|
फाइल फोटो

गोरखा : बुढीगण्डकी जलासययुक्त आयोजनाको डुबान क्षेत्रका प्रभावितले आरुघाट बजारको मुअब्जा निर्धारण गर्दा प्रतिआना २५ लाख रुपैयाँसम्म दिइनुपर्ने माग गरेका छन्। प्रभावितहरूको तर्फबाट धादिङ र गोरखाका संयुक्त सरोकार समितिले बुढीगण्डकी आयोजनाको वातावरण मुअब्जा वितरण पुर्नवास तथा पुनःस्थापना इकाइका संयोजक कृष्ण कार्कीलाई आज ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन्। 

सरोकार समितिका गोरखा संयोजक जगन्नाथ खनाल र धादिङका संयोजक दिनेशकुमार ढकालसहितको टोलीले संयोजक कार्कीलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापनपत्रमा आरुघाट बजारको शाखा सडकमा प्रतिआना २० लाख, अन्य शाखा सडकमा प्रतिआना १५ लाख रुपैयाँको मुअब्जा निर्धारण हुनुपर्ने माग गरिएको हो। त्यस्तै घडेरी उन्मुख आवादी जग्गाको मुअब्जा प्रतिआना  १० लाख रुपैयाँ निर्धारण हुनुपर्ने उनीहरूले माग गरेका छन्। 

चापनी, स्वर्खा, ओढारे, स्तुलखोला, र बूढीगण्डकी किनारको सम्पूर्ण आवादी जग्गाको मुअब्जा प्रतिरोपनी २० लाख रुपैयायाँ निर्धारण हुनुपर्ने, मध्यपहाडी लोकमार्गको स्वामी चौतारादेखि बूढीगण्डकी पक्की पुल र बूढीगण्डकीको पक्की पुलदेखि विशाल नगरसम्मको क्षेत्रको प्रतिरोपनी २५ लाख रुपैयाँ मुअब्जा निर्धारण डुबान प्रभावितको माग छ। 

 आरुघाट बजार गोरखा र धादिङको व्यापारिक केन्द्रको रूपमा रहेको, गोरखा–आरुघाट, धादिङ–आरुघाट र काठमाडौंसँग सिधा सडक जोगिएको तथा सबै गाउँपालिकाको आरुघाट केन्द्र भएकाले मुअब्जा निर्धारण गर्दा यस्ता विषयलाई आधारमा बनाइनुपर्ने उनीहरूको माग छ। 

 संयोजक कार्कीले डुबान प्रभावित आरुघाट बजारको स्थलगत अध्ययन गरी उचित मुअब्जा निर्धारण गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। बुढी आयोजनाको मुअब्जा निर्धारण हुन बाँकी रहेका स्थान आरुघाट, खहरे लगायतका क्षेत्रको मुअब्जा निर्धारण गर्न अध्ययन भइरहेको भन्दै छिट्टै मुअब्जा तोकिने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.