|

बैतडी : प्रदेश ७ को बैतडी जिल्लामा रहेको पञ्चेश्वर गाउँपालिका दुर्गमको गाउँपालिका हो। पञ्चेश्वर परियोजना बन्ने स्थल रहेको यो गाउँपालिकामा साविकका गाविस पञ्चेश्वर, महाकालीका १ नम्बरदेखि ६ नम्बर वडा,  कुलाउको १ देखि ८ नम्बरसम्मका वडा, आम्चौरा, गिरेगडा र रोडिदेवलको १, २, ३, ८ र ९ नम्बर वडा मिलेर बनेको छ। 

कुल १२०.४१ वर्ग किलोमिटर क्षेत्रफल रहेको पञ्चेश्वर गाउँपालिकामा छवटा वडा रहेका छन्। यहाँको जनसंख्या १८ हजार ७६६ रहेको छ। यस गाउँपालिकामा ठकुरी, ब्राह्मण, दलित, क्षेत्री समुदायलगायत जातजातिको बसोबास रहेको छ। यहाँ देवताल, चतुरवाहु, उदयदेवलगायतका मठमन्दिर रहेका छन् भने महाकाली, गर्मागाडलगायतका नदी रहेका छन्।  

२०७४ असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट उम्मेदवार बनेका गोरखबहादुर चन्दले नेपाली कांग्रेसका दिनेशबहादुर चन्दलाई पराजित गर्दै अध्यक्ष पदमा विजयी भएका थिए। लामो समयसम्म शिक्षण पेसा गरेका ४८ वर्षीय चन्दले स्थानीय तहको निर्वाचनका बेला राजीनामा दिएर चुनाव लडेका थिए।  

शिक्षाशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरिसकेका चन्द वि.सं. २०४७ मा माध्यमिक तहमा शिक्षक सेवाबाट नाम निकाल्दै शिक्षण पेसामा लागेका थिए। २६ वर्षसम्म शिक्षण पेसामा लागेका चन्द २०५८ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनका बैतडी इञ्चार्जसमेत भएका थिए। २०६१ देखि २०६३ सम्म नेपाल शिक्षक युनियनको साझा अध्यक्ष पद सम्हालेका चन्द २०६३ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य बनेका थिए।  

शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेवापत राष्ट्रिय शिक्षा पुरस्कार पाएका चन्द स्थानीय तहको निर्वाचनमा शिक्षक पेसाबाट राजीनामा दिँदै तत्कालीन एमालेबाट निर्वाचनमा सहभागी भएका थिए। 

स्थानीय तहको निर्वाचनमा विजयी भएर एक वर्षभन्दा बढीको अवधिमा गरेका काम तथा भावी योजनाबारे केन्द्रित रही बैतडीस्थित थाहाखबरकर्मी विनोद सिंह विष्टले अध्यक्ष गोरखबहादुर चन्दसँग गरेको संवाद प्रस्तुत छ। 

निर्वाचित भएपछिको पहिलो एक वर्षको अनुभव कस्तो छ?

एक वर्ष अनुभवमै बित्यो। हिजो निर्वाचनको समयमा बोलेका कुराहरूलाई पूरा गर्नतिर बढी ध्यान दिइयो। स्थानीय निर्वाचनका बेला गरेका वाचाहरूलाई पूरा गर्नतर्फ जोड दिइयो। जनप्रतिनिधि भएर काम गर्न केही गाह्रो भए पनि सामाजिक सेवा जस्तै भएकाले सन्तुष्ट छु। 

निर्वाचनको समयमा गरेका प्रतिबद्धता कतिको पूरा गर्नुभयो?

मैले निर्वाचनको बेला जनतासँग गरेका प्रतिबद्धताअनुसार नै काम गरिरहेको छु। धेरै पूरा भए, केही हुने क्रममा छन्। निर्वाचनको बेला प्रचारप्रसार गर्न जाँदा मलाई निर्वाचित गराउनुभयो भने अर्को पटक आउँदा सडक भएर आउनेछु भनेको थिएँ, अहिले सडक पुगेको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत पनि विस्तारको क्रममा छ।  

एक वर्षे कार्यकालमा केके योजना सम्पन्न गर्नुभयो?

पञ्चेश्वर गाउँपालिका जिल्ला र केन्द्रबाट दुर्गम रहेको गाउँपालिका हो। सडक, विद्युतबाट टाढा रहेको गाउँपालिका भएकाले पहिलो प्राथमिकता सडक अनि कृषि, शिक्षा, स्वास्थ्यलाई दिइएको छ। प्राथमिकताका आधारमा नै पहिलो एक वर्षको अवधिमा गाउँपालिकाभित्र ९० किलोमिटर सडक निर्माण भएको छ।

गाउँपालिकाभन्दा टाढा रहेका वडाहरूलाई सडक सञ्जालमा जोड्यौँ। अझै केही वडा बाँकी छन्, ती प्रक्रियामा छन्। युवा स्वरोजगारमा पनि हामीले ९० जना युवालाई व्यावसायिक तालिम दिई बाख्रापालन, होजियारी तरकारी खेती, कुखुरापालन, मौरीपालनमा अनुदान दिएका छौँ। यसबाट केही बेरोजगारी हटाएका छौँ।दुईवटा प्राविधिक विद्यालयलाई प्राथमिकता दिएका थियौँ। एक वर्षको दौरानमा गर्न नसकेका काम यस वर्ष गर्ने क्रममा छौँ। 

सडकलाई नै बढी महत्त्वमा किन राख्नुभएको होे?

सडक विकासको मेरुदण्ड हो। विकासको मुख्य आधार सडक भएकाले प्रमुख प्राथमिकता सडकमै हो। सडडको पहुँचबाहिर रहेका यहाँका नागरिकले गाडी चढ्न पाएका छन्। अन्य विकासका लागि सर्वप्रथम सडक भएकाले सडकमा बढी जोड दिएका हौँ। जनताको माग पनि यही थियो।  

गाउँपालिकाको नागरिकले जोखिमपूर्ण रूपमा महाकाली नदीमा यात्रा गरी भारतीय बजारबाट सामान ल्याउँछन्। त्यो जोखिमपूर्ण यात्रा कहिले हट्छ?

मेरो घोषणापत्रमा महाकाली नदीमा झोलुंगे पुल बन्नेछ भनेको छु। त्यसअनुरूप गत वर्ष ठेक्का पनि भइसकेको थियो। दुई देशको सिमाना भएर पनि हामीले भनेअनुसार तुरुन्तै हुँदैन। यसमा भारतको पनि सहमति चाहिन्छ। त्यसैले अगाडि बढ्न सकेको छैन। पुल बन्ने भन्ने ठाउँ पञ्चेश्वर परियोजनाको डुबानमा पर्ने हुँदा भारतले त्यो अस्वीकार गरेको थियो। त्यसपछि म आफैँ परराष्ट्र मन्त्रालय र डोलिडारको कार्यालयमा गएर त्यसलाई सच्याउनु भनेँ। कार्यालयबाट इन्जिनियर आई डुबानभन्दा ५०० मिटर जति तल सर्वेक्षण गरेर गएका छन् र प्रस्ताव अघि बढिसकेको छ। एक वर्षभित्र झोलुंगे पुल बन्छ। त्यसपछि जोखिमपूर्ण यात्रा हट्छ। 

लामो समयसम्म शिक्षण पेसा गरेर आउनुभएको छ। शिक्षालाई रोजगारमूलक बनाउन के पहल गरिरहनुभएको छ?

जबसम्म जनतालाई आयआर्जन र रोजगारी दिन सकिँदैन, तबसम्म विकास असम्भव छ। त्यसलाई दुई-तीन कुरासँग जोड्न सकिन्छ। एउटा, कृषिमा परिवर्तन नगरी सम्भव छैन।

पछिल्लो समयमा बेरोजगारीको संख्या बढी नै रहेको छ। सरकारी स्कुलका शिक्षकले पढाउँदैनन्, राजनीति गर्छन् भन्ने आमसमुदायको आरोप हो। म पनि लामो समयसम्म शिक्षण पेसा गरेको मान्छे हुँ। अहिलेसम्म व्यवहारमा देखिएको कुरा पनि त्यही हो। हामीले पढाएका विद्यार्थिहरू हातमा डिग्रीको सर्टिफिकेट छ, कोरा ज्ञान छ, सीप छैन। ज्ञान पनि नबेचिने किसिमको छ। खाडी मुलुक र भारतमा सर्टिफिकेट हातमा बोकेर भौँतारिनु परेको छ। त्यस कारण मैले एउटा अभियान चलाएको छु।

हिजोको जस्तो कोरा शिक्षाले केही हुँदैन, त्यसैले शिक्षालाई प्रविधिसँग जोडौँ र प्रविधिमैत्री शिक्षा बनाउनका लागि हिजोको जस्तो शिक्षा पढाएर हुँदैन। शिक्षामा ई लर्निङका कुराहरू, इन्टरनेटका कुराहरू र सीपयुक्त ज्ञानका लागि अभियान चलाएको छु। त्यसको सुरुवात गरिसकेको छु। यस वर्ष मात्रै मैले शिक्षामा एक करोड ७०  लाख रुपैयाँ बजेट छुट्याएको छु। शिक्षालाई प्रविधिसँग जोडेको छु। दशैँ अगाडि मावि र क्याम्पसमा इन्टरनेट जोड्नेछु। ऐन कानुन बनाएर पनि शिक्षामा परिर्वतन ल्याउँछौँ।

शिक्षा क्षेत्रमा ठूलो लगानी छुट्याउनु भएको छ, यसमा प्राविधिक शिक्षालाई पनि जोड्नुहुन्छ कि?

यो २१औँ शताब्दी हो। प्राविधिक शिक्षाको युग हो। शिक्षाको हरेक क्षेत्रमा प्राविधिक जोड्नु अनिवार्य छ। रन्तोलीमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त एक स्कुलमा १८ महिने कृषि जेटिए र भेटेरनरी पढाइ भइरहेको छ। यसै वर्षदेखि कुलाउँमा पनि आइएस्सी एजीको पढाइ हुँदै छ। गाउँपालिकामा ९० प्रतिशत जनता कृषिसँग जोडिएका छन्। उनीहरूसँग परम्परागत कृषि प्रणाली छ, व्यवसायमुखी छैन। उनीहरूलाई कृषिसँग जोडी कृषिमा आधुनिकीकरण गर्न खोजिएको हो।

अरू विद्यालयमा पनि प्राविधिक शिक्षाको पढाइलाई जोड दिने प्रयास गरेका छौँ। प्राविधिक शिक्षाका लागि यी दुई विद्यालयमा बजेटको व्यवस्था गरिएको छ। गरिब, दलित, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिका लागि १० लाख रुपैयाँ छुट्याएको छु। 

कर्मचारीको अभाव कस्तो छ? कसरी काम अगाडि बढाउँदै हुनुहुन्छ?

कर्मचारी अभाव धेरै खड्कियो। विकास निर्माणका कामहरू जसरी पनि अगाडि बढायौँ। संघीय सरकारले न त हामीलाई कर्मचारी भर्ना गर्ने अधिकार दियो, न कर्मचारी नै पठायो। विगतमा जे भयो भयो, त्यसबाट विकासमा समस्या भएन तर सुशासनको पाटोमा समस्या आयो। जनताले आएको समयमा सेवा पाएनन् किनकि कर्मचारीको अभाव भयो। हाम्रो पनि नयाँ अभ्यास भयो तर यस वर्ष कर्मचारी आए भने ठीक छ नत्र ऐन कानुन बनाएर कर्मचारी भर्ना प्रक्रियामा लैजान्छौँ। जनतालाई कागजमा मात्र सिंहदरबार आएको भन्ने भान हुन दिनेछैनौँ, साँच्चिकै सिंहदरबार आएको अनुभूति गराउनेछु।

भावी योजना के छ पञ्चेश्वर गाउँपालिकाका लागि?

'समृद्ध पञ्चेश्वर, समुन्नत पञ्चेश्वर'को नारा दिएका छौँ। अघि पनि भने, जबसम्म जनतालाई आयआर्जन र रोजगारी दिन सकिँदैन, तबसम्म विकास असम्भव छ। त्यसलाई दुई-तीन कुरासँग जोड्न सकिन्छ। एउटा, कृषिमा परिवर्तन नगरी सम्भव छैन। यसले गर्दा ठूलो जनशक्तिले रोजगारी पाउँछ। अर्को, युवा स्वरोजगारको कुरा छ। युवा स्वरोजगारका लागि ६० लाख रुपैयाँ व्यवस्था गरेको छु। मसँग पैसा भए म यस्तो तालिम गरेर काम सुरु गर्ने थिएँ भन्ने सोच भएका युवाहरूले कुनै साहु महाजनसँग ऋण निकाल्नु पर्दैन। योजना ल्याउनुहोस्, हामी तालिम दिन्छौँ, अनुदान दिन्छौँ। व्यवसाय सुरु गर्न भन्छौँ।

मेरो कार्यकालमा कुनै त्यस्ता युवा छन् भने म भन्छु विदेश र भारतको गल्लीमा नजानुहोस्, आउनुहोस्, यतै कहीँ सीप सिकी व्यावसाय सुरु गरौँ। यसका लागि म सक्दो सहयोग गर्छु। तेस्रो कुरा, प्राविधिक शिक्षाको विषय छ। यहाँ पढ्नेका लागि यहीँ व्यवस्था छ भने बाहिर पढ्नेका लागि अनुदानको व्यवस्था छ। प्राविधिक शिक्षाले पनि बेरोजगारीको संख्या घटाउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.