|

लहान : सिरहाको गोलबजार नगरपालिका ३ पुरानोडिहका स्थानीयले सुतेकै ठाउँमा खुकुरी प्रहार गरी हत्या गरिएका ३८ वर्षीय हेमबहादुर ब्लोन तामाङकाे हत्यारा पत्ता लगाउन २४ घण्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका छन्। स्थानीयले इलाका प्रहरी कार्यालय गोलबजार, नगरपालिका र वडा कार्यालयमा २४ घण्टाभित्र हत्यारा पत्ता नलगाइए तालाबन्दीसहित आन्दोलन गर्ने चेतावनीसहित बिहीबार ज्ञापन पत्र बुझाएका हुन्।

स्थानीयले हत्या भएको पाँच दिन बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेको, सूक्ष्म र मिहीन अनुसन्धान नगरिएको, अपराधीको सुराक पत्ता लगाउन नसकेको आरोप लगाउँदै ज्ञापन पत्र बुझाएका हुन्। पछिल्लो भदौ ३१ गते राति श्रीमती र छोरासँगै खुल्ला घरमा सुतेको अवस्थामा हत्या भएको पाँच दिन बित्दा समेत अपराधी पक्राउ पर्न नसकेपछि गोलबजार प्रहरी ठूलो दबाबमा परेको छ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राम ढकालका अनुसार  घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ। प्रहरी निरीक्षक ढकाल भन्छन् ‘शंकाको आधारमा नौजनालाई नियन्त्रणमा लिएर सोधपूछ गरेका छौं। गाउँलेसँग भएको कुराकानीलाई आधार बनाएर पनि अनुसन्धान हुँदैछ।’ 
तामाङकाे हत्या भएको भोलिपल्ट असोज १ गते बिहान १ नं. संघीय इकाई प्रहरी कार्यालय विराटनगरबाट ल्याइएको कुकुर परिचालन गरिएको भए पनि त्यति प्रभावकारी नभएको प्रहरी निरीक्षक ढकाल बताउँछन्।

प्रहरीले घटनास्थलको करिब ५० मिटर पर बारीमा हत्यामा प्रयोग गएिको खुकुरी समेत बरामद गरेको थियो। घटनाको अनुसन्धानको क्रममा प्रहरीले पछिल्लो पटक मंगलबार साँझ मृतककी श्रीमती र छोरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक ढकालको कथन छ।

गोलबजार नगरपालिका १० की ५५ वर्षीया कारीदेवी यादवको अपहरण र हत्या भएको ११ औं दिन भदौ ५ मा चक्काजाम गर्दै मृतककी जेठाजु र र भतिजोलाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएदेखि नै अनुसन्धानमा गोलबजार प्रहरीको भूमिकाप्रति नगरबासीले औंला उठाउँदै आएका छन्।

स्थानीय बासिन्दाको आन्दोलनपछि नेपाल प्रहरीको जिल्ला नेतृत्वले तत्कालीन इप्रका इञ्चार्ज भगिरथ रेग्मी र मुद्दा फाँट प्रमुख मनिष थापालाई जिल्ला तानेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.