|
फाइल फोटो

नयाँ दिल्लीले भारत–पाकिस्तान विदेश मन्त्रीस्तरको प्रस्तावित वार्ता तत्काल हुन नसक्ने बताएको भोलिपल्ट अर्थात् शनिबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बैठक रद्द गर्ने विषयलाई लिएर दुःख व्यक्त गरेका छन्।

पाकिस्तानी प्रधानमन्त्रीले खानले ट्वीटरमा लेखेका छन्, “भारत–पाकिस्तानबीचको शान्ति वार्तालाई पुनः आरम्भ गर्ने मेरो आह्वानप्रति भारतको अहङ्कारी तथा नकारात्मक प्रतिक्रियाबाट म दुःखी बनेको छु।” उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम उल्लेख नगरी मोदीलाई संकेत गरेर लेखेका छन्, “साना मान्छेले ठूला कार्यालयमाथि नियन्त्रण राख्नुपर्ने मेरो जीवनको अनुभवले र दृष्टिले ठूलो तस्वीर नदेखेको हुनसक्छ।”

भारतको कब्जामा रहेको जम्मु कश्मिरमा शुक्रबार दुई विशिष्ट प्रहरी अधिकारी र एक जना प्रहरी जवानलाई स्थानीय हतियारधारी समूहले अपहरणपछि हत्या गरेको केही घण्टापछि भारतीय विदेशमन्त्री शुषमा स्वराज र पाकिस्तानी विदेशमन्त्री शाह मेहमुद कुरेसीबीच हुने भनी प्रस्तावित वार्ताबाट भारत पछि हटेको थियो। भारतको विदेश मन्त्रालयले पत्रकार सम्मेलन गर्दै उक्त भेट रद्द गरिएको जानकारी दिएको थियो।

यस पहिले यही सेप्टेम्बरको १८ गते सीमा सुरक्षा बलका प्रहरी जवान नरेन्द्र सिंहको पनि जम्मु नजिकैको भारत–पाकिस्तानको अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा बन्दूक बोकिरहेको अवस्थामा हत्या भएको थियो।

शुक्रबार भारतीय विदेश मन्त्रालयले आफ्नो निर्णय घोषणा गर्दै पाकिस्तानी प्रधानमन्त्रीको वास्तविक अनुहारलाई सीमानामा भएका हत्याले छर्लङ्ग देखाएको बताएको थियो।

भारत तथा पाकिस्तानका विदेशमन्त्रीहरूबीच संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभाका अबसरमा भेट हुने कार्यक्रम तय भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.