|

  • नवीन मास्के 

भोजपुर : भोजपुरको उत्तरी र पूर्वी क्षेत्रका वासिन्दाले सञ्चालन गर्दै आएका राडीपाखी र अल्लोका घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। कच्चा पदार्थ प्रसस्त भए पनि बजार अभावमा भएकाले ती उद्योगहरु सञ्चालनमा कठिनाइ भएको हो।

भेडाको ऊनबाट तयार पारिने राडी, लुकुनी, घुमराडीलगायतका सामग्रीले उचित बजार नपाएपछि पछिल्लो समय उत्पादन हुन छाडिसकेको छ। त्यस्तै, उत्तरी कुलुङ ,खार्ताम्छा, दोभाने र पूर्व क्षेत्रको जरायोटारमा उत्पादन गरिँदै आइएको अल्लोका सामग्रीले समेत उचित बजार नपाएको स्थानीयको गुनासो छ।

अल्लो बनाउन रेशा निकालेर सुकाउने, पकाउने, कुट्ने, धुनेलगायत लामो प्रक्रियाबाट तयारी गर्नुपर्ने भएकाले श्रम धेरै लाग्ने गरेको तर बजार नजिकमा नहुँदा समस्या हुने गरेको अल्लो व्यवसायी मालती कुलुङ बताउँछन्। मालतीका अनुसार धेरै श्रम गरेर सामग्री उत्पादन गरे पनि गाउँमा बिक्री नहुने र भोजपुर र संखुवासभासम्म पु¥यउँदा समेत उचित मूल्य नपाएको व्यवसायीहरुको गुनासो छ।

पछिल्ला समय घरेलु उद्योगबाट उत्पादन गरिएका राडीपाखी र अल्लोका कपडा बनाउन लागको श्रमको पारिश्रमिक नै नउठेपछि उत्पादन गर्न नसकिने अवस्था आएको उद्योग सञ्चालकहरुले बताउँछन्। गाउँघरमै उत्पादित अल्लोबाट झोला, बर्की, लत्ताकपडा लगायत विभिन्न सामग्रीहरु निर्माण गरे पनि गाउँमा बजार नभएपछि त्यसै थन्काएर राख्नुपर्ने बाध्यता रहेको छ।

संकटमा पेशा

यसरी घरेलु उद्योगहरु बन्द हँुदै गएपछि भेडा पालक कृषक तथा अल्लो काडेर जीविकोपार्जन गर्नेहरुको समेत पेशा धरापमा पर्दै गएको छ। राडीपाखी उत्पादनमा कमी आउन थालेसँगै ऊनको मूल्यमा समेत घट्न थालेको मैयुँक्षेत्रमा भेडा पाल्दै आएका दोपा राईले बताए। पहिले प्रतिकेजी एक हजार रुपैयाँमा बिक्री हुने गरे पनि पछिल्ला समय ऊन खरिद गर्ने व्यापारी आउन छाडेको उनको भनाइ छ।

टेम्के मैयुँ गाउँपालिकाको वडा नं. ९ लेखर्क, वडा नं. ४ नागी, वडा नं. २ छिनमुख र वडा नं. १ तिम्मामा भेडा पाल्ने गरिन्छ। त्यस्तै उत्तरी क्षेत्रको षडानन्द नगरपालिकाको वडा नं. १३ र १४ वोया, वडा नं. १० साम्पाङ, साल्पा शिलिचो गाउँपालिकाको वडा नं. ५ र ६ दोभानेमा समेत परापूर्व कालदेखि नै व्यवसायिक रुपमा भेडा पालन गरिँदै आइएको छ। तर यी क्षेत्रमा पछिल्लो समय भेडापालक कृषकको संख्या घट्दै गएको छ।

संरक्षणको प्रयास

स्थानीय उद्योग बन्द हुँदै गएपछि घरेलु तथा नगर उद्योग विकास समितिले अल्लो तथा राडीपाखी उद्योगलाई सामुहिक उद्योगको रुपमा विकास गर्ने योजना अघि सारेको छ। 

समितिका प्रमुख चेतनाथ गौतमले राडी बुन्ने र अल्लोका कपडा तयार पार्ने आधुनिक औजार वितरण गर्नका साथै तालिम सञ्चालन गर्ने बताए। यससँगै स्थानीय तहसँग साझेदारी गरेर यसको बजार प्रवर्धनमा समेत लाग्नु पर्ने आवश्याकता रहेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.