काम नगर्ने ठेकेदार, नेता र कर्मचारी यसका दोषी

|

बझाङ : ‘बाजे बराजुका पालादेखिको  थाप्लोको नाम्लो छुट्ला, सडक पुगेपछि सुविधा होला भनेर खाई  नखाई श्रमदान गर्यौं। पेट काटेरै भए पनि घरको २ हजारका दरले चन्दा उठाएर रोड खन्यौँ’ जयपृथ्वी नगरपालिका-१ का बरेली कामीले भने, ‘रोड पुगेको ३ वर्ष भइसक्यो गाडी देख्न पाएका छैनौँ। हाम्रा दुख उस्तै छन्।’

सदरमुकाम चैनपुरबाट करिब १० किलोमिटरको सडक दुरीमा उनको गाउँ पुगिन्छ। तर, सेती नदीमा पानकोटको पुल नबन्दा उनका गाउँका मानिसहरु अहिले पनि खाद्यान्न, नुनतेललगायत दैनिक उपभोग्य सामान र निर्माण सामाग्रीहरु ३ घण्टा लगाएर भारी बोकेरै ढुवानी गर्छन्। तीन वर्षपहिले निर्माण सम्पन्न भइसकेको पानकोट कैलाश सडक पनि हाल प्रयोगविहीन अवस्थामा छ। 

आठ वर्षपहिले राष्ट्रिय सडक सञ्जालसँग जोडिएको बझाङ जिल्ला अधिकांश गाउँहरुमा सडक पुगिसकेको छ। १० वटा गाउँपालिका र २ वटा नगरपालिका रहेको यस जिल्लाको चीनसँग सीमा जोडिएको साइपाल गाउँपालिकाबाहेक सबै स्थानीयतहमा सडक पुगिसकेको छ। ‘साइपाल गाउँपालिका बाहेकका सबै स्थानीय तहको केन्द्रमा सडक सञ्‍जाल पुगिसकेको छ’ जिल्ला समन्वय समितिका इन्जिनियर लालबहादुर थापाले भने, ‘९४ वटा वडा कार्यालयमध्ये ८० वटा जति कार्यालयसम्म सडकले छोइसकेको छ। एक वर्षभित्र साइपाल गाउँपालिकाबाहेक जिल्लाका सबै वडा कार्यालयमा सडक पुग्छ’।

२०७० सालमा तत्कालीन जिल्ला विकास समितिले निर्माण गरेको आवधिक यातायात योजनामा जिल्लाभर रहेका सबै गाउँहरुलाई सडक सञ्‍जालमा जोड्नका लागि २ सय १४ किलोमिटर ग्रामीण सडक आवश्यक पर्ने उल्लेख गरिएको छ। यसका लागि १३ वटा सडक निर्माण गर्नुपर्छ। जसमा बित्थड, बान्नी मष्टा, बुगल, चैनपुर दिपायल, पाथिभेरे, सेती, जयपृथ्वी नगर भाँडेबगर, सुर्मा, ढँडार मष्टा, साइपाल, पैयातोला टिमुराडी, चैनपुर बजार रिङ्गरोड र खोड्पे चैनपुर सडक छन्।

 

यद्यपि, अहिले आएर सडकको संख्या र लम्बाइ पनि थप भएको बताउँदै थापाले जिल्ला भर २० भन्दा बढी रहेको र ३ सय किलोमिटर जति सडक निर्माण भइसकेको थापाले बताए। करिब ३ सय किलो मिटर सडक निर्माण भइसकेको भए पनि बागथला विजगडा (१९ किलोमिटर), भाँडेवगर जयपृथ्वीनगर (२२ किलोमिटर), मौरीबगर सैनपसेला (१८ किलोमिटर) र अन्य कम दुरी केही सडकहरुमा गरी एक सय किलो मिटर दुरीमा मात्र मुस्किलले बाह्रैमास गाडी चल्ने गरेको छ।

सेती नदीपारिका साविकका २६ गाविसमा करिब १ सय २० किलोमिटर ग्रामीण सडक निर्माण भइसकेको छ। यद्यपि, सेती नदीमा करिब ५ वर्ष पहिलादेखि देवसैन, पानकोट, तमैल र झनाना भन्ने ठाउँमा निर्माणाधीन तीनवटा पुल निर्माण नहुँदा यो सडक प्रयोगविहीन अवस्थामा छ। साबिकका ६ वटा गाविसलाई गाभेर बनाइएको खप्तड छान्ना गाउँपालिकाका बासिन्दाले हाल प्रदेश सभाका सभामुखसमेत रहेका अर्जुनबहादुर थापाको नेतृत्वमा एक व्यक्ति एक लिटर तेल अभियान सञ्‍चालन गरेर करिब ७२ किलोमिटर सडक निर्माण गरेका थिए। 

जनताको श्रमदानको अवमूल्यन भयो

लामो समयसम्म पुल निर्माण नभएपछि सडक प्रयोगविहीन भएको र जनताको श्रमदानको अवमूल्यन भएको सभामुख थापा बताउँछन्। उनी भन्छन्, ‘छोराछोरीको स्कुलको फी कटाएर, नुनतेल कटाएर चन्दा उठायौँ। सबै मिलेर सडक बनायौँ। एउटा पुल नबनेका कारण  निर्माण भएको ४/५ वर्षसम्म पनि सडक राम्रोसँग सञ्‍चालन हुन नसक्नु दुखद कुरा हो।’

काम गर्ने ठेकेदार, नेता र कर्मचारी दोषी

ठेकेदारको लापरबाहीमाथि राजनीतिककर्मी र कर्मचारीहरूले निगरानी गर्न नसकेका कारण बनिसकेको सडक पनि प्रयोगविहीन भएको र भारी बोक्नुपर्ने अवस्थामा परिवर्तन हुन नसकेको  स्थानीयको भनाइ छ। ‘ठेकेदारहरूलाई नेता र कर्मचारीले काखी च्याप्ने काम गर्नाले यस्तो अवस्था आएको हो,’ जयपृथ्वी नगरपालिकाका चन्द्रबहादुर सिंहले भने, ‘समयमा काम गर्न नसक्ने ठेकदारलाई कारबाहीको पहल नगर्ने नेता र कर्मचारीहरु यसका दोषी हुन्।

उनीहरुकै कारण सडक बनेर पनि थाप्लोको भारी छुट्न सकेको छैन।’ सेती नदीमा निर्माणाधीन ३ वटा पुल छिटो सम्पन्न हुन सके बझाङीहरुको सडक सपना पूरा हुने भएकोले र यसको निर्माण सम्पन्न गराउनका लागि जिल्ला समन्वय समितिले ताकेता गरिरहेको जिल्ला समन्वय समितिका अध्यक्ष खड्कबहादुर खड्काले बताए। उनले सेतीका ठूला पुलहरु निर्माण सम्पन्न भइसकेपछि अन्य साना खोलामा पनि पक्की पुल निर्माण गर्नका लागि स्थानीय निकायहरूमार्फत पहल गरिने र २ वर्षभित्र जिल्लाका सबै गाउँलाई यातायात सञ्‍जालमा जोडिने बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.