|

काठमाडाैं : जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले तीनै तहको चुनाव सम्पन्न भएर नयाँ सरकार गठन भएसँगै नेपालमा राजनीतिक स्थायित्व स्थापित भएको भन्दै नेपालमा लगानी गर्न आग्रह गरेकी छन्। 

संविधान दिवसको दिनमा टोकियोमा दूतावासले आयोजना गरेको कार्यक्रममा जापानी सरकारका प्रतिनिधि, उद्योगी/व्यापारी तथा विभिन्न पेशा र व्यवसायमा संलग्न नेपालीको उपस्थितिमा राणाले नेपालमा लगानी गर्न अाह्वान गरेकी हुन्। ‘संविधानअनुसार तीनै तहको चुनाव सम्पन्न भएको छ,’ राजदूत राणाले भनिन्, ‘अब सरकारको समृद्ध नेपाल खुशी नेपाली नारालाई यथार्थतामा परिणत गर्न आर्थिक विकास र समृद्धि हासिल गर्न नेपाल सरकार अघि बढिरहेको छ।’

राजनीतिक स्थिरता, विदेशी लगानीमैत्री नीति एवं भौगोलिक अवस्थिति आदि कारणले विदेशी लगानीका लागि नेपाल उपयुक्त मुलुक भएकाले जापानी लगानीकर्तालाई लगानीका लागि उनले आग्रह गरिन्। नेपालको प्राकृतिक सुन्दरता, २०२० लाई नेपाल भ्रमण वर्ष बनाउने सरकारको घोषणा र निकट भविष्यमै नेपाल र जापानबीच सिधा हवाइ सेवाका विषयमा चर्चा गर्दै नेपालमा लगानीको लागि नेपाल जापान संसदीय मैत्री लिगका सदस्यहरुले भूमिका खेल्न उनले आग्रह गरिन्।

कार्यक्रमका जापानी विदेश उपमन्त्री आइवा मोरीले नेपालमा तीनै तहको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएर लोकतन्त्रको उच्चतम अभ्यास भएको बताएका थिए। उनले नेपाल र जापानबीच अत्यन्त बलियो आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको चर्चा गर्दै आगामी दिनमा झन् प्रगाढ बन्ने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.