|

काठमाडौं : यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र सरोकारवाला निकाय बिच गतसाता भएको सहमतिअनुसार नयाँ बसपार्कमा शुक्रबार |(आज) बाट दसैँको टिकट बुकिङ खुला हुनुपर्ने हाे। कतिपय यात्रुहरु टिकट बुकिङ गर्न बिहानै नयाँ बसपार्क पुगेका छन्। टिकट काउण्टरका मान्छे भन्छन् 'लफडा छ केही समय पर्खनु है।'

यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य कुमार ढकाल दसै‌ँको टिकट बुकिङ गर्न नयाँ बसपार्क जान सर्वसाधरलाई आग्रह गरेका छन्। यातायात व्यवसायी भने सरकारले हामीसँग गरेको सहमति तोडेका कारण टिकट खुलाउन नसकेकाे बताउँछन्। यसैको अन्योलमा सर्वसाधरण रहेका छन्।

नेपाल आयल निगमले असोज १ गते राति पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएपछि यातयात व्यवसायी अग्रिम टिकट बुकिङ नखोल्ने निर्णयमा पुगेका हुन्। मूल्यवृद्धि फिर्ता लिनका लागि दिइएको २४ घण्टे अल्टिमेटम सरकारले नसुनेपछि आफूहरुले बाध्य भएर टिकट बुकिङ खोल्न नसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए। ‘हामी चाहिँ भाडा नबढाइ यात्रुलाई सेवा दिन तयार हुने अनि सरकार चाहिँ तेलको भाउ बढाइरहने? सिटाैला प्रतिप्रश्न गर्दै भने,  हामीले केही घाटा खाएका छौं भने अझ बढि जिम्मेवार हुनुपर्ने सरकारलाई चाहिँ घाटा हुनै नहुने? चाडवाडका बेला सहुलियत दिनुपर्नेमा उल्टो पेट्रोलियम पदार्थको भाउ बढाएर सरकारले नै अग्रिम टिकट बुकिङ खोल्न नसक्ने वातावरण निर्माण गरेको उनको आरोप छ।

सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म टिकट बुकिङ नखोलिने सिटौलाले बताए। उता नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले स्वचालित मूल्य प्रणालीअनुसार भाडा बढेको र विगतका तुलनामा पेट्रोलियम पदार्थको मूल्य न्यून भएको दाबी गरे।

'हामीले पटक पटक मूल्य समायोजन गरेर घटाएका पनि छौँ, २०७१ सालको तुलनामा अहिले मूल्य कम पनि छ तर उहाँहरुले यो बीचमा भाडा त घटाउनु भएन' निगमका निमित्त कार्यकारी निर्देशक भट्टराइले भने 'पेट्रोलको मूल्य बढेको कारण बुकिङ खुलाउदिन भन्नु बाहानावाजी मात्रै हो।'

यातायात व्यवस्था विभागले भने सबै तयारी गरिसकेकाले टिकट बुकिङ खुला रहेको दाबी गरेको छ। ‘यातयात व्यवसायीसँग टिकट बुकिङ खोल्ने सहमति भइसकेपछि हामीले नयाँ बसपार्कमा अनुगमन टोली खटाइसकेका छौं, विभागका प्रवक्ता गोकर्ण उपाध्यायले भने, हामीलाई अहिलेसम्म टिकट नकाटिएको भन्ने खबर आएको छैन।’ टिकट बुकिङ नभएको भन्ने जानकारी आएमा यातायात व्यवसायीसँग बसेर तत्काल समस्या समाधान गरि बुकिङ खोलिने उपाध्यायको भनाइ छ। प्रत्येक दसैँमा २० लाख भन्दा बढी मानिस काठमाडौंबाट बाहिरिने गरेका छन्।

गुड्ने यातायातमा मात्रै हैन उड्ने समेत उस्तै समस्या छ। सामानय अवस्थामा काठमाडौंबाट औषत तीन हजार ५०० मा पाइने टिकट दसैं अघिका नौ दिनको लागि छ हजार ४०० मूल्य तोकिएको छ। सरकारले टिकट बिङ नभएको र हवाइ भाडा मनपिर वृद्धि गरेकाे विषयमा चासो नदेखाएको यात्रुहरूले गुनासो गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.