|

काठमाडौं : सबैभन्दा लामो शीर्षकको पुस्तक लेखेर गिनिज बुक अफ वर्ल्‍ड रेकर्डमा नाम दर्ता गराएका सृजन तिमिल्सिनालाई प्यारागन पब्लिक स्कुलले सम्मान गरेको छ। शुक्रबार राजधानीमा विद्यालयकी प्रिन्सिपल विना बानु, निर्देशक साकिर उद्दिन, सहायक प्रिन्सिपल मनोज विके लगायतले तिमिल्सिनालाई सम्मान गरेका हुन्।

मष्तिस्‍कको विकासक्रमका विषयमा तिमिल्सिनाले  लेखेको पुस्तकको शीर्षक ११ हजार २ सय ८४ क्यारेक्टर, १ हजार ८ सय ९ शब्दको छ। काठमाडौंको गोकर्णेश्वर स्थायी घर भएका तिमिल्सिनाले १२ वर्षकै उमेरबाट गिनिज बुकमा नाम लेखाउने प्रयास थालेका थिए। ३ सेप्टेम्बर,२०१० मा विभिन्न ३ विधामा रेकर्ड लेखाउन आवेदन दिए पनि तीनवटै विधामा उनको आवेदन अस्वीकृत भएको थियो। त्यसपछि उनले ४ अक्टुबर २०१० मा चौथो प्रयास गरे। यसपटक लामो शीर्षकको पुस्तकका लागि उनको आवेदन स्वीकृत भयो। त्यसको ८ वर्षपछि गत जुन १४ गते उनले गिनिज बुक अफ वर्ल्‍ड रेकर्डबाट आधिकारिता पाए।

सम्मानित भएपछि बोल्दै तिमिल्सिनाले स्कुले जीवनमा छँदा नै कीर्तिमान बनाउने प्रेरणा मिलेको बताए। उनले भने, ‘प्यारागन पब्लिक स्कुलमा कक्षा ८ मा पढ्दै गर्दा यस्तो कीर्तिमान बनाउने प्रयास गरेको थिएँ। आज एमबिबिएस तेस्रो वर्षमा पुग्दासम्म सपना साकार भएको छ।‘ प्रिन्सिपल बिना बानुले सृजनको कीर्तिमानले आफूलाई निकै खुसी मिलेको बताइन्। उनले हरेक विद्यार्थीले समाजमा उदाहरणीय काम गर्नुपर्ने बताइन्। ‘आज मलाई शिक्षण पेसामा लाग्दा गर्व र खुसी महसुस भएको छ। यसका लागि म सृजनलाई धेरै धेरै धन्यवाद दिन्छु’ उनले भनिन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.