|

ताप्लेजुङ : जिल्लाका अधिकांश पसलहरूमा मूल्य सूची नराखेको, विलमार्फत कारोवार नगरेको तथा पसलमा अखाद्य वस्तु समेत पाइएको छ। जिल्ला सदरमुकाम फुङलिङमा जिल्ला प्रशासन कार्यालय र फुङलिङ नगरपालिकाले गरेको बजार अनुगमनका क्रममा यस्तो पाइएको हो। 

ताप्लेजुङ सदरमुकामका विभिन्न किसिमका ६ ओटा पसलमा अनुगमन गर्दा अधिकांशमा मूल्य सूची नै नराखेको, म्याद गुज्रेका सामग्री विक्रीका लागि राखेको, होटल तथा मासु पसलमा सरसफाई नगरेको पाइएको फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रवणकुमार पोख्रेलले जानकारी दिए। उनका अनुसार पसलमा राखिएका सामग्रीको म्याद नाघेको, मूल्य सूची नराखिएको र फलफूल तथा तरकारी पसलमा अखाद्य वस्तु राखेको पाइएको थियो। 

सो पसलहरूमा तत्काल सुधार्नको लागि १ हप्ताको समयसीमा तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी भगिमान मादेनले जानकारी दिए। त्यस्तै व्यवसायको प्रमाणपत्र नविकरण नभएकोे पाइएकोले चाँडो भन्दा चाँडो नविकरण गर्न पनि सुझाव दिएको मादेनको भनाई छ। जिल्ला सदरमुकामका किराना पसल, कपडा पसल,औषधि पसल, मासु पसल, होटल तथा फलफूल तथा तरकारी पसलमा अनुगनमन गरिएको थियो।

विशेष गरी मासु पसलका फ्रिज फोहोर रहेको तथा फलफूल पसलमा कुहिएका वस्तुहरू राखेको पाइएको थियो। अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तुलाई नियन्त्रणमा लिएको पनि बताइएको छ। यसैबीच आगामी दिनमा छोटो छोटो समयमा नै बजार अनृगमन गर्ने तथा आज सुधार्नको लागि निर्देशन दिएका पसलमा फेरि पनि चेकजाँच गर्ने फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले जानकारी दिए। यस्तै दसैँ-तिहार जस्ता चाड-पर्व नजिकिँदै जाँदा किनमेल बढी हुने भएकाले आफूहरू थप ठगिने सम्भावना वढेको स्थानीय उपभोक्ताको भनाई छ। 

म्याद सकिएका र बिक्री नभएका सामान गाउँका बजार पसलमा पठाएर केही म्याद भएका सामान सदरमुकामका व्यापारीले बिक्री गर्ने गरेको पनि उपभोक्ताको गुनासो छ। यता कहिले काहिँ हुने गरेको वजार अनुगमन पनि सदरमुकाम केन्द्रित भएकाले गाउँ गाउँमा खोलिएका पसलमा खुलेआमनै यस्ता अखाद्य, गुणस्तरहीन सामाग्री वेचविखन हुने गरेको स्थानीयको भनाई छ। 

नियमित रुपमा बजार पसल अनुगमन नगरिँदा कालोबजारी बढेको छ भने यो वर्ष चाड पर्व नजिकिँदै जादा समेत हुने मौसमी बजार अनुगमन अझै सुरु भएको छैन। सदरमुकाम फुङलिङ, दोस्रो ठूलो बजार दोभान,खाम्दिने,सिवा लगायतका स्थानमा गुणस्तरहीन, म्याद सकिएका अखाद्य तथा पेय पदार्थ खुलेआम बिक्री हुने गरेको उपभोत्ताको गुनासो रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.