राजनीति

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री अमेरिका प्रस्थान
SHARES

असोज ६, २०७५
    • नारायण न्यौपाने

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ संयुक्तराज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन्।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले हार्दिक बिदाइ गरेका थिए। 

    प्रधानमन्त्री ओलीको बिदाइका लागि उपप्रधानमन्त्री उपेन्द्र यादव, मन्त्रीगण, नेकपाका नेता, सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत र सुरक्षा अङ्गका प्रमुखलगायत विमानस्थल पुगेका थिए।

    सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। संयुक्त राष्ट्र सङ्घको महासभालाई प्रधानमन्त्री ओली असोज ११ गते बिहीबार सम्बोधन गर्नेछन्। ७३औँ महासभा आगामी मङ्गलबारदेखि आरम्भ हुँदैछ। महासभाले यस वर्षका लागि ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित, शान्ति र न्यायपूर्ण एवं दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी (संस्था) बनाउने’ नारा तय गरेको छ। न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन्। 

    दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको शताब्दीऔँ जन्मदिवसका अवसरमा आयोजना हुने ‘नेल्सन मन्डेला शान्ति शिखर बैठक’लाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री ओली तथा श्रीमती राधिका शाक्य सहभागी हुनेछन्।

    महासचिव गुटेरेसले आयोजना गर्ने ‘शान्ति कार्य गर्नेसम्बन्धी उच्चस्तरीय बैठक’ लाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। न्यूयोर्कस्थित एसिया सोसाइटीमा ‘शान्ति, प्रजातन्त्र तथा विकास’सम्बन्धी विषयमा प्रवचन दिनेछन्। अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले उक्त कार्यक्रमलाई सम्बोधन गर्नेछन्। 

    न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले स्विट्जरल्याण्डका राष्ट्रपति एलेन बर्सेट र क्याम्बोडियाका प्रधानमन्त्री सामदेक अर्थात् मोहा सेना पदेई तेको हुन सेनसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। प्रधानमन्त्री ओली असोज १३ गते न्यूयोर्कबाट कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा सानहोजेतर्फ प्रस्थान गर्नेछन्। कोस्टारिकाको भ्रमण पूरा गरी प्रधानमन्त्री ओली यही असोज १८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

    प्रधानमन्त्रीको भ्रमणदलमा श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, पराष्ट्रसचिव शङ्करदास वैरागी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]