राजनीति

लोकतन्त्रका मूल्यमान्यताप्रति नेपाल प्रतिबद्ध : राष्ट्रपति भण्डारी
SHARES

संविधान दिवस २०७५ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शीतलनिवासमा आयोजना गरेको रात्रिभोजमा सरिक हुँदै प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, प्रधानन्यायाधिश ओमप्रकास मिश्र लगायत। तस्बिर : प्रदीपराज वन्त
असोज ३, २०७५

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको सर्वोच्चता, कानूनको शासन, मानवअधिकार र लोकतन्त्रका सबै मूल्यमान्यताप्रति नेपाल सदैव प्रतिबद्ध रहिआएको बताएकी छन्।

    नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिका लागि राष्ट्रपति भवन शीतल निवासमा बुधबार साँझ आयोजित स्वागत समारोहमा उनले नेपाल असंलग्न आन्दोलनको संस्थापक र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता क्षेत्रीय सहयोग सङ्गठनको अवधारणाप्रति प्रतिबद्ध रहिआएको उल्लेख गरिन्।

    राष्ट्रपति भण्डारीले भनिन्, “हामी यस क्षेत्रका राष्ट्रहरूसँग मिलेर आर्थिक विकास लगायतका साझा चासोबाट लाभान्वित हुन चाहन्छौँ। विश्वका सबै मुलुकसँग पञ्चशीलका आधारमा शान्तिपूर्ण सुमधुर सम्बन्ध स्थापना गर्न प्रतिबद्ध छौँ।”

    विश्व शान्तिका अग्रदूत बुद्धको जन्मस्थल रहेको यस धर्ती नेपालका जनता शान्ति, सद्भाव र भ्रातृत्वको पक्षमा सदैव उभिएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसङ्घको बडापत्र र त्यसको नीतिप्रति हाम्रो पूर्ण सम्मान रहिआएको बताइन्।

    नेपालको संविधान लोकतन्त्रका आधारभूत मान्यताहरू वाक तथा प्रकाशन स्वतन्त्रता, मौलिक हक, जनतमा निहित सार्वभौमसत्ता, मानवअधिकार र सामाजिक न्यायका लागि नेपाली जनताको आकाङ्क्षा र अथक सङ्घर्षको प्रतिफलका रुपमा रहेको राष्ट्रपति भण्डारीले उल्लेख गरिन्। उनले देशको सामाजिक, आर्थिक विकासलाई केन्द्रविन्दुमा राखी अघि बढ्न तीनै तहका जनप्रतिनिधिसहित सबै तह र तप्काका नागरिकलाई आह्वानसमेत गरेकी छन्।

    यसअघि राष्ट्रपति भवनमा आज साँझ नेपालको विविध सांस्कृतिक वेशभूषा र रहनसहन झल्कने शास्त्रीय गान, गणेश बन्दना, घाटु नाच, सेब्रु नाच, छलिया नाच, सामा चकेवा नाच, लोक धुन (सारंगी वादन), झ्याउरे नाच, तामाङ सेलो नाच, सतार नाच र सिङ्गारु नाच प्रस्तुत गरिएको थियो। सो अवसरमा नेपालसम्बन्धी वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो।

    उक्त विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सेनाको उपस्थिति थियो।

    उपप्रधानमन्त्री, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, उद्योगी, व्यापारी, समाजसेवी तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको पनि सो अवसरमा उपस्थिति थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]