|

सुनसरी : जिल्लाको हरिनगर गाउँपालिका २ मा अपरिचित समूहको गोली प्रहारबाट स्थानीय मौलाना खुर्शिद अन्सारीको ज्यान गएपछि सो क्षेत्रमा तनाव उत्पन्न भएको छ। मौलाना हत्याको विरोधमा भुटाहा बजार क्षेत्रमा टायर बाली प्रदर्शन हुन थालेपछि त्यहाँ तनावको स्थिति सिर्जना भएको हो। सो क्षेत्रमा बाक्लो सुरक्षाकर्मी तैनाथ गरिएको छ।

प्रदर्शनकारीले मौलानाको शव बाटोमा राखेर प्रदर्शन गरेका छन्। घटना निरीक्षण तथा अनुसन्धानका लागि सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीसहित सशस्त्रको टोली घटनास्थलमा छ। गोली प्रहार गरी भाग्ने क्रममा भारतीय सुटरले प्रहरीमाथि पनि गोली चलाएको थियो। घटना हुन साथ भुटाहा चौकीबाट परिचालित प्रहरी टोलीले बाटोमा छेक्ने क्रममा प्रहरीमाथि गोली प्रहार गरेका थिए। सो क्रममा प्रहरी जवान शिवलाल पौडेल गम्भीर घाइते भएका छन्। पौडेललाई तीन वटा गोली लागेको बताइएको छ। पौडेलको दाहिने तीघ्रा तथा कम्मर मुनिको भागमा गोली लागेको सुनसरी प्रहरीले जनाएको छ। उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ। 

गोली प्रहार गर्ने समूह भारत तर्फ नै भागेको प्रत्यक्षदर्शीले बताए। अन्सारीको तत्कालीन नेकपा एमालेका सुनसरी जिल्ला सल्लाहकार पनि हुन्। उनी मौलना भएका कारण पनि उनी भारत-नेपाल आवत-जावत गरिरन्थे। उनीमाथि के कारणले गोली प्रहार भयो भन्ने विषय शंकाष्पद रहेको बताइएको छ।

गोली प्रहार गरिएको स्थानदेखि भारतीय सीमा करिब ३ किलोमिटर मात्रको दूरीमा छ। यता हरिनगरका स्थानीयले गोली प्रहार भएको घटना तत्काल जानकारी गराउँदा पनि सशस्त्र प्रहरी नआएको प्रति आक्रोशित बनेका छन्। सशस्त्र प्रहरी कै अगाडि सुटर समूह भाग्दा समेत प्रहरीले केही नगरेको नेकपाका एक जिल्ला सदस्यले जानकारी दिए। 

भुटाहामा सशस्त्र प्रहरी बलको डिएसपी कमाण्डमा क्याप समेत रहेको छ। यता प्रहरी पनि घटनास्थलमा ढिलो आइपुगेको भन्दै स्थानीयले प्रहरीबिरुद्ध आक्रोशित बनेका हुन्। अहिले स्थानीयले मौलानाको शव प्रहरीसँग खोसेर सडकमा राखेर प्रशासनबिरुद्ध नाराबाजी गरिहेको छन्।

स्थानीयले हरिनगरका बिभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.