|

तेह्रथुम : पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको वसन्तपुर–गुफा सडकखण्ड शिलान्यास भएको छब्बीस वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा नहुँदा त्यस क्षेत्रका बासिन्दा खच्चडकै भर पर्नु परेको छ।

सडक बनेपछि ट्रकले गाउँसम्म खाद्यान्नलगायत उपभोग्य वस्तु बोकेर ल्याइदिन्छ भन्ने गाउँवासीको आशा सडक खन्न थालेको दुई दशकसम्म पनि पूरा हुन सकेन। तेह्रथुमको वसन्तपुरदेखि सङ्खुवासभाको गुफा जोड्ने २८ किलोमिटर सडकमा अझै सहज हुन सकेको छैन। गाउँले खच्चड र पिठ्यूँमा फोका उठाउँदै नजिकिएका पर्वका लागि उपभोग्य वस्तु बोक्न बाध्य छन्। शुरुमा वसन्तपुर गुफा सडक आयोजना, त्यसपछि तत्कालीन तेह्रथुम जिल्ला विकास समिति र हाल सडक डिभिजन कार्यालय धनकुटा र सङ्खुवासभाले यो सडक बनाइरहेका छ।

अठ्ठाइस किलोमिटर लामो यो सडक निर्माणमा हालसम्म कति बजेट खर्च भयो भन्ने हिसाब किताब आयोजना, जिविस र सडक डिभिजन तीनवटै निकाय देखाउन आनाकानी गर्छन्। पहिलेको रेकर्ड हराएको, नभेटिएको जस्ता बहाना बनाउँदै कर्मचारी एकअर्कालाई दोष लगाउँदै आफू पन्छिन्छन्।

यो सडक निर्माणमा देशको ठूलो धनराशि खर्च भएको चौकी बजारका उदयकुमार ल्होले बताउनुभयो । गत वर्षदेखि यो सडकलाई सरकारले राष्ट्रिय गौरवको आयोजनमा समेटी मदन भण्डारी लोकमार्ग नाम दिएर बजेट विनियोजन गरेको छ। वसन्तपुरबाट पाँचपोखरी, चौकी, मङ्गलबारे, गुफा हुँदै निर्माण गरिएको यो सडकमा सवारी सञ्चालन हुन नसकेपछि दसैंका लागि अहिल्यैदेखि चौँरी र खच्चडमार्फत सामान ढुवानी गर्न थालेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.