|

लहान :  सर्पले डसेर मृत्यु भई शवगृहमा राखिएका डेढ वर्षीय बालक जिउँदै रहेको दाबी गर्दै आफन्तजनले शनिबार सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तोेडफोड गरेका छन्।

सप्तरीको रुपनी गाउँपालिका ६ वीरेन्द्र बजारका अशोक साहका डेढ वर्षीय छोरा सिद्धार्थलाई सर्पले डसेर उपचारका लागि भर्ना गरिएको भएपनि चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै अस्पतालको आकस्मिक कक्ष तोडफोड भएको हो। तोडफोडबाट आकस्मिक कक्षको तीन वटा झ्याल, कुर्सीलगायतका सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ। करिब दुई सयको संख्यामा आएका मृतक बालकका आफन्तले अस्पतालको आकस्मिक कक्षामा तोडफोड गर्दै स्वास्थ्यकर्मीलाई दुव्र्यवहार समेत गरेका थिए। अस्पतालमा आएको भिडले अहेव महानारायण परसेलालाई कुटपिट गर्दा घाँटीमा चोट लागेको जनाइएको छ। 

कसरी भयो घटना ?

खुट्टामा चोट लागेको देखेसँगै बाबु अशोकले शुक्रबार दिउँसो डिटोललगायर खेल्न छोडेको केही घण्टामा बालक बेहोस भएपछि साँझ उपचारका लागि स्थानीय मेडिकलमा लगिएको र त्यहाँ सम्भव नभएपछि गाउँ नजिकै रहेको युनिक अस्पताल पुर्याइएको गाउँपालिका अध्यक्ष हरेराम यादवले बताए।

सर्पले डसेर सिकिस्त भएपछि शुक्रबार राति रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा भर्ना गरिएका बालकलाई राती अबेर सगरमाथा अञ्चल अस्पतालमा ल्याईएको थियो। अस्पतालमा ल्याइएका बालकलाई ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीले इसिजी र सिपिआर गरेपछि बाटोमा नै मृत्यु भएको पुष्टि भएपछि प्रहरीलाई खबर गरेर शवगृहमा राखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चुमनलाल दासले बताए।
चिकित्सकले मृत घोषणा गरेपछि शव गृहमा राखिएको छोराको शवलाई शनिबार बिहान हेर्न पुगेका बाबु अशोकले शरीर हल्लिरहेको देखेको दवी गर्दै तत्काल अर्को अस्पतालमा रेफर गर्न वा आफूहरुको जिम्मा लगाउन दबाब दिएका थिए तर अस्पतालले अस्विकार गरेपछि शनिबार बिहानदेखि नै अस्पतालमा तनाव शुरु भएको थियो।

शवगृहबाट झिकेर सर्पदंश केन्द्रमा

मृतक बालकका आफन्तले अस्पताल तोडफोड, स्वास्थ्यकर्मीमाथि हातपात गरेसँगै शवगृहमा राखिएको बच्चा झिकेर उपचार गर्न भन्दै सिरहाको चोहर्वास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र लगेको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र बिष्टले जानकारी दिए। प्रहरी उपरीक्षक विष्टका अनुसार मृत भईसकेको बालकलाई चोहर्वा पुर्याइएको भएपनि त्यहाँ केही नभएपछि शनिबार राति नै पुनः राजविराज ल्याएर आइतबार बिहान पोष्टमार्टमको तयारी गरिएको छ। 

छानविन समिति गठन

अस्पताल तोडफोड तथा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएपछि शनिबार साँझ साढे ७ बजेसम्म छ घण्टा ठप्प रहेको आकास्मिक कक्ष राति साढे ७ बजेदेखि सुचारु गरिएको थियो। मृतकका परिवारको उपस्थितिमा सर्वपक्षिय बैठकले छानबिन समिति गठन गरेपछि अस्पतालको सेवा सुरु भएको हो।

अस्पतालको तनावपछि राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, अस्पतालका मेसु. डा. चुमनलाल दास, सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द विष्ट तथा मृत बालकका आफन्त र स्थानीय गाउँलेहरुको छलफल भएको थियो। छलफलपछि नगर प्रमुख यादवको संयोजकत्वमा पीडित परिवारका एक जना, रुपनी गाउँपालिका अध्यक्ष, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, अस्पतालका प्रतिनिधि, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष तथा गैसस महासंघ अध्यक्ष सदस्य रहने गरी छानबिन समिति गठन गरिएको प्रहरी उपरीक्षक विष्टले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.