|

बैतडी : जिल्ला स्वास्थ्य कार्यालय बैतडीले घरघरमै गएर औलो रोगीको खोजी गरिरहेको छ। जिल्लाको मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका,शिवनाथ गाउँपालिकका केही वडा, पुर्चौंडी नगरपालिकाका केही वडा र शिवनाथ गाउँपालिकाका केही वडामा घरघरमै गएर औलो रोगको परीक्षण थालेको हो। 

तल्लोस्वराड क्षेत्र विगत तीन वर्षदेखि औलोका बिरामी फेला परेकाले घरघरमै गएर रगत परीक्षण सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिए। पुर्चौडी क्षेत्रमा ज्वरोका बिरामी बढेको हुनाले औलो हुन सक्ने आशंकामा रगत परीक्षण कार्य थालिएको जनाएको छ। 
स्थानीयहरुको रगत परीक्षण गरेर उनीहरुमा औलो भए नभएको जानकारी पाउन सकिन्छ।

सरकारले औलो उन्मूलन गर्ने लक्ष्य लिएकाले सोही अनुसार औलोका बिरामीहरुको खोजी र उपचार भईरहेको छ उनले भने, 'गाउँघरमै गएर रगत परीक्षण गरेर औलो रोगको बारेमा पत्ता लगाइने गरेको छ।' औलोरोग देखापरेमा निशुल्क रुपमा उपचार गरिने जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। पछिल्लो समय औलोरोगका बिरामी बढ्दै गएकोले बैतडीमा पनि औलोको जोखिममा रहेको पाइएको छ। गत सालदेखि औलो रोगको बिरामी फेला पर्न थालेकोमा हालसम्म ४० जना औलोरोगी भेटिएका हेल्थ असिष्टेन्ट पाण्डेयले बताए।

गतवर्ष ३३ जना भेट्टिएकोमा चालु आर्थिक वर्षमा ७ जना औलो रोगी भेटिएका हुन्।  आफ्नै गाउँमा रगत जाँच गरेर औलो रोग पत्ता लाग्न थालेपछि चेकजाँच गराउनेको संख्या पनि बढ्दै गएको ल्याब टेक्निसियन रमेश बोहराले बताए। तल्लोस्वराड क्षेत्रमा औलो देखिएपछि गर्भवती महिला तथा बढी जोखिम रहेका स्थानीय बासिन्दालाई निशुल्क रुपमा झुल वितरण गरिएको थियो भने बढी प्रभावित क्षेत्रमा लामखुट्टेविरुद्ध किटनासक औषधि समेत छर्किएको छ। 

पहाडी क्षेत्रमा लामखुट्टेको वृद्धि भएसँगै औलोका बिरामी पनि देखिन थालेका छन्। लामखुट्टेकाे टोकाइबाट औलो रोग सर्ने गर्दछ। औलोबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने हुन्छ। साथै आफ्नो घर वरिपरिको वातावरण सफा राख्ने तथा वातावरणीय सरसफाई गर्नुपर्ने, झुल लगाएर सुत्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको सुझाव रहेको छ।

सरकारले सन् २०२५ बाट औलो उन्मूलन नीति लिएकाले औलो रोगको निशुल्क उपचार गर्ने गरेको  छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.