श्रीमतीबाट श्रीमान पनि पीडित छन् : प्रहरी

|

धनगढी : सम्बन्ध विच्छेदका लागि विगतमा महिलाहरू मात्रै अदालत धाउँने गरेकोमा पछिल्लो एक महिनामा भने झण्डै महिलाकै हाराहारीमा पुरुष पनि अदालत पुग्न थालेका छन्। मुलुकी देवानी संहिता २०७४ ले महिला जस्तै पुरुषले पनि सहज रूपले छोड्पत्र गर्न मिल्ने व्यवस्था गरेपछि पुरुषहरू पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गर्न थालेका हुन्।

एक महिनामा ६ जना पुरुषको मुद्दा

यस आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा सम्बन्ध विच्छेदका लागि १० वटा मुद्दा दर्ता भएको थियो। सबै महिलाबाटै दर्ता भएको हुन्। भदौ महिनामा भने १५ वटा मुद्दा दर्ता भए। मुद्दा दर्ता गर्नेमध्ये नौजना महिला तथा ६ जना पुरुष रहेका छन्।

भदौ १ गते देखि लागू भएको ऐनअन्तर्गत रहेर १ महिनामा मात्रै ६ जना पुरुषहरूले जिल्ला अदालत कैलालीमा सम्बन्ध विच्छेदको लागि मुद्दा दायर गरेको अदालत कैलालीका प्रवक्ता नरबहादुर नेगीले बताए। ‘मुलुकी देवानी संहिता २०७४ लागू भएको एक महिनामै सम्बन्ध विच्छेदका लागि १५ वटा मुद्दा आएका छन्। तीमध्ये ६ जना पुरुष रहेका छन्’ नेगीले भने।

विगतमा महिलाहरू मात्रै सम्बन्ध विच्छेदका लागि अदालत आउँने गरेको नेगीले बताए। ‘सम्बन्ध विच्छेदका लागि आजसम्म पुरुष विरलै आउँने गरेका थिए। तर गएको भदौ महिनामा भने महिलाकै हाराहारीमा पुरुष पनि अदालत पुगेका छन्’ नेगीले भने।

महिलालाई जस्तै पुरुषलाई सहज

‘मुलुकी देवानी संहिता २०७४’ लागू हुनुभन्दा पहिले जिल्ला अदालत कैलालीमा महिलाबाट मात्रै सम्बन्ध विच्छेदका लागि उजुरी पर्ने गरेको थियो। नयाँ ऐनसँगै पुरुषको पनि उजुरी बढेको हो। नयाँ ऐनले सम्बन्ध विच्छेद गर्न पुरुषलाई लागि सहज बाटो बनाइदिएको नेपाल बार एसोसियशन कैलालीका अध्यक्ष प्रेम चन्दले बताए।

‘विगतमा महिलाले सम्बन्ध विच्छेद गर्न चाहे सहज अदालतमा उपस्थित हुन सक्ने ब्यवस्था थियो। पुरुषको हकमा भने एक वर्षसम्म स्थानीय तहबाट मेलमिलापको प्रयास भएको हुनुपर्ने उल्लेख थियो’ चन्दले भने,'महिलालाई सहज र पुरुषलाई झन्झटिलो प्रक्रिया भएकै कारण महिलबाट मात्रै सम्बन्ध विच्छेद हुने गरेको थियो।’ अहिले महिलालाई र पुरुषलाई सम्बन्ध विच्छेदका लागि समान प्रक्रिया बनाइएको छ।

सम्बन्ध विच्छेद गर्न आउँनेमध्ये अधिकांश पुरुषहरू श्रीमती माइत बस्ने, घरमा बुवाआमालाई राम्रो ब्यवहार नगर्ने र परपुरुषसँग सम्बन्ध रहको बताउँने गरेका छन्। महिलाहरू भने श्रीमान्बाट प्रताडित भएको, मदिरा सेवान गरेर कुट्पिट गर्ने गरेको र परस्त्रीसँग लागेको आरोप लगाउने गरेको जिल्ला अदालतका प्रवक्ता नेगीले बताए।

श्रीमतीबाट श्रीमान् पनि पीडित छन् : प्रहरी

श्रीमानबाट श्रीमती मात्रै नभई श्रीमतीबाट श्रीमान् पनि पीडित रहेको जिल्ला प्रहरी कार्यालय कैलालीको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख, प्रहरी निरीक्षक भगवती तिमल्सिनाले बताइन्।

‘वैदेशिक रोजगारीमा गएका श्रीमानले विश्वास गरेर श्रीमतीलाई पैसा पठाउँने, फर्कदा श्रीमती पनि नहुने पैसा पनि नपाउँने यस्ता घटना बढिरहेका छन्’ प्रहरी निरीक्षक तिमल्सिनाले भनिन्। समाजमा पुरुषबाट महिला पीडित हुन्छन् भन्ने धारणा रहे पनि अहिले महिलाबाट पीडित पुरुषको संख्या बढिरहेको उनको भनाइ छ। प्रहरीकोमा पनि श्रीमतीबाट पीडा पाएको भन्दै उजुरी दिनेको संख्यमा वृद्धि भइरहेको उनले बताइन्।

बढ्दै सम्बन्ध विच्छेदको आँकडा

जिल्ला अदालत कैलालीका अनुसार २०७२/०७३ मा १३१ जनाले सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेका थिए। २०७३/०७४ मा त्यो संख्या बढेर १५१ पुग्यो। गत वर्ष सबैभन्दा बढीले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका छन्।

गत वर्ष १९४ जनाले विच्छेदका लागि मुद्दा दायर गरेको जिल्ला अदालत कैलालीको तथ्यांकमा उल्लेख छ। कम उमेरमा हुने विवाह, असमझदारी, वैदेशिक रोजागरी जस्ता कुराहरूले सम्बन्ध विच्छेदका मुद्दा बढिरहेको सर्वसाधरणको बुझाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.