|

काठमाडौं : फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशवराज झाको हत्या भएको एक महिना पुग्यो तर प्रहरीले अझै अपराधी पत्ता लगाउन सकेको छैन। अपराधी खोज्ने जिम्मा पाएको महानगरीय प्रहरी अपराध महाशाखाले झाको हत्या नै भएको आशंका गरे पनि कसले र किन गर्‍यो? त्यसको भने अझै भेउसम्म पाएको छैन।

महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) धीरजप्रताप सिंहका अनुसार झा हत्याको अनुसन्धानकन लागि महाशाखाले १५० जना बढीलाई सोधपुछ गरेको छ। ‘अनुसन्धान अझै जारी छ, केही परिणाम पक्कै निस्किनेमा आशावादी छु’, उनले भने। महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले झा हत्याको अनुसन्धान गरिरहेको छ।

यसअघि झा हत्याको अभियोगमा महाशाखाले झाको घरमा सुरक्षा गार्ड काम गर्दै आएका सानुकान्छा तामाङ, मालीको काम गर्ने आइतसिंह तामाङ र जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो। तर उनीहरूले नै हत्या गरेको यथेष्ट प्रमाण नभेटेपछि तीनै जना आठ/आठ हजार रुपैयाँ धरौटीमा थुनामुक्त भएका थिए।

महानगरीय अपराध महाशाखाले उनीहरूलाई २४ दिन थुनामै राखेर अनुसन्धान गरेको थियो। उनीहरू भदौ २९ गते थुनामुक्त भएका हुन्। झा भदौ ४ गते काठमाडौं बबरमहलस्थित आफ्नै निवासमा मृत भेटिएका थिए। सुतिरहेको ठाउँमा मृत फेला परेका उनको टाउको र घाँटीमा गम्भीर चोट लागेको थियो।

क्राइम सिनमै समस्या

गम्भीर अपराधका घटनामा अनुसन्धान गरी अपराधीसम्म पुग्ने पहिलो माध्यम हो, ‘क्राइम सिन’, जसमा घटनास्थलमा अपराधीका कुनै न कुनै प्रकारका सबूतहरू रहेका हुन्छन्।

त्यही घटनास्थलको सबूतलाई सुरक्षित गर्दै प्रहरी अपराधको अन्तिम बिन्दुसम्म पुग्ने गर्छन्। तर झाको हत्यामा ‘क्राइम सिन’मै समस्या रहेको अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रप्रसाद उप्रेतीको भनाइ छ।

‘झाको हत्या राती भयो। हामीलाई बिहान ९ बजे खबर आयो। हामी पुग्दा शवको अवस्था परिवर्तन भइसकेको थियो। झाकै परिवारका अन्य सदस्य सबै घटनास्थलमा थिए’, उप्रेतीले थपे, ‘अब कसको प्रमाण भिडाउनु? ल्याब टेस्ट र डिएनए परीक्षण कसरी गराउनु?’ अपराधी पत्ता लगाउने पहिलो खुड्किलो नै क्राइम सिन भएको उप्रेतीको भनाइ छ।

उनका अनुसार विकसित मुलुकमा 'क्राइम सिन भ्यान' हुन्छ। यसमा अनुसन्धानका लागि आवश्यक सामग्रीको 'किट टिम' र 'क्राइम सिन प्रोटेक्सन'को टोली हुन्छ। यो टिमले घटनास्थलका सबूत प्रमाणलाई सुरक्षितसँग ल्याब टेस्टमा पठाउँछ। तर नेपालमा यस्तो प्रयास एकदमै कम हुने गरेको उप्रेतीले बताए। 

यस्तो अाधारभूत प्रयास नहुँदा गम्भीर प्रकारका अपराध अनुसन्धानमा समस्या हुने र अपराधीसम्म पुग्न निकै कठिन हुने गरेको उप्रेतीको भनाइ छ। यस्ता समस्याका कारण यसअघिका गम्भीर प्रकृतिका धेरै अपराधबारे अनुसन्धान पूर्ण हुन नसकेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.