|

काठमाडौं : डा.केदार नरसिंह केसी, राजनीतिसँगै चिकित्सा पेसामा पनि चिनिएको नाम हो। फिजिसियन डा. केसी तीन दशकदेखि राजनीतिसँगै चिकित्सा पेसालाई पनि निरन्तरता दिइरहेका छन्। 

हुन त उनी आफैँमा परिचित व्यक्ति हुन्, तर उनका दाइ नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीको नामले उनको परिचयलाई थप प्रस्ट बनाएको छ। उनले अहिलेसम्म न चिकित्सा पेसा नै छाडेका छन् न राजनीति नै। उनी नेपाली कांग्रेसनिकट चिकित्सकहरूका विभिन्न संगठनमा बस्दै १० वर्षदेखि राजनीतिमा सक्रियाताका साथ लागि रहेका छन्। उनी १० वर्षदेखि निरन्तर नेपाली कांग्रेसको महासमिति सदस्यसमेत हुन्। 

राजनीति र चिकित्सा क्षेत्र अलग पाटा हुन्, तर दुवै समाज सेवा। चिकित्सा पेसाले पनि समाजमा प्रत्यक्ष रूपमा सेवा गरिरहेको हुन्छ। उनी आफ्ना दुवै पेसालाई अलग ठान्छन् तर दुवैले समाज सेवा नै गर्ने भएका कारण दुवै क्षेत्रमा आफू रमाइरहेको बताउँछन्। ‘यी दुवै क्षेत्र अलक हुन्’, उनी भन्छन्, ‘तर यी दुवैको निष्कर्षको बिन्दु भनेको समाज सेवा हो। त्यस कारणमा जीवनपर्यन्तसम्म यी दुवै पेसा गर्नेछु।’ 

राजनीति र चिकित्सा क्षेत्र फरक र कठिन पेसा भएको उनको बुझाइ छ। तर उनी दुवै पेसालाई व्यवस्थापन गर्दै अघि बढेका छन्। ‘दुवै क्षेत्र कठिन छन्। समय व्यवस्थापन गर्न नसक्नेले यी दुई क्षेत्रमा हात हाल्न नै गाह्रो छ’, उनी भन्छन्, ‘तर अहिलेसम्म मैलेचाहिँ समय व्यवस्थापन गरेकै छु।’

शिक्षा र स्वास्थ्य क्षेत्र सबै नेपालीको पहुँचमा पुगोस् भन्ने उनी चाहन्छन्। स्वास्थ्य र शिक्षाले मात्र देशलाई गरिबीबाट उन्मुक्ति दिन सक्छ भन्ने उनको तर्क छ। ‘शिक्षा र स्वास्थ्यले मात्र देशले विकास गर्न सक्छ। स्वास्थ्यको क्षेत्रमा म निरन्तर लागिरहन्छु’, उनी भन्छन्, ‘तर, त्यही शिक्षा र स्वास्थ्यलाई दूरदराजको गाउँसम्म पुर्‍याउने काम राजनीतिले गर्छ। त्यसैले म दुवै क्षेत्रमा लागेको हुँ।’

राजनीति कार्यक्रममा पनि सहभागी हुनुपर्ने र चिकित्सकको सेवामा पनि निरन्तर खटिनुपर्ने भएकाले उनलाई कहिलेकाहीँ निकै समस्या हुन्छ। ‘पेसामा कुनलाई प्राथमिकता दिने भन्ने हुन्छ। हुन त म एउटा राजनीतिकर्मी राजनीतिलाई पनि उतिकै महत्त्व दिनुपर्ने हुन्छ’, उनी भन्छन्, ‘तर, मैले मेरो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई राखेको छु।’

उनले लामो समयसम्म राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशकको रूपमा सेवा गरे। अहिले पनि उनी त्यतिकै व्यस्त डाक्टर हुन्। उनी अहिले बिपी स्मृति सहकारी अस्पतालको अध्यक्ष छन्।

कांग्रेसनिकट नेपाल विद्यार्थी संघको स्थापना हुँदादेखि नै प्रतिनिधि बन्दै राजनीतिमा प्रवेश गरेका केसी नेपाल चिकित्सक संघमा पनि विभिन्न पदमा रहेर काम गरिसकेका छन्। उनी अहिले प्रजातान्त्रिक विचार समाजको अध्यक्षसमेत हुन्। राजनीतिमा समाज र परिवारको प्रभाव पर्छ। उनीमा पनि त्यो प्रभाव नपरेको भने होइन। उनका दाइ अर्जुन नरसिंह केसी लामो समयदेखि प्रजातान्त्रिक आन्दोलनमा भएका कारण उनका यसको प्रभाव पर्‍यो। भन्छन् 'कतिपय अवस्थामा एक परिवारको सदस्य राजनीति नेतृत्वमा हुँदा त्यो परिवारको सदस्यले अवसर पाउँछ।' राजनीतिमा नातावाद र परिवारवादको निकै महत्त्व हुन्छ। केदार नरसिंह पनि यो कुरा स्वीकार गर्छन्। तर, आफू भने त्यसको विरोधी भएको बताउँछन्। 

‘राजनीतिमा नातावाद र परिवारवादको निकै महत्त्व हुन्छ, नेपालको राजनीतिमा धेरै नातावाद र परिवारवाद हाबी भएको पाइन्छ’, उनी भन्छन्, ‘यो प्रक्रिया गलत हो। यसको म सधैँ विरोध गर्छु। हुन त घरमा कोही परिवारको सदस्य राजनीतिमा छ भने उसको परिवारमा राजनीतिक चेत अली बढी नै हुन्छ, तर त्यो भन्दैमा नातावादलाई बढुवा दिनुहुँदैन। म पनि परिवारका कारण राजनीतिमा यहाँसम्म आएको होइन।’ 

राजनीतिमा क्षमता र योग्यताको कदर हुनुपर्ने उनी बताउँछन्। ‘राजनीतिमा आउँदा परिवारवाद होइन, क्षमताको कदर गरिनुपर्छ। उसले पार्टीका लागि कति काम गरेको छ त्यसको मूल्यांकन हुनुपर्छ।’ उनले पूर्णकालीन राजनीतिमा आउने इच्छा जनाएका छैनन्। यसगरी दुवै क्षेत्रबाट समाजको सेवा गर्ने उनको योजना छ। ‘मैले सकेसम्म दुवै क्षेत्रलाई निरन्तरता दिने सोचेको छु’, उनी भन्छन्,‘तर राजनीतिमा सम्‍भावना धेरै हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.