|

काठमाडौं : यतिबेला नेपाल आयल निगमसँग जोडेर धेरै किसिमका आन्दोलन भएका छन्। केही स्थगित भए, केहीले अझै आन्दोलनको धम्की दिएका छन्। मूल्य नबढाए ढुवानी रोक्नेदेखि मूल्य नघटाए सवारी साधन नचलाउनेसम्मका धम्की आएका छन्। मुलुकी अपराध संहिताले गरेका कतिपय व्यवस्था खारेजीको माग गरेर गरिएको आन्दोलनमा पनि ढुवानी समस्या देखिएको छ।

अहिले काठमाडौंलगायत देशका विभिन्न स्थानमा पेट्रोलको अभाव सिर्जना भएको छ भने कतिपय स्थानमा यातायात नै बन्द गरिएको छ। खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको कारोबारमा एकाधिकार रहेको नेपाल आयल निगमले यस्तो अवस्थालाई कसरी समाना गर्दै छ? ढुवानीमा मूल्य बढाउने र पेट्रोलियम पदार्थमा मूल्य घटाउने मागमा निगमको धारणा के हो? नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईसँग थाहाखबरकर्मी भागवत भट्टराईले गरेको कुराकानी प्रस्तुत छ।

काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ तर आयल निगम अझै गम्भीर नदेखिएको आरोप छ नि?

पेट्रोलमा लाइन बस्नुपरेका कारण केही समस्या जस्तो देखिएको हो। आयल निगम गम्भीर ढंगले यसको समाधानमा लागेको छ। यसालाई क्षणिक समस्याको रूपमा निगमले हरेको छ। हाम्रो सिस्टममा पेट्रोलियम पदार्थको अभाव छैन। हामीसँग मौज्दात पनि छ। चालकहरूले हल्लै हल्लाका भरमा गरेको आन्दोलनले केही समस्या देखिएको हो। अब समाधान उन्मुख भएको छ। पेट्रोल आयातका लागि ट्यांकरहरू रक्सौल गइसकेको अवस्था छ। आत्तिनुपर्ने अवस्था अहिले छैन।

मुख्यत: भण्डारण क्षमता नभएका कारण एक-दुई दिनको ढुवानी समस्याका कारण पनि अभाव सिर्जना भएको देखिन्छ, यसको कसरी समाधान गर्नुहुन्छ अनि अहिले स्टक कति छ?

स्टक यति उति नभनौँ, हाम्रो भण्डारण क्षमता कम छ। यो अरू बेला पनि सार्वजनिक भएकै विषय हो। ९० दिनसम्मको भण्डारण गर्ने क्षमता विकास गर्नुपर्छ भन्ने कुरासमेत पहिलो पटक २०७२ सालमा आएको हो।

त्यसअघि हामीले यो महसुस गर्न सकेनौँ र त्योअनुसारको दीर्घकालीन सोच बनाएर काम गर्न नसकेको नियति हामीले भोग्नुपरेको छ। यो वास्तविकताबाट हामी पर हट्न सक्दैनौँ। अहिले जे जस्तो तरिकाले म्यानेज गर्न सकिन्छ, उच्च सतर्कता अपनाएर म्यानेज गरिएको अवस्था छ। हाम्रा चालक तथा ढुवानीकर्ताले आफ्नै संयन्त्रलाई असहयोग गर्दा यो स्थिति देखिएको थियो। हल्लै हल्लाका भरमा आन्दोलन गरियो। अब समस्या रहँदैन।

के विषयको हल्लाको भरमा आन्दोलन ढुवानीमा समस्या भयो त?

नेपाल आयल निगमसँग सम्बन्धित ट्यांकर चालक ढुवानीकर्ताहरूका बीचमा कुनै समस्या छैन। निगमले ट्यांकरमा लकिङ गरेपछि केही माग थिए। चालकहरूको न्यूनतम पारिश्रमिक वृद्धिका कुराहरू रहेका थिए। ती कुराहरूमा चित्त बुझाएर हामी अघि बढेका थियौँ। ती मागका विषयमा सहमति भइसकेको हो तर समग्र यातायात क्षेत्रका मागहरू लिएर असन्तुष्टि जनाइए। धेरै कुराहरू हामीले समाधान गर्न नसक्ने अवस्थामा छन्।

हाम्रो ट्यांकरलाई बढी फोकस गरेर तर्साउनसमेत खोजिएको छ। भित्रको संरचनालाई सहयोग नगरेर उक्साहटमा ढुवानीमा समस्या गर्नेहरूलाई कारवाही गर्न हामीले सूचना जारी गरेका छौँ। यस विषयमा हामी सुक्ष्म अध्‍ययनमा पनि लागेका छौँ।

अहिलेको समस्या समधान गर्नु होला तर ढुवानीमा असहजता पछि पनि त आउन सक्छ नि?

यस विषयमा निगम गम्भीर छ। सधैँ यसरी सानातिना कुरामा सशंकित हुनुपर्ने बाध्‍यता हामीमा छ। त्यसैले पनि विकल्प खोज्नुपर्छ।

भण्डारण क्षमता बढाउनुपर्छ, यो विषय छुट्टै छ। तर हामी ट्यांकर किन्ने योजनामा छौँ। अब सरकारको तर्फबाट पनि केही ट्यांकरहरू राख्नुपर्छ। यसो गर्दा ट्यांकरमै पनि भण्डारण हुन्छ भने अर्कोतर्फ अभावमा धेरै ओहोर दोहोर गराउन सकिन्छ। निजी क्षेत्रका लागि प्रतिस्पर्धा पनि हुन्छ। यी विषयमा विगतमा पनि कुरा उठेका हुन्। किन्नुपर्छ भन्ने योजनासहित मन्त्रालयमा कुरा पठाइएको छ।

उता ग्यास ढुवानीमा भाडा समायोजनको माग गर्दै ढुवानी नगर्ने चेतावनी पनि आएको छ नि?

ग्यासको विषयमा ढुवानीकर्ताहरूले ढुवानी नगर्ने भन्ने कुरा बाहिर ल्याइयो। यस विषयमा हामीले पनि गम्भीर ढंगले छलफल गर्‍यौँ र भारतीय ढुवानीकर्तारहरूसँग सम्पर्क पनि गरिसकेका छौँ। उनीहरूले ढुवानी रोक्छौँ भनेकै छैनन्।

आफ्नो ढुवानी भाडा बढाउने, भाडा भुक्तानीको माग गर्ने कुरा छन् तर दशैँको मुखमा ग्यासको ढुवानी नै नगर्ने भन्ने कुरा छैन। उनीहरू आफैँले यो हल्ला मात्रै भनेका छन्। ग्यासको ढुवानीमा कुनै अवरोध हुँदैन। दशैँको बेला ग्यासको अभाव हुन नेपाल आयल निगमले दिँदैन। ढुवानीकर्ताहरूका मागका विषयमा हामी गम्भीर छौँ।  

अनि यातायात व्यवसायीले पेट्रोलको मूल्य नबढाएको भनेर बुकिङ गर्न मानेका छैनन् नि?

यातायात व्यवसायीले इन्धनको मूल्य बढ्यो भनेर बुकिङ गर्दैनौँ भन्न मिल्ने अवस्था छैन। स्वचालित मूल्य प्रणालीअनुसार बढाइएको हो। तर अहिले कायम गरेको डिजेलको मूल्य २०७१ सालमा यो मूल्यभन्दा पनि बढी  थियो। १०९ बाट ७४ रुपैयाँमा डिजेलको मूल्य घटाउँदासम्म कहिले यातायातको भाडा घटेको थियो? पहिलेको डिजेलको मूल्य कायम गरेको भाडाको लेवल कायमै छ।

भाडा बढाउनुपर्ने कारण लाग्दैन। मुद्रास्फिती हेर्ने हो भने ४.३ छ। विगत १४ वर्षदेखिको न्यून भन्ने छ। यसबीचमा तेल नबढेको होइन। बढेको मूल्य बढेको बढ्यै पारिएको छ। यस्तो बेला पेट्रोलियम पदार्थको मूल्य बढ्यो भने बुकिङ खुलाउँदैनौ भन्न मिल्दैन। यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ।

काठमाडौंमा तेलको अभाव देखिएको छ, ग्यास नपाउने त्रास पनि छ। गाडी नचल्ने हुन् कि भन्ने डर पनि छ। तपाईंको ठाउँबाट यी विषयमा कसरी सम्बोधन गर्नुहुन्छ?  

ढुवानीको समस्या लगभग समाधान भएको छ। ग्यासमा पनि ढुवानी रोकिने भन्ने कुरा हल्ला मात्रै हो। चाडपर्वको समयमा आयल निगमबाट दिने सेवामा अभाव हुँदैन। एक-दुई दिन ढुवानीमा केही असहजता देखिएको हो। हामीसँग मौज्दातमा तेल छ। रक्सौलमा रेलमा रहेको छ। सिस्टममा, लाइनमा र नेटवर्कमा तेल छ। चालकहरूलाई केही भ्रम सिर्जना गरिएको मात्रै हो। हामीले बिहीबार र शुक्रबार काठमाडौंबाट पठाएर पनि तेल ल्याउने व्यवस्था मिलाएका छौँ।

ढुवानी कम भयो भनेपछि माग अत्यधिक बढ्दा व्यवस्थापनमा समस्या भएको हो। हामीले बिहीबार साढे पाँच लाख लिटर वितरण गर्‍यौँ, शुक्रबार पनि हामीले सामान्य अवस्थामा भन्दा वितरण बढाएका हौँ। आत्तिनुपर्दैन, हाम्रो संरचनामा तेल छ। यता तेल नभए उता रेलमा पनि तेल छ। सामान्य अवस्थामा हामी आइसकेका छौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.