|

डडेल्धुरा : डडेल्धुरा नवदुर्गा गाउँपालिकाका विभिन्न गाउँमा खानेपानीको चरम अभाव भएको छ। गाउँनजिकै कुनै पनि पानीको स्रोत नभएका कारण यहाँका विभिन्न स्थानमा खानेपानीको आभाव भएको हो।

सरकारले सबैका लागि खानेपानी अनिवार्य भने तापनि नवदुर्गा गाउँपालिकामा खानेपानीको निकै समस्या छ। गाउँपालिका ५ मा रहेका ठाँटा बजार, कुणी, खाणँखोरी दुलौना, मल्लाउ, लग्ना र उनिउगैर गरी विभिन्न गाउँका महिला र बालबालिकाको बिहान चार बजे उठेर खानेपानीको जोहो गर्नु दैनिकी नै बनेको छ।

घण्टौँको दूरीमा रहेको मुहानबाट हरेक बिहान खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता यहाँका स्थानीयको छ। दैनिक ३÷४ घण्टा हिँडेर पानीको मुहानमा उनिहरुले पालो पर्खनु पर्ने हुन्छ। जम्मा ८ सय घरधुरीको उक्त वडाको जनसंख्या ६ हजार ५ सय छ।

नजिकै स्रोत नहुँदा यहाँका स्थानीय कुवा र खालीको फोहोर पानी खान बाध्य भएका छन्। यहाँका स्थानीयबासीन्दालाई एक गाग्री पानीका लागि पनि चारदेखि पाँच घण्टासम्म पालो कुर्नुपर्ने बाध्यता रहेको छ। 

पानी ल्याउनका लागि घरका मानिसले पालो लगाउनुपर्ने भएकाले विद्यालय छोडेर पनि बालबालिकाहरु पानी भर्ने गरेका छन्। गाईगोरुलाई पानी खुवाउनदेखि लत्ता कपडाका साथै नुहाउनका लागि तिन चार घण्टाको पैदल दूरी हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय सरस्वती साउँदले बताइन्। 

‘पानी ल्याउनको लागि धेरै टाढा जानुपर्छ। बिहानै चार बजे उठेर पानी ल्याउनका लागि जानुपर्छ अनि त्यहाँ पनि गाउँका अन्य मान्छेहरू पनि लाइनमा बसेका हुन्छन्।’ उनले भनिन्,‘सबै लाइनमा बसेका हुन्छन्,एक–दुई घण्टा पानी भर्न नै लाग्छ। उताबाट फर्किदासम्म दुईदेखि तीन घण्टासम्म लाग्छ।’

पानी ल्याउन जाने बाटो पनि राम्रो नहुँदा आफूलाई धेरै दुख खेप्नुपरेको बताउँछिन् स्थानीय पार्वतीदेवी साउँद। उनी भन्छिन्,–‘उकालो चढेर पानी ल्यान जानुपर्छ। बाटो पनि राम्रो छैन। बाटो राम्रो नहुँदा पानी ल्याउँदा धेरै दिन लडिएको पनि छ।’

खानेपानीको अभावमा बिहेमा पानी पैचो !

खानेपानीको अभावमा बिहेमा समेत खानेपानी पैँचो दिनुपर्ने यहाँका स्थानीय बताउँछन्। प्रति ३० लिटरको ग्यालेन ७५ रुपैयाँ तिरेर खानेपानी किन्नुपर्ने बाध्यता रहेको स्थानीय वृद्ध लालबहादुर साँउदले बताए।

‘हाम्रो यहाँ खानेपानीको अभावमा बिहेमा खानेपानी पैचो दिनुपर्छ।’ उनले भने,–‘छिमेकीको छोराको बिहेमा मेरो घरका श्रीमती गएपछि मात्रै मेरो छोरोको बिहेमा पानी खान पाउँछु, नत्र पाउँदैन। पानी धेरै नै समस्या छ यहाँ।’

‘मेरो बाटोमा घर छ।’ उनले अघि थपे,‘यताउता आउनेजाने मान्छे पानी दिनै पर्‍यो। नदिऊँ भने पनि बदनाम हुन्छ। पानी दिऊँ भने पनि पानी किन्नुपर्छ।’ प्रयाप्त पानी अभावमा यहाँका नागरिकलाई सरसफाइदेखि लत्ता कपडा धुनका लागि पनि समस्या भइरहेको छ ।

पानी भर्नमै समय बित्ने भएकाले त्यहाँ विद्यार्थीहरुको पठनपाठन तथा दैनिक कामकाम समेत बाधा पुगेको उनको भनाइ छ। वषौँदेखि खानेपानीको समस्या भोगिरहेका यहाँका स्थानीयले समस्या समाधान गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरेका छन्। 

यसबारे के भन्छन् जनप्रतिनिधि?

खानेपानीको चरम अभाव भएको उक्त वडामा सर्भे भइसकेको र बजेटसमेत छुट्याएको वडा कार्यालयले जनाएको छ। वडाका सबै गाउँमा खानेपानीको व्यवस्थापन हुने गरी खानेपानी योजना निर्माण सुरु गर्नका लागि आफूले संघीय सरकारसँग आग्रह गरेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले बताए। 

‘पानीको यहाँ निकै नै समस्या छ। पानी किनेर ल्यानुपर्ने, पानी पैँचो दिनुपर्ने समस्या छ।’ गाउँपालिका अध्यक्ष विष्टले भने, ‘यो समस्या समाधान गर्नको लागि गत आर्थिक वर्षमा डिपिआर बनाएका छौँ।’ 

उनले पानीको मुहान गाउँभन्दा तल भएको हुनाले तलबाट पानी गाउँमा तान्नको लागि बजेट पनि बढी लाग्ने बताए। गाउँमा खानेपानी ल्याउनका लागि अझै १० करोड जति बजेट आवश्यक रहेको उनको भनाइ छ।

‘पानी गाउँमा ल्याउनका लागि अझै १० करोड जति बजेट चाहिन्छ। जति रकम खर्च गर्ने गाउँपालिकासँग समर्थय छैन।’ उनले भने, ‘डिपिआर बनाइसकेपछि गाउँसभा मार्फत पारित गरी संघीय सरकार कहाँ पुर्‍याएको छु।’ यस ठाउँको खानेपानी समस्या लगरे आफू दुईतीन पटक खानेपानी मन्त्रीको पुगेको उनले बताए। मन्त्रीबाट यस ठाउँको खानेपानी समस्या समाधान गर्ने आश्वासन मिलेको उनको भनाइ छ। अर्को आर्थिक वर्षमा यहाँ खोनेपानी संचालन गर्ने खानेपानी मन्त्रीले आफूलाई विश्वास दिलाएको उनले सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.