मनोकामना पूरा भएको खुसियालीमा मनाइने पर्व

|

बाँके : इस्लाम धर्मावलम्बीहरूको नेपालगञ्जमा ताजिया राख्ने होडवाजी नै चलेको छ। नेपालगञ्जको गणेशपुर चोक र नेपालगन्ज उपमहानगरपालिका-७, गगनगन्जस्थित पीपल चौतारामा दुई–दुई लाख रुपैयाँ बराबरका ताजिया राखिएको छ। गणेशपुर चोकमा ५०/६० फिटको ताजिया र गगनगञ्जस्थित पिपल चौतारामा चाँदीको ताजिया राखिएको हाजी शकिल अहमद कादरीले बताए। उनले बाँकेमा एक करोड रुपैयाँ बराबरको ताजिया राखिएको जानकारी दिए। 

उनले महँगो, ठूलो र बुट्टेदार ताजिया राख्ने बाँकेमा होड्बाजी हुने गरेको बताए। को भन्दा को कम भन्दै अर्काको भन्दा राम्रो, महँगो र ठूलो ताजिया राख्ने गरेको बताउँदै उनले हरेक वर्ष ताजिया राख्नेको संख्या बढ्दै गएको बताए। ‘संख्या मात्र होइन, महँगो र ठूलो ताजिया राख्ने क्रम समेत बढेको छ,’ उनले भने। नेपालगन्ज उपमहानगरपालिका-१६, जयसपुरका हनिफ अन्सारीले ५० बढि साना–ठूलो ताजिया बनाएर बिक्री गरेका छन्। उनले यस वर्ष एकलाख रुपैयाँको ताजिया बिक्री गरेको बताए।

मिहिनेत र  लागत अनुसारको मोल पाएपछि उनले विगत १० वर्षदेखि ताजिया बनाउँदै आएका छन्। उनले एक सयदेखि आठ हजार रुपैयाँमा ताजिया बिक्री गरेको बताए। उनले भने, ‘धनीलाई मात्र लक्षित गर्ने हो भने गरिबले किन्न सक्दैनन्, गरिबलाई मात्र लक्षित गरे धनीले किन्दैनन्।’  

नेपालगञ्जको जयसपुरमा हरेक वर्ष साना–ठूला गरी १० हजार ताजिया निर्माण हुने गरेको स्थानीय शेराज अन्सारीले बताए। उनले जयसपुरका एक–दुई घरबाहेक प्रायः जसोले बिक्रीका लागि ताजिया बनाउने गरेको जानकारी दिए। एक घरमा कम्तीमा १५–२० वटा ताजिया बनाएर बिक्री गर्दैै आएको उनको भनाइ छ।

जयसपुरमा ताजिया किन्न रनियापुर, कोहलपुर, राप्तीपारी नरैनापुर गाउँपालिका र भारतको बाबागन्ज, नवावगन्ज, रुपईडिहालगायत ठाउँका सर्वसाधारण आउने गरेको हनिफले बताए। ताजिया किन्न धेरै रकम खर्च गरेर टाढा–टाढाबाट सर्वसाधारण आउने गरेको उनको भनाइ छ।

ताजियाको महत्व

बिहीबार घर–घरमा ताजिया राखेका इस्लाम धर्मावलम्बीले शुक्रबार दिउँसो कर्वलामा लगेर विर्सजन गर्ने भएका छन्। आफूले मागेको र चिताएको मनोकामना पूरा भएको खुसियाली र इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको छोरीको छोरा इस्लाम धर्मका संरक्षक धर्मगुरु हजरत इमाम हुसैनको सम्झनामा ताजिया राख्ने गरिएको मौलाना जब्बार मन्जरीले बताए।

हिजरीको पहिलो महिना मोहर्रमको १० तारिखका दिन इस्लामका संरक्षक धर्मगुरु हुसैनले इस्लाम धर्म बचाउने क्रममा इराकको बगदादस्थित कर्बलामा सहादत प्राप्त गरेको सम्झनामा हरेक इस्लाम धर्मावलम्वीले आ–आफ्नो घरमा ताजिया राखेर सम्झिने गरेको उनले बताए। आजभन्दा १४ सय वर्षपहिले हुसैनसँगै परिवारका ७२ जना सदस्य सहिद भएका थिए। ‘इस्लाम धर्मका संरक्षक धर्मगुरु हुसैनले सहादत प्राप्त गरेको दिनको स्मरणमा ताजिया राख्ने प्रचलन छ,’ मौलाना जब्बार मन्जरीले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.