|

लहान : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वाइन फ्लु र हङकङ फ्लु प्रभावित सप्तरीको कञ्चनरूप नगर क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। स्थलगत निरीक्षणको क्रममा मुख्यमन्त्री राउतसहितको टोलीले कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्थलगत निरीक्षणसहित संक्रमणको अवस्था, नियन्त्रणका लागि गरिएको प्रयास, उपचार, औषधि वितरण र मौज्दात लगायतका विषयमा जानकारी लिएको हो।

टोलीलाई कञ्चनरूप नगरपालिका स्वास्थ्य शाखा संयोजक डम्बर प्रसाद गुप्ताले नगरपालिका क्षेत्रमा चार जनाको मृत्यु भएको, भदौ २४ गतेदेखि असोज ३ गतेसम्म नगर क्षेत्रका पाँच हजार ६८७ जनाको स्वास्थ्य परीक्षण गरिएको, तीन हजार ३७० जना भाइरल ज्वरोको बिरामी रहेको जानकारी गराए। स्वास्थ्य संयोजक गुप्ताका अनुसार भाइरल ज्वरोका बिरामीको संख्या न्यून हुँदै गएको र स्थिति सामान्य बन्दै गएको प्रतिवेदन प्रस्तुत गरेका थिए।

दुई/दुई लाख रुपैयाँ राहत

प्राथमिक स्वास्थ्य केन्द्रको निरीक्षणपछि उच्च ज्वरोको कारणले मृत्यु भएका चार जनाको परिवारलाई राहतस्वरूप जनही दुई/दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरे। कञ्चनरूप नगरपालिका ३ बरमझियाका १४ वर्षीय किशोर राम, ७ धरमपुरका १४ वर्षीय दिवस बस्नेत  र ९ रूपनगरका १४ वर्षीय आमोदकुमार रामको उच्च ज्वरोको कारणले मृत्यु भएपछि सिंगो नगर क्षेत्र त्रसित रहेका बेला कञ्चनरूप ४ का ६० वर्षीया भाल्सेरदेवी सरदारको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको थियो।

राहत स्तान्तरण कार्यक्रममा मुख्यमन्त्री राउतले औषधिलगायत प्रकोप नियन्त्रणका लागि स्वास्थ्य संस्थालाई प्रदेश सरकारले १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको र एक/दुई दिनभित्र उक्त रकम स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिने उल्लेख गरे। प्रकोप नियन्त्रणका लागि सह्रानीय भूमिका खेलेका स्वास्थ्यकर्मीलगायत सम्बन्धित पक्षहरूलाई मुख्यमन्त्री राउतले धन्यवादसमेत व्यक्त गरे।

नगर प्रमुख वसन्तकुमार मिश्रको अध्यक्षतामा आयोजित राहत हस्तान्तरण कार्यक्रममा भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले कञ्चनपुरमा १५ शैय्याको सुविधा सम्पन्न अस्पतालका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘अस्पतालका लागि नगरपालिकाबाट निर्णय गरी आवश्यक कागजातसहित प्रदेश सरकारमा पेश गर्नुस्, प्रकृया प्रदेश सरकारले अगाडि बढाउँछ’ मन्त्री साहले भने।

कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. प्रकाश प्रसाद साह, जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरञ्जन यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए।

अवस्था सामान्य बन्दै

उच्च ज्वरोको कारणले उस्तै उमेरका तीनजना किशोर र वृद्धाको मृत्यु भएपछि कञ्चनरुप नगर क्षेत्र दुई हप्तासम्म त्रसित रह्यो। यद्यपि मृत्युको कारण खुल्न सके पनि स्वाइन फ्लु वा हङकङ फ्लुको संक्रमण कारण हुन सक्ने आशंका गरिएको छ। स्वाइन फ्लु र हङकङ फ्लु भाइरस संक्रमण फैलिन नदिन भदौ ३१, असोज १ र २ गते गरी तीन दिन नगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयसमेत बन्द गरिएको थियो।

जिल्लाको कञ्चनरूप तथा हनुमाननगर नगरपालिका क्षेत्रमा स्वाइन फ्लु (एचवनएनवन) र हङकङ फ्लु (एचथ्रीवनटु) को भाइरस फेला परेपछि जिल्लाको मुख्य नाकाहरूमा नेपाल प्रवेश गर्नेहरूको स्वास्थ्य जाँचका लागि स्क्रिनिङ गर्न हेल्थ डेस्क राखिएको थियो। जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका अनुसार जिल्लाको दक्षिणी सीमा जोडिएको भारतीय सीमा नाका कुनौली र पूर्वी नाका कोसी ब्यारेजदेखि पूर्वपट्टी भारतको भीमनगर हुँदै आउनेहरूको पनि स्क्रिनिङ गर्न हेल्थ डेस्क राखिएको थियो।

त्यसका साथै, नगरपालिकाको स्वास्थ्य शाखाले प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत र महिला स्वयम्सेविकालाई गाउँगाउँमा परिचालन गरी ज्वरो तथा खोकी लागेका बिरामीहरूको उपचार मात्र गरेन, हरेक वडामा तीन जना स्वास्थ्यकर्मी र औषधिसहितको टोली परिचालन गरी उपचार सेवा समेत उपलब्ध गराएपछि अवस्था सामान्य बनेको स्वास्थ्य शाखा प्रमुख गुप्ताले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.