|

रूपन्देही : विश्‍व संपदा सूचीमा संरक्षित क्षेत्र (लुम्बिनी संरक्षण क्षेत्र)लाई असर पर्ने गरी रूपन्देहीमा सिमेन्ट उद्योग स्थापना हुन थालेको भन्दै त्यसलाई रोक्न स्थानीयले सरकारसँग आग्रह गरेका छन्।

स्थानीयको अवरोध, अख्तियारको निर्देशन, सरकारी निकाय (गुठी संस्थान, पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष)लगायतले निर्माण रोक्न गरेको आग्रहलाई नमानेर भैरहवामा सिमेन्ट उद्योग स्थापना गर्न लागिएपछि उनीहरूले विरोध जनाएका हुन्। युनेस्कोले विश्‍व सम्पदा सूचीमा राखेको क्षेत्र नजिकको यो जग्गामा २०६९ सालबाट सिमेन्ट उद्योग निर्माणको काम रोकिएकोमा श्रीराम सिमेन्ट उद्योग स्थापनाका लागि पुन: काम सुरु गरिएपछि स्थानीय आक्रोशित भएका छन्। 

भैरहवाको तत्कालीन सियारी गाउँपालिकाभित्र उक्त उद्योग निर्माण गर्न लागिएको छ। उद्योगले वातावरणीय प्रभाव मूल्यांकनसमेत नभएको भन्दै उजुरी दिएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निर्माण कार्य अघि नबढाउन निर्देशन दिएको थियो। सम्बन्धित क्षेत्रमा नै नपुगी वातवरणीय प्रभाव मूल्यांकन गराएर सिमेन्ट उद्योग खोल्न लागिएको स्थानीयको उजुरीपछि छानविन थालेको अख्तियारले जनाएको छ।  

२०६९ सालबाट उद्योग स्थपना गर्ने प्रयास गरिए पनि स्थानीयको अवरोधका कारण स्थपना हुन सकेको छैन। अहिले भने निर्माण कार्य हुँदै गरेको स्थानीयले बताएका छन्। भैरहवाको श्रीराम जानकी मन्दिरका संरक्षक रवीन्द्रदास वैष्णवले अहिले फेरि त्यहाँ उद्योग संचालन गर्ने तयारी गरिएको बताउँदै मन्दिरमा पूजा गर्नसमेत समस्या हुने बताएका छन्।

लुम्बिनी क्षेत्र वरपर रहेका कतिपय उद्योगहरूले त्यहाँ वायु प्रदूषण बढाइरहेको अवस्था रहेको र १५ किलोमिटर क्षेत्रफलभित्र नै उद्योग संचालन गर्दा संरक्षण सूचीबाट हट्न सक्नेमा सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन्।

उद्योग निर्माणको काम आरम्भ मात्रै गर्न थालिएको अवस्थामा स्थानीय पाँचवटा स्कुलले समेत पठनपाठनमा प्रभाव पार्ने भन्दै स्थानान्तरणका लागि प्रशासन समक्ष आग्रह गरेका छन्। त्यस्तै, मन्दिर संरक्षक वैष्णवले शुक्रबार उद्योगमन्त्री मातृकाप्रसाद यादवलाई पनि उद्योग संचालनमा रोक लागउन आग्रह गरेका छन्।

उद्योगका कारण वरिपरिका ५०० घरधुरीलाई असर पर्ने स्थानीयले बताएका छन्। उद्योग एक विगाह नौ धुर जग्गामा निर्माण गर्न लागिएको छ। उद्योग संचालकले भने उद्योग विभागले दिएको अनुमतिको आधारमा उद्योग संचालन गर्न लागेको जनाएको छ। 

स्थानीय सुरेश यादवले उद्योग विभागलाई समेत प्रलोभनमा पारेर उद्योग संचालनको प्रयास गरिएको गुनासो गरे। 'अख्तियारले कारवाहीका लागि पत्र पठाएको छ, गुठी संस्थान, पुरातत्त्व विभागले काम रोक्न भनेको छ तर उद्योगका लागि काम भइरहेको छ", यादवले भने, 'एकातर्फ सरकारी निकायले काम नगर्न निर्देशन दिएजस्तो पनि गर्ने, अर्कोतर्फ उद्योग स्थापना गर्न लाग्दा पनि नदेखेजस्तो दोहोरो चरित्र देखाएको छ।'

उनीहरूले अटेर गर्ने उक्त उद्योगलाई कारवाही गरी अन्यत्र सार्नुपर्ने बताएका छन्। 'हामी उद्योग स्थापना नहोस् भन्दैनौँ, स्थापना हुँदा हाम्रै क्षेत्रमा रोजगारी बढ्ला तर बालबालिकालाई समेत पढाउन नसक्ने गरी स्कुलअघि उद्योग स्थापना गर्न पाइँदैन, अन्तै सार्नुपर्छ', स्थानीय हरेराम चौधरीले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.