पर्वत : फलेवास नगरपालिका ३ शंकरपोखरीस्थित रुग्दीकी द्रुपता पौडेल उमेरले ७० पुगिन्। शारीरिक रूपमा कमजोर बने पनि घरखर्च चलाउन उनलाई अरुको मुख ताक्नुपरेको छैन।
बुढेसकाल लागेका कारण घरयासी सबै काम गर्न नसक्ने भएपछि उनले बसेको समयमा पूजाआजामा प्रयोग गरिने धागो र कपासबाट बत्ती (ज्योति) कात्छिन्। यो काम घरव्यवहार चलाउने राम्रो माध्यम बनेको छ। बुढेसकालमा पनि आत्मनिर्भर बन्न पाउँदा चाउरी परेको उनको मुहारमा खुशी देखिन्छ। जाडोमा घाम ताप्दै र गर्मीमा शीतलमा बस्दै उनी बत्ती कात्न व्यस्त हुन्छिन्।
‘खेतबारीमा गएर सबै काम गर्न सक्न छोडियो। बाँच्नको लागि पैसा चाहियो', द्रुपताले भनिन्, 'सरकारले वृद्ध भत्ता दिए पनि त्यसले त कहाँ पुग्छ र! त्यसैले बत्ती कातेरै घर व्यवहार चलाउँदै आएकी छु।’ पौडेलका दुई छोरी र दुई छोरा छन्। दुवै छोरी बिहे भएर गइसकेको छ। एक छोरा छुट्टिएर बसेका छन्। अर्को छोराको परिवार नवलपरासीमा बस्दै आएको छ।
अधबैँसे उमेरमा नै एकल बन्न पुगेकी उनले आफूभन्दा सानो उमेरमा एकल बनेकी आमालाई पाल्दै आएकी छिन्। हो, उनको साथमा ८७ वर्षकी आमा मात्र छिन्। बुढेसकाल नै भए पनि उनले हल खोजेर खेती लगाउँछिन्। बाख्रापाठा र भैँसी पनि पालेकी छिन्। आमाले भान्साको काम उम्काउँछिन् भने द्रुपताले घर बाहिरको काम सम्हाल्छिन। ती सबै कामका लागि बत्ती कातेरै आएको आम्दानीले साथ दिएको छ।
उनले अहिलेसम्म लाखौँ बत्ती बिक्री गरेकी छिन्। प्रतिलाख बत्तीलाई उनी १० देखि १२ हजार रुपैयाँसम्ममा बेच्छिन्। यो आम्दानीले घर व्यवहार चलाउन समस्या नभएको उनको भनाइ छ। पौडेल भन्छिन्, ‘आमाको र मेरो वृद्ध भत्ताबाहेक बत्ती बेचेर पैसा आउँछ। यसैले सबै घरखर्च चलाएका छौँ।’ उनले अगाडि थपिन्, ‘पहिले रेट अलि सस्तो थियो अहिले भने राम्रै भएको छ। आमा छोरीले नै बसेको बेलामा बत्ती बनाउँछौँ।’
भान्साको कामबाट उम्किएपछि आमाले पनि बत्ती बनाउँछिन्। उनीहरू दुवै जना मिलेर झण्डै तीन महिनामा एक लाख बत्ती निर्माण गरिसक्छन्। उनीहरूसँग बत्ती तयार हुनासाथ ग्राहकले पूजाआजाका लागि किनेर लगिहाल्छन्। 'अर्डर'अनुसार बत्ती बनाउन नसकेको सुनाउँदै उनले भनिन, ‘पोखरा, घान्द्रुक, कुश्मा, आरुचौरबाट पनि फोन गर्छन्। हातमै पैसा दिन्छन्। लान्छन्।’
बजारमा मेसिनले बनाएका भन्दा हातले बनाएका बत्तीकाे माग रहेकाे उनी बताउँछिन्। विधिपूर्वक बनाउने हुनाले अाफूले बनाएका बत्तीको माग बढेको उनको बुझाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।