|

काठमाडौं : नेपालको न्यायपालिकामा ‘बोल्ड’ न्यायमूर्तिको परिचय बनाएकी सर्वोच्च अदालतकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीले अवकास प्राप्त गरेको केही समयभित्रै संस्मरणकृति ‘न्याय’ लेखेकी छन्। न्याय क्षेत्रको लामो अनुभव, पेसागत जीवनमा आइपरेका आरोह अवरोह, गाह्रा सजिला सबै पक्षलाई आफूले सकेसम्म इमान्दारीसाथ पुस्तकमा प्रस्तुत गरेको बताउँछिन् कार्की।

सत्य र इमान्दारीबाट जीवनभर पछि हट्नु नपरेकोमा गर्व गर्ने कार्की अब पनि सत्य र इमान्दारीका साथ नै बाँच्ने बताउँछिन्। नेपालको न्याय क्षेत्र विकृत भएकामा अत्यन्तै चिन्ता लागेको र यसको सुधारका लागि आफू सदैव लागिपरेको उल्लेख गर्दै कार्की न्यायपालिकालाई सही बाटोमा ल्याउनकै लागि पनि आफूले ‘न्याय’ पुस्तक लेखेको दाबी गर्छिन्।

आफ्नो जीवनका सुरुवाती अवस्थादेखि केही समयअघि न्यायका लागि अनशनरत गंगामाया अधिकारीको अनसनमा ऐक्यवद्धता जनाउनुका कारणसम्म पुस्तकमा उल्लेख गरेकी छन् उनले। ‘मैले किन गंगामायाको आन्दोलनमा समर्थन गरेँ भन्नेसम्मका विषयमा पुस्तकमा लेखेकी छु’, कार्कीले भनिन्।

सेवाबाट अवकास प्राप्त गरिसकेपछि तुरुन्तै उनले न्याय क्षेत्रकै विषयमा केन्द्रित रहेर पुस्तक लेखिन्, किन त? ‘म नेपालको इतिहासमै पहिलो महिला प्रधानन्यायाधीश हुँ। हाम्रो जस्तो समाजमा महिलाले मुख्य नेतृत्व गर्दा के कस्ता गाह्रा, अप्ठ्यारा आइपर्छन् भन्ने कुरा राम्ररी भोगेकी छु’, कार्की भन्छिन्, ‘मैले सामान्य आलोचनादेखि महाअभियोगसम्मका अवस्थाको सामना गर्नुपर्‍यो। यी सबै कुरा भावी पुस्ताका लागि शिक्षा हुन्, यीबारे थाहा पाउनुपर्छ भनेर पुस्तक लेखेकी हुँ।’

त्यसो त उनले आफूले न्यायसम्पादनका क्रममा गरेका महत्त्वपूर्ण फैसलाहरू पनि पुस्तकमा सारमा राखेकी छन्। यस्ता फैसलाहरूले भोलिका दिनमा न्यायसम्पादन गर्नेहरूलाई पनि मार्गदर्शन गर्नसक्ने उनको भनाइ छ। पत्रकार कनकमणि दीक्षितको मुद्दादेखि पूर्वअधिराजकुमारी प्रेरणा शाहको दाइजोको मुद्दासम्म १० वटा यस्ता फैसला उनले पुस्तकमा राखेको बताइन्।

मलाई मेरा आफ्ना मान्छेलाई जागिर खुवाउनु थिएन, कसैलाई खुसी पारेर अनावश्यक लाभ लिनु थिएन, कुनै राजनीतिक दलका मान्छेलाई भर्ना गर्नु पनि थिएन। यसर्थ प्रस्ट अडानका साथ न्यायाधीश नियुक्त गरेँ, जसले गर्दा आजसम्म न्यायसम्पादनमा नकारात्मक असर परेको छैन।’

सर्वोच्च अदालतको नेतृत्वमा रहँदा आफूलाई के कस्ता सहयोग कोकसबाट प्राप्त भए, केकस्ता असहयोग कोकसबाट भए भन्ने कुरा पनि खुलस्त ढंगले लेखेको बताउँछिन् कार्की। ‘नेपाल बार एसोसिएसन र महान्यायाधिवक्ताले समेत असहयोग गरे’, उनी भन्छिन्, ‘न्यायपालिकाभित्रका विसंगति र विकृतिबारे लेख्न हुनेजति सबै खुलस्त लेखेकी छु।’

गोपनीयताको शपथ खाएर पेसागत जीवनका गोप्य कुराहरू बाहिर ल्याएको भन्ने आलोचना हुनसक्ने भए पनि आफूले निर्ममतापूर्वक न्यायपालिकाका विकृति र विसंगति बाहिर ल्याएको उनको भनाइ छ। ‘गोपनीयताको कुरा राम्राका लागि हो, संस्थाभित्र नराम्रो काम कारवाही हुँदै छ भने गोपनीयताको कुरा जरुरी छैन’, कार्की भन्छिन्। उनले विवादास्पद ११ जना न्यायाधीश नियुक्तिको विषय सन्दर्भलाई पनि खुलस्त लेखेको बताइन्।

पछिल्लो ८० जना न्यायाधीश नियुक्तिको सन्दर्भ पनि प्रस्टसाथ उल्लेख गरेको बताउँदै उनले भनिन्, ‘मलाई मेरा आफ्ना मान्छेलाई जागिर खुवाउनु थिएन, कसैलाई खुसी पारेर अनावश्यक लाभ लिनु थिएन, कुनै राजनीतिक दलका मान्छेलाई भर्ना गर्नु पनि थिएन। यसर्थ प्रस्ट अडानका साथ न्यायाधीश नियुक्त गरेँ, जसले गर्दा आजसम्म न्यायसम्पादनमा नकारात्मक असर परेको छैन।’

संसारमै न्याय क्षेत्रका व्यक्तिहरूले आत्मकथा वा संस्मरण अत्यन्तै कम मात्र लेखेको उल्लेख गर्दै कार्कीले भनिन्, ‘तर मैले नेपालको न्यायपालिकाको हित र सुधारका लागि पनि लेख्नुपर्छ भन्ने लागेर लेखेकी हुँ।’ बुढ्यौलीमा ढल्किरहेको उमेरका कारण ढिलो गर्दा धेरै कुराहरू स्मृतिबाट गुम्ने भएकाले पनि तात्तातै पुस्तकमा संगृहीत गरेको उनको भनाइ छ। ‘अब ६७ वर्ष लाग्दै छु, स्मृति हराउँदै जान्छ विस्तारै, यही बेला घटना र स्मरण पनि ताजै भएकाले लेखिहालेकी हुँ’, कार्कीले भनिन्।

उनका श्रीमान् दुर्गा सुवेदीको केही समयअघि ‘विमान विद्रोह’ नामक संस्मरण कृति प्रकाशन भएको छ। के श्रीमान श्रीमतीको संस्मरण एकै समयमा आउनु संयोग मात्रै हो? भन्ने प्रश्नमा कार्की भन्छिन्, ‘उहाँको पुस्तक तीन वर्षअघि नै आउनुपर्ने थियो, प्रकाशकका ढिलाइका कारण अहिले आयो। मेरोचाहिँ प्रकाशककै तीब्रताका कारण छिटो आएको हो।’ 

त्यसो त उनी आफैँले पुस्तक टाइप गरेका कारण पनि छिटो भएको रहेछ। कम्युटरमा आफैँले झण्डै ५०० पेज टाइप गरेको र पछि सम्पादन गरेर ३०० पेज बढी मात्र राखेको उनले बताइन्।

पुस्तकले कति शत्रु कमाउला? भन्ने प्रश्नमा कार्कीले हाँस्दै भनिन्, ‘मेरा शत्रु कहिले थिएनन् र! शत्रुको मलाई मतलब नै लाग्दैन।’ उनले सत्य बोल्दा र सही काम गर्दा कसैले के भन्छ वा गर्छ भन्ने कुरासँग आफूलाई सरोकार नभएको पनि बताइन्। भनिन्, ‘सुकरातले विष पिए तर सत्य छाडेनन् नि!’

उनले यस पुस्तकमा न्यायाधीश नियुक्तिमा नेपाल बार एसोसिएसनले कसरी हस्तक्षेप गर्छ, विभिन्न राजनीतिक दलहरूले कसरी प्रभाव पार्छन् र न्यायपालिकालाई कसरी कमजोर बनाउँछन् भन्ने कुरा प्रस्टसाथ लेखेको बताइन्। 

यस पुस्तकले न्यायपालिकालाई झनै कमजोर बनाउँदैन र? भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘न्यायपालिका कमजोर त पहिल्यै छ बरु यस पुस्तकले न्यायपालिकाभित्रका विकृति र विसंगति देखाइदिएर सुधार गर्नचाहिँ सहयोग गर्छ।’ उनले न्यायपालिकामाथि राजनीतिक दल र अन्य पक्षको निकै ठूलो दबाब र प्रभाव रहेको भन्दै न्यायपालिकाको स्वतन्त्रतालाई कहीँ कतैबाट हस्तक्षेप, दबाब र प्रभाव हुनु नहुने बताइन्।

आफ्नो जीवनको सबैभन्दा खुसीको क्षण सर्वोच्च अदालतको प्रधानन्यायाधीशबाट अवकास भएर बिदा भएको दिन बताउने कार्कीले सबैभन्दा दुःखको दिन २०४४ सालमा आफ्ना पिताको निधन हुँदाको दिन भएको बताइन्।  बुक हिलले प्रकाशन गरेको पुस्तक 'न्याय' आज राजधानी काठमाडौंको होटल र्‍याडिसनमा दिउँसो ३ बजे सार्वजनिक हुँदै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.