|

पर्वत : थोरै मेहनत र छोटो समयमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि कुश्मा नगरपालिकाका किसान किबी खेतीतर्फ आकर्षित भएका छन्।

नगरपालिकाका विभिन्न वडामा किबी खेतीको विस्तार अभियान थालिएको छ। एक हजार ४०० मिटरभन्दा माथिको उचाइमा किबीको उत्पादन लिन सकिन्छ। कुश्मा नगरपालिका–३ दुर्लुङका खेम गुरुङ विगत चार वर्षदेखि एक रोपनी क्षेत्रफलमा किबी खेती गर्दै आएका छन्। पर्याप्त फल दिन थालेपछि नगरपालिकाका सबै वडामा किबी खेतीको विस्तार गर्न थालिएको नगरप्रमुख रामचन्द्र जोशीले बताए।

कुश्मा नगरपालिका–३ दुर्लुङ, १२ ठूलीपोखरी, वडा नं १३ खौलालाकुरी र वडा नं १४ आर्थर डाँडाखर्कमा किबी खेती विस्तार गर्न लागिएको हो। यसका लागि कृषकलाई तालीम प्रदान गरिनुका साथै खेती गर्न सहयोग गरिनेछ।

'चालू आवमा एक हजारभन्दा बढी किबीका बिरुवा रोपिनेछ,' जोशीले भने। लमजुङ र सिन्धुलीबाट बिरुवा खरीद गर्ने तयारीमा नगरपालिका छ। बाँझो जमीनको सदुपयोग गर्न किबी खेती विस्तार गर्न लागिएको जोशीको भनाइ छ।

जिल्लामा मोदी गाउँपालिकाको भुकताङ्ले र चित्रे तथा जलजला गाउँपालिकाको लेखफाँट र शालिजामा किवी खेती गरिँदै आएको छ। किबीको फल र बिरुवा दुवैबाट फाइदा लिन सकिन्छ। एउटै रुखमा ५० देखि ७० किलोसम्म फल लाग्छ भने प्रतिकिलो रु ४०० देखि रु ६०० सम्ममा बिक्री हुँदै आएको छ। यहाँ सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी र मन्टी जातको किबीको खेती गर्ने गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.