‘भारतको समर्थनमै नाकाबन्दी गरेका हौँ’

|

कैलाली : राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य हुन् राजेन्द्र महतो। उनी नेपाल सद्भावना पार्टी आनन्दीदेवीको तर्फबाट राजपामा समाहित भएका हुन्। धनुषा क्षेत्र नम्बर- ३ बाट नेपाली का‌ंग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई हराउँदै उनी प्रतिनिधिसभा सदस्य विजयी भएका हुन्। यसअघि पनि उनी पटक पटक मन्त्री भइसकेका छन्। 

वर्तमान सरकारलाई बाहिरबाट समर्थन गरेको राजपाले सरकारका केही एजेण्डाहरूलाई भने अस्वीकार गर्दै आइरहेको छ। उसले संविधानमा असहमति जनाएको छ। मधेसकेन्द्रित दलहरूले संविधान संशोधन गर्नुपर्ने भन्दै अन्दोलनमा उत्रिएपछि मुलुकले नाकाबन्दी खेप्नुपरेको थियो। यिनै विषयवस्तुमा केन्द्रित रहेर राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग थाहाखबरकर्मी भानुभक्त आचार्यले गरेको कुराकानी प्रस्तुत छ।

तीन वर्षअघि तपाईंहरू नाकाबन्दीमा उत्रिनुभयो। त्यो भारतले गरेको थियो कि तपाईंहरूलाई गर्न लगाएको थियो वा तपाईंहरूले गरेर भारतको नाम बेच्नुभएको हो? 

यो वाहियात कुरा हो। यो कुरा सुन्दा मलाई पनि दुःख लाग्छ। नाकाबन्दी हामी मधेस-थरूवानका आन्दोलनकर्ताहरूले गरेका थियौँ। त्यो आन्दोलनमा सारा दुनियाँको समर्थन रहेको थियो। भारतको पनि समर्थन पाएका थियौँ। फेरि नाकाबन्दी कुनै नौलो कुरा त होइन नि नेपालका लागि। 

२०४७ सालपछि हामी सबै मिलेर नाकाबन्दीको आह्वान गरेकै हो। त्यो बेलाको नाकाबन्दी राष्ट्रवादी हुने अनि मधेसी र थरूहटले चाहिँ अधिकार नपाएको भन्दै आफैँ गएर नाकाबन्दी गरेको गलत हुने? यस्तो पनि हुन्छ? त्यो बुझाइ गलत थियो। हामीले नाकाबन्दी राज्यलाई दबाब दिन गरेका थियौँ। अरू केही होइन। 

नाकाबन्दीका लागि तपाईंहरूलाई भारतले सहयोग गरेको थियो?

आजसम्मको सबै नाकाबन्दीमा भारतको सहयोग र समर्थन त रहेकै छ नि! तर त्यतिबेलाको सरकारले थरूहट र मधेसको माग पूरा गर्न नपरोस् भनेर चलाखीपूर्ण रूपले हाम्रो आन्दोलनलाई भारतको आन्दोलन भनिदियो। 

तपाईंबाट बेलाबेलामा विवादास्पद अभिव्यक्ति आउँछ। भारतसँग नेपाल टाढा रहन सक्दैन भन्नुहुन्छ। नेपाली भएर भारतको पक्षमा बोल्दा हीनताबोध हुँदैन?

हा..हा..हा.. (लामो हाँस्दै) पहिलो कुरो त नेपाल र भारतको सम्बन्ध अनन्त सम्बन्ध हो। यस्तो सम्बन्ध दुनियाँका अरू कुनै राष्ट्रसँग छैन। छिमेकीसँग त राम्रो सम्बन्ध रहनै पर्छ, होइन र? यो सत्य तथ्यलाई सबैले बुझ्नुपर्छ। भारतको विरोध गरेर हुँदैन। 

मैले त पटक पटक भन्ने गरेको छु, दुनियाँका अरू देश र नेपाल–भारत सम्बन्ध फरक हो। नेपाल–भारतको बेटीरोटीको सम्बन्ध छ। तपाईं यहीँ बोर्डरमा हेर्नुहोस् न। नेपाल–भारतमा दिल्ली दरबार र सिंहदरबारबीच मात्रै सम्बन्ध छैन, जनता-जनताबीच पनि छ। तपाईं मित्र फेर्न सक्नुहुन्छ तर छिमेकी फेर्न सक्नुहुन्न। नेपाल-भारत सम्बन्ध यस्तै हो। यहाँ भारतविरोधीको नाममा राष्ट्रवाद हुने गलत प्रचलन रहेको छ। 

सरकारलाई समर्थन गरिरहने तर सरकका मुद्दाहरूलाई विरोध गर्ने, यो दोहोरो चरित्र किन?

हाम्रा समस्याहरू समाधान गर्ने सहमतिपछि हामीले सरकारलाई बाहिरबाट समर्थन गरेका हौँ। हाम्रा आन्दोलनहरूका विषयमा वर्तमान प्रधानमन्त्री सकारात्मक भएपछि हामी सरकारलाई समर्थन गरेका हौँ। त्यो पनि गुण र दोषका आधारमा हो। 

गणितीय हिसाबले हाम्रो समर्थनले कुनै अर्थ राख्दैन, त्यो पनि हामीलाई थाहा छ। तर पनि पहिचानवादी पार्टीले समर्थन गरेको भन्ने कुराचाहिँ ठूलो कुरा हो। अब यो अवसर पनि सरकारले गुमायो भने ठूलो दुर्भाग्य हुन्छ। प्रधानमन्त्री ओलीले सविधान संशोधन गर्ने, रेशम चौधरीलाई शपथ ग्रहण गराउने र मुद्दा फिर्ता लिने विषयमा आश्वासन दिनुभएको थियो तर त्यो कुरा अहिलेसम्म भएको छैन। हामी धेरै समय धैर्य गरेर बस्नेवाला छैनौँ। अहिले पर्ख र हेरको अवस्थामा छौँ। 

केही ससयअघि राजपा पनि सरकारमा जाने भन्ने कुरा थियो नि! हलो कहाँ अड्कियो?

हाम्रा मागहरू पूरा नभएपछि सरकारमा जाने कुरै भएन। हामीलाई पटक पटक सरकारमा आउन आग्रह भइरहेको छ तर हाम्रा मागहरू सम्बोधन नभएसम्म हामी सरकारमा सहभागी हुँदैनौँ। अहिले सरकारको कल्पना गरेका छैनौँ। 

नामचाहिँ राष्ट्रिय जनता पार्टी तर मुद्दाचाहिँ किन क्षेत्रीय बोक्नुहुन्छ?

संगठनको हिसाबले कांग्रेस, कम्युनिस्टहरू राष्ट्रिय पार्टी भए तर विचारका दृष्टिकोणले तिनीहरू क्षेत्रीय पार्टी हुन्। उनीहरू जातको कुरा गर्छन्। यो मुलुकमा ८० प्रतिशत राज्य सत्ता कब्जा गरेकाहरूलाई उनीहरूको संरक्षण छ। कामले उनीहरू क्षेत्रीय हुन्। पार्टी राष्ट्रिय भए। हामी विचारले राष्ट्रिय हौँ, संगठन क्षेत्रीय भयो। कुरा त हामीले राष्ट्रियस्तरका गर्छाैं तर पार्टी मात्रै क्षेत्रीय भएको हो। 

तपाईंहरूको दलभित्रै दलदल छ। छ जना अध्यक्षको भरमा चलिएरहको छ एउटा पार्टी। कहिलेसम्म यसरी चल्छ?

पाकिस्तान, बंगलादेश संविधानमा लेखेर नयाँ देश भएको त होइन नि! दुनियाँमा कयौँ देश टुक्रिएका छन्। के संविधानमा लेखेर टुक्रिएका हुन् र? त्यो त जनताले सडकमा लडेर लिन्छन्। संविधानमा लेखेर देश अलग हुँदैन बरु देश बलियो हुन्छ।

विगतमा छवटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी हो। मिल्दा नै हामीले एउटा सर्त राखेका थियौँ- छवटा पार्टीको अध्यक्ष मण्डल बनाउने त्यसपछि महाधिवेशनमा जाने। अहिलेसम्म अध्यक्ष प्रणालीमा नगए पनि हाम्रो बीचमा कुनै विवाद छैन। अधिवेशन नभएकाले छवटा पुरानै संगठन जस्तो मात्रै देखिएको हो। 

संघीयताको विषयमा तपाईंहरू एक मधेस एक प्रदेश भन्नुहुन्थ्यो। पहाडलाई तराईसँग छुट्याउँदा बिखण्डन हुन सक्छ भन्नेहरूको तर्क त मिल्दै गयो नि, होइन?

अहिले पनि एकात्मक राज्य प्रणाली चलिरहेको छ। एक पक्ष मात्रै राज्यसत्ता नजिक छ। त्यो सोचवाला व्यक्तिहरू संघीयताविरोधी हुन्। तिनलाई संघीयता आवश्यक छैन। त्यो बेला संघीयता माग्ने एउटा मात्रै कारण थियो- देश पनि आफ्नो, राज्य पनि आफ्नो, सरकार पनि आफ्नो होस् भनेर।

अहिले पनि काठमाडौंबाट मधेसमा, तराईमा, पहाडमा र हिमालमा न्याय पुगेको छैन। सबैको मुलुक हो यो। सबैले न्याय पाउनुपर्छ। समावेसी हुनुपर्छ। शासनको अनुभूति थारू समुदायले गर्नका लागि थरूहट प्रदेश त चाहियो नि त। मधेस प्रदेश त चाहियो नि त। त्यसैले हामीले १० प्रदेशको कल्पना गरेका थियौँ। अधिकार सम्पन्न संघीयता मागेका हौँ। प्रदेश मागेका हौँ। प्रदेशले बिखण्डन होइन, एकता ल्याउँछ। हामीले देश चाहिँदैन, प्रदेश मात्रै भए हुन्छ भनेका पनि होइनौँ। तर प्रदेशलाई बलियो बनाइएन भने देश पक्कै कमजोर हुन्छ। 

अलिहे सात प्रदेशको अवस्था त यस्तो छ। करमाथि कर बढिरहेको छ। भौतिक संरचना र सरकार संचालनमा थुप्रै कठिनाइ छ। यस्तो अवस्थामा १० प्रदेश उपयुक्त हुन्थ्यो त?

यो त कामै लाग्दैन। अधिकारबिनाको संघीयताको त केही अर्थ नै छैन। गाउँपालिका, नगरपालिकाजति पनि अधिकार नभएको यो संघीयताको के अर्थ भयो र? संघीयताको मामलामा हामी एकदमै प्रष्ट छौँ। १० प्रदेश, त्यसमा केन्द्र सरकारले तीनवटा मात्रै अधिकार राख्नुपर्छ। देशको सरक्षा नीति, विदेश नीति र मौद्रिक नीतिबाहेक सबै कुरा प्रदेशलाई दिनुपर्छ। अधिकार भएपछि प्रदेशले आफ्नो प्रगति आफैँ गर्न सक्छ। 

देश बराबर वा त्योभन्दा बलियो प्रदेश भयो भने यसको दीर्घकालीन असर मूल्यांकन गर्नुभएको छ? तपाईंहरूले भनेको आत्मनिर्णयको अधिकारले सिक्किमीकरणको खतरा पनि छ भन्छन् नि?

यो वाहियात कुरा हो। आत्मनिर्णयको अधिकार भनेको देशै छुट्टिनेसम्मको अधिकार होइन नि! हामीले आत्मनिर्णयको अधिकार मागेकै हौँ तर देशै छुट्टिने कुरा गरेका होइनौँ। देशै बनाउने अधिकार देऊ भनेर त्यसका लागि संविधानमा लेख्नुपर्दैन। पाकिस्तान, बंगलादेश संविधानमा लेखेर नयाँ देश भएको त होइन नि! दुनियाँमा कयौँ देश टुक्रिएका छन्। के संविधानमा लेखेर टुक्रिएका हुन् र? त्यो त जनताले सडकमा लडेर लिन्छन्। संविधानमा लेखेर देश अलग हुँदैन बरु देश बलियो हुन्छ। संविधानमा जति राम्रोसँग अधिकारको कुरा लेख्यो, त्यति नै संघीयता बलियो हुन्छ। संघीयता बलियो भयो भने देश बलियो हुन्छ।

२ नम्बर प्रदेशमा भारतीय प्रधानमन्त्री आउँदा जयजयकार गर्ने, नेपाली प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दा तपाईंहरूकै सांसदले बहिस्कार गर्ने, नेपालको राष्ट्रपतिमाथि अपमान गर्ने, यसले के संकेत गर्छ?

यो त समान्य कुरा हो। यति कुरा पनि नबुझ्ने को होला र? अतिथि देवः भव:। कोही अतिथि आएपछि हामीले सम्मान गर्नुपर्छ। यो हाम्रो संस्कार हो। आफ्नै भए पनि राजनीतिमा गल्ती गरेपछि त्यसको विरोध गर्नुपर्छ। हाम्रो देशको प्रधानमन्त्री, राष्ट्रपति आफ्ना भए त्यसैमाथि उनीहरूले गल्ती गरे। त्यसपछि हामीले उहाँहरूलाई पूजा गरेर बस्ने? यहाँ निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना भइसक्यो, सरकारले चाहिँ त्यो अपराधीलाई सयाज दिन नसक्ने? फेरि प्रधानमन्त्री केपी ओली यहाँ आएर धुपबत्ती देखाउने हो? मधेसमा गोली चलाउने सरकारलाई त्यहाँ पूजा गर्ने होइन, विरोधै गर्ने हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.