|

काठमाडौं : भारतले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको रनवे तत्काल पुनर्निर्माण गर्न नेपाल सरकारको ध्यानकर्षण गरेको छ। 

भारतीय सत्तारुढ दल बीजेपीका वरिष्ठ नेता विजय जोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेरै त्रिभवन रनवे तत्काल पुनर्निर्माण गर्न आग्रह गरेका हुन्।

सन् १९५५ मा तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेको रनवे ६५ वर्षको अन्तरालमा एकपटक पनि पुनर्निर्माण नभएको भन्दै जोलीले अहिले रनवे धेरै खतरनाक भएको पत्रमा उल्लेख गरेका छन्। जोलीले आफूलाई पब्लिक सेक्टरका इनोभेटर इन्जिनियर दिपेन्द्र कँडेलले भेटेर रनवेको खतराबारे जानकारी गराएको पनि पत्रमा लेखेका छन्। 

कँडेलले गएको अगस्ट ८ मा आफू सवार मस्कटबाट काठमाडौंका लागि उडेको विमान धावनमार्ग मर्मतका कारण लामो समय आकाशमै 'होल्ड' गरेको तर विमानस्थलका कर्मचारीले भने मौसमको खराबी कारण अवतरण गर्न नमिल्ने भनेर गलत सूचना प्रवाह गरेको जोलीलाई सुनाएका थिए।

४९ जनाको ज्यान जाने गरी भएको युएस बंगला एयरको विमान दुर्घटना र धावनमार्गमा चिप्लिएर भएको टर्किस एयरको विमान दुर्घटनाले नेपालको नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुको आँखा खुल्नुपर्ने जोलीको भनाइ छ। 

‘रनवे पुनर्निर्माणमा अब ढिलाई नगर्नुस्', प्रधानमन्त्री ओलीलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, ढिलो भयो भने अन्तर्राष्ट्रिय विमानका लागि ठूलो खतरा छ र यसले दुर्घटनाको जोखिम पनि बढाएको छ।’ नेपाल सरकारले सार्वजनिक रूपमै सन् २०१९ को फेब्रुअरी पछि मात्रै मर्मत सम्भार गर्ने भनेको उल्लेख गर्दै जोलीले त्यो अत्यन्तै ढिलो हुने बताउनुभएको छ।

रनवे पुनर्निर्माणका लागि लामो समय विमानस्थल बन्द गर्नुपर्ने भएकाले भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नसकिएसम्म रनवे मर्मत गरेरै चलाउने योजना सरकारको छ । पछिल्लो समय विमानस्थलमा धावन मार्गको पीच बेला बेला उप्किने र भासिने समस्या आइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.