रो कार्यक्रम भने खुलेर संविधानको विरोध गरिएको छ। वीरगन्जको घण्टाघर चौकमा नेताहरूले विरोधसभासमेत गरिएका छन्। विरोधसभालाई राजपाका अध्यक्ष महन्थ ठाकुर, लक्षमणलाल कर्ण, महासचिव राजेशमान सिंह, स्थानीय नेताहरू नेजामुद्दीन समानीलगायतले सम्बोधन गरेका थिए। संविधान दिवसको विरोधमा भएको विरोधसभा प्रदेशसभा सदस्य तथा पर्साका अध्यक्ष मण्डलका संयोजक रमेश पटेकको अध्यक्षतामा भएको हो।

संघीय समाजवादी फोरम नेपालले भने तीनै थरी कार्यक्रममा सकृय उपस्थिति देखाएको छैन। फोरमका नेता वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले राज्य पक्षको कार्यक्रममा सरिक भई सम्बोधन गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.