'मस्कोबाट गितारदेखि मोटरसाइकल टायरसम्मका भरिया भएर फर्कियौँ'

|

काठमाडौं : सशस्त्र प्रहरीका पूर्वएआइजी रविराज थापा खेलकुदमा लामो समयदेखि आबद्ध छन्। सन् १९८० को मस्को ओलम्पिकमा बक्सिङका खेलाडीका रूपमा सहभागी भएका उनी अहिले पनि नेपाली खेलकुदमा के भइरहेको छ भनेर चासोका साथ हेर्छन्।

श्री सशस्त्र प्रहरी बल कमान्‍ड तथा स्टाफ कलेजमा प्राध्यापन तथा प्रशासनिका काममा आबद्ध रविराज थापासँग मस्को ओलम्पिकको अनुभव र नेपाली खेलकुदमा संलग्न रहँदाका क्षणबारे थाहा खबरका लागि जयसिंह महराकृष्णसिंह लोथ्यालले गरेको कुराकानीको सम्पादित अंश:     

खेल र कुद

नेपालमा हाल 'खेल' र 'कुद' फरक-फरक बाटोमा गइरहेका छन्। राजनीतिमा कुद्नेहरू खेलकुदमा आएका छन्। वास्तविक खेलाडी पाखा लागेका छन्। यसलाई सम्झाउन म एउटा किस्सा भन्छु।

हामी काठमाडौंका मान्छे परिवारको दशा सुधार्नुपर्‍यो भने दक्षिणकाली अथवा कालीको पूजा गर्छौँ। जाँदाखेरि चिल्लो, कल्कलाउँदो निक्खुर कालो बोका लिएर गयो। मन्दिरमा गएपछि 'ल यो बूढाको दमको व्यथा निको होस्, श्रीमतीको, आमाको, छोरीको सबैको निको होस्। छोरोको जागिर मिलिहालोस्,' भन्यो र बोका काट्यो। मज्जाले त्यहाँ भोजभतेर खायो। फर्किंदा सबै सद्दे आउने, बोको मात्रै खत्तम! 

नेपालको खेलकुदको पद्दति यस्तै भयो। खेलाडी भनेको माईबाप नभएको। अहिले पनि अन्तर्राष्ट्रिय ओलम्पिकले बढीभन्दा बढी देशको सहभागिता होस् भन्नेमा ध्यान दिइरहेको छ। यताबाट ऐरे गैरे नत्थु खैरे जसलाई पठाए पनि नेपालले पनि भाग लियो भनेर कोटा पुर्‍याउने काम मात्रै भएको छ।ओलम्पिकको अन्तर्राष्ट्रिय समितिले 'यति सय यति देशको सहभागिता भयो' भन्छ पुग्यो। करातेसराते जस्ता खेलहरूमा तीन चार देश सहभागी हुनेबित्तिकै अन्तर्राष्ट्रिय हुन्छ। त्यो भनेपछि हल्ला बढी भयो। दुईचार भुटान, बंगलादेश, माल्दिभ्सजस्ता देश ल्याएर देखाएपछि सिद्धियो। उसलाई नाम चाहिएको छ। त्यहाँ पनि माफियाको ग्याङ रहेको छ। फिफा फुटबलमा सेप ब्लाटरजस्तै ओलिम्पिकमा पनि माफिया छन्। 

अहिले तपाईंले हेर्नुस्, इन्डोनेसियाको जकार्तामा सम्पन्न एसियन गेम्समा नेपालको करिब १२ करोड खर्च भयो भन्नेछ। त्यसको प्रतिफल के आयो भन्नेबारे सरकारले जवाफ दिनुपर्छ। छानबिन हुनुपर्छ। खेलकुदमन्त्रीले जवाफ दिनुपर्छ। खेल प्रतियोगितामा गयो, फाटफुट्ट गर्‍यो सिद्धियो। कतिजनाले खेल्नै पाउँदैनन्। समयमा नाम पठाइँदैन, नाम मिल्दैन, विचरा प्रतियोगितामा गएर खेल्न नपाउने त्योजस्तो ठूलो ह्युमिलिएसन (अपमान) केही होइन। खेलाडी झुन्डिएर मर्छन्।

म नेपालको बक्सिङ संघमा ७ वर्ष अध्यक्ष भएँ। त्यता माफिया बढेपछि जाँगर चलेन। मेडल ल्याइयो, दीपक महर्जनले गोन्जाउबाट। अनि भन्न थाले 'अब त रवि दाइको ठाउँमा एउटा डन्‍डा राखिदिए पनि पाँच वर्ष चलाउन सकिइहाल्छ नि!'

विप्लव (नेत्रविक्रम चन्द)को दाइ जितेन्द्रबहादुर चन्द राम्रा भलिबल खेलाडी थिए। उनी राष्ट्रिय खेलाडी, प्रचण्ड प्रधानमन्त्री भएको बेलामा राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव होलान् जस्तो लागेको थियो। माओवादीको सरकार छ यिनी होलान् भनेको, कहाँ-कहाँबाट सिनेमामा फेल भएको युवराज लामा फ्याट्ट आइपुग्यो। म त छक्क परेँ। तिनी त्यो बेलामा राखेप सदस्य सचिव भएका भए अहिलेको विप्लवको गोलमाल राजनीतिक पाटो नै फरक हुन्थ्यो। एक अनुमान यो पनि हो। पछि पनि कांग्रेस र माओवादीका केही मान्छे मिलेर खेलकुदलाई भताभुंग बनाए र अहिले शून्यमा पुगेको छ। अहिले 'खेल' र 'कुद' जस्ताको तस्तै भएको कारण यस्तै हो।

खेलकुदमा सहभागी हुने खेलाडीलाई डाइट खुवाएर मेडल जित्नुपर्छ भन्ने संस्कार अहिलेसम्म पनि छैन। अहिले तपाईंले हेर्नुस्, इन्डोनेसियाको जकार्तामा सम्पन्न एसियन गेम्समा नेपालको करिब १२ करोड खर्च भयो भन्नेछ। त्यसको प्रतिफल के आयो भन्नेबारे सरकारले जवाफ दिनुपर्छ। छानबिन हुनुपर्छ। खेलकुदमन्त्रीले जवाफ दिनुपर्छ। खेल प्रतियोगितामा गयो, फाटफुट्ट गर्‍यो सिद्धियो। कतिजनाले खेल्नै पाउँदैनन्। समयमा नाम पठाइँदैन, नाम मिल्दैन, विचरा प्रतियोगितामा गएर खेल्न नपाउने त्योजस्तो ठूलो ह्युमिलिएसन (अपमान) केही होइन। खेलाडी झुन्डिएर मर्छन्। 'नाम रजिष्टर गरिएको छैन, तपाईं बाहिर जानुस्' भन्छ।

खेलकुदमा सहभागी हुन गएका खेलकुदका पदाधिकारी र सरकारी अधिकारी वास्ता गर्दैनन्। मैले माथि भने नि खेलाडी आशसहित जान्छ, जिन्दगीमा खेलकुदको 'ख' पनि नजानेकाहरू संघका अध्यक्ष र सदस्यसचिव बस्छन्। उनीहरूलाई ओलम्पिक भन्ने कुरा घुम्न जाने अवसर हो। मैले चाहेको भए म अहिले पनि ओलम्पिक संघमा हुन्थे। त्यसरी प्रतियोगितामा जानेहरू पाँचतारे होटेलमा बस्छन्, श्रीमति छोराछोरी घुमाउछन्। खेलाडीले कस्तो प्रदर्शन गर्‍यो भन्ने उनीहरूलाई वास्ता हुँदैन। 

सोभियत र पश्चिमा राष्ट्रको भिडन्त, बंगाली कोच

नेपालको खेलकुद परिषद्लाई तत्कालीन सदस्य सचिव शरदचन्द्र शाहले निकै उचाइ दिएका हुन्। उनले जुन योगदान दिएर उचाइ दिए अहिले त्यसैको नाम भजाएर खाइरहेका हुन्। त्यसपहिले खेलकुदको कुनै आइडेन्टिटी (परिचय) थिएन। ०३१ मा राष्ट्रिय खेलकुद जस्तो भएको थियो। त्यो बेलामा 'राष्ट्रिय शुभराज्याभिषेक खेलकुद' भएको थियो। त्यसमा सम्पूर्ण खेलहरूलाई फरक-फरक ठाउँमा विभाजन गरिएको थियो। म बक्सिङ खेल्थेँ। बक्सिङ खेल भैरहवामा भएको थियो। म पहिलो भएँ। साइन्टिफिक बक्सर घोषित भए। म नेपालमा बक्सिङ खेलेर कहिले पनि हारेन।

बक्सिङ कोचका रूपमा पुष्करध्वज शाही धेरै राम्रो खेलाडी, विचरा उनलाई रक्सीले नै लग्यो। खेलकुद परिषदमा जो को कोच भए उनीहरूको जीवन राम्रो बनेन। अहिले पनि जति खेलाडी छन् उनीहरूको जीवन राम्रो भएन। जितबहादुर भन्ने छन्, म्युनिख ओलम्पिकमा राम्रो खेलाडी। जर्मनको म्युनिखको क्लबले 'यतै बस' भन्यो। तर, म त नेपाली हुँ भन्ने सानले नेपाल फर्किएँ। उनको पछिल्लो जीवन राम्रो भएन। जेलनेलसम्म भयो। अरू लाउरेहरू सदस्य सचिव के के भएर संसार हिँडिरहेका छन्, विगतमा देशको लागि राम्रो प्रदर्शन गरेका खेलाडीहरू बिहान आएर एकछिन रंगशालामा जान्छन्, काम छैन। म खेलाडी भएर होला, त्यो देखेर मलाई रिस उठ्छ। लाग्छ यता प्रहरीमा आएर एआइजीसम्म भए, खेलकुदमै लागेको भए मेरो अवस्था पनि त्यस्तै हुन्थ्यो।

खेलकुदमा सहभागी हुन विदेश जाने भनेको विमानस्थलमा विमानभित्र नपसेसम्म पक्का हुँदैन। 'फलानोलाई झिकेर अर्कोलाई हाल' भन्ने प्रचलन छ। यहाँ जसलाई हाले पनि हुन्छ। खेल्नेमान्छे भन्दा पनि खेल पदाधिकारीका आसेपासे धेरै जाने भएकाले त्यस्तो भएको हो।

राष्ट्रिय शुभराज्याभिषेक खेलकुदमा म प्रथम भए। मस्को ओलम्पिकमा सहभागी हुने कि नहुने भन्दाभन्दै नेपालले जाने भनेर निर्णय गर्‍यो। त्यतिबेला पश्चिमा राष्ट्रहरूले मस्को ओलम्पिक बहिष्‍कार गरेका थिए। कम्युनिस्ट देश थियो, सोभियतकालीन रसिया। सोभियत शासन भएको अफगानिस्तानमा समस्या देखिँदै थियो। हामी त्यतिबेला क्लोज क्याम्पका लागि महेन्द्र युवालयमा थियौँ। शरदचन्द्र शाह राखेपका सदस्य सचिव थिए। महिला खेलकुदमन्त्री थिइन्। मस्को ओलम्पिक विवादका कारण उनले राजीनामा दिनुपर्‍यो। त्यहाँ हामी खेलाडीलाई इनारको पानी खुवाउँथ्यो। मलगायत तीनचारजना बिरामी भयौँ, पानीले गर्दा। झाडापखाला लागेको थियो। स्लाइन चढाउनुपरेको थियो। 

भारत कलकत्ताको इन्डियन रेलवेको मान्छेसँग राखेपका मान्छेहरूको राम्रो सम्बन्ध रहेछ। 'हमें एक कोच भेजदो'  भनेर यताबाट भनेछन्। एउटा बंगाली कोच आयो। रेलवेको कोच भनिएको उसलाई बक्सिङको 'ब' पनि नआउने रहेछ। बिहान दुई र साँझ दुई घण्टा कुदाउँथ्यो। बिहान बेलुका नै कुदाउने, बक्सिङ नसिकाउने थियो। उसले आफैँले जानेको थिएन। त्यस्तालाई प्रशिक्षकमा राखेपछि हाम्रो खेलाडी कसरी राम्रो हुनू?

दुब्लाएर ख्याक भइयो, खाना केही छैन। टाइफाइडको बिरामीजस्तो भइयो। आइतबार सुरु भयो ट्रेनिङ। बिहान बेलुका दुईदुई घण्टा दौडियो र दालभात खायो। यस्तो गर्दा त दुब्लाउँदै दुब्लाउँदै शुक्रबारसम्म त हिँड्नै नसक्नेगरी कमजोर भइएछ। खेलकुदमा एक्सरसाइज गर्दा जति इनर्जी खर्च गर्‍यो त्यति धेरै पोषक तत्व खानुपर्छ। विदेशी खेलाडी त्यसरी नै तयारी गर्छन्। एक्सरसाइजमा खर्च गरेको प्रोटिनलाई साँझ बिहान नै पूरा गर्नुपर्छ। हाम्रोमा इनर्जी हाल्ने कम झिक्ने धेरै हुन्छ। दालभात तरकारीले त इनर्जी दिँदैन। क्याम्पमा विष्णुगोपाल भन्ने व्यक्ति थिए। उनीसँग इनर्जीको कुरा गर्दा भान्सेलाई 'दुई/दुई टुक्रा मासु थपिदे' भन्थे। अहिले पनि खेलाडीको डाइटिङ त्यस्तै छ, अनि कसरी खेल्न सक्छ? भित्र हाल्नु केही पनि छैन।

बन्द प्रशिक्षणपछि सेलेक्सन म्याच (छनोट खेल)भयो। त्यो बेलामा म अस्पताल भर्ना भएँ। स्लाइन पानी चढाएको थियो। अरूले एक एक खेलमै छनोट भए मैले तीनवटा खेलेँ। हाम्रा खेलाडी सबैभन्दा राम्रो प्रदर्शन गरेर छनोट हुनेभन्दा पनि प्रतिस्पर्धीले स्वास्थ्यका कारण खेल्न पाएन भने म छनोट हुन्छु भन्छ। अर्को कुरा खेलकुदमा सहभागी हुन विदेश जाने भनेको विमानस्थलमा विमानभित्र नपसेसम्म पक्का हुँदैन। 'फलानोलाई झिकेर अर्कोलाई हाल' भन्ने प्रचलन छ। यहाँ जसलाई हाले पनि हुन्छ। खेल्नेमान्छे भन्दा पनि खेल पदाधिकारीका आसेपासे धेरै जाने भएकाले त्यस्तो भएको हो। अस्ति कति प्रतिशत खेलाडी गए र कति प्रतिशत अफिसियल गए? को कुन स्टाटसमा गए? विदेशमा गएपछि को पाँचतारे होटलमा बस्यो र कसले कति डाइट खायो अनि कसले खर्च कति बोकेको थियो? पदाधिकारी सबैसँग टिएडिए खर्च हुन्छ, खेलाडीसँग हुँदैन। खेलाडीलाई एकजोर जुत्ता किन्न पनि समस्या हुन्छ। 

मैले नै देखेको खेलाडीसँग एक पैसा पनि हुँदैन। खेलाडी फौजका मान्छे हुन्छन्। खेल पदाधिकारीका रूपमा गएकाहरूसँग धेरै पैसा हुन्छ। घुमघाम र नाइट क्लब गएका हुन्छन्। उनीहरू व्यापक किनमेल गर्छन्। त्योबेला पनि विदेशमा किनमेल गर्न जाने सिस्टम थियो, खेल पदाधिकारीका रूपमा। 

हामीसँग केहीपनि थिएन किन्नलाई, उनीहरूले भने गितारदेखि मोटरसाइकलका टायरसम्म किन्न लगायो। हामी त भरियाजस्ता थियौँ। त्योबेलामा खेलाडी भरिया हुने चलन नै थियो।

त्यतिबेला पश्चिमा शक्तिहरू मस्को ओलम्पिकमा नेपाल सहभागी नभइदेओस् भन्ने चाहन्थे। रसियन दूतावास जसरी पनि जाओस् भन्ने चाहन्थ्यो। मलाई अहिले पनि याद छ, रसियन दूतावासको मान्छे आएर भन्थ्यो 'कति जना जाँदैहुनुहुन्छ? केही समस्या हुन्न, जति गएपनि।' त्यतिबेलाकी खेलकुद मन्त्रीले जाने र नजानेबारे गलफती हुँदाखेरि राजीनामा दिनुपर्‍यो। त्यसपछि हामी जाने पक्का भयौँ। 

मस्कोको पिसाब काण्ड

जाँदाखेरि राम्रैसँग लग्यो। मस्कोमा ओलम्पकि भिलेज बनाइएको थियो। खेल विकासका लागि राम्रो अवसर हो। यसमा विदेशी लगानी पनि आउँछ। जुनसुकै खेलमा पनि त्यस्तै हो, खेल आयोजनाले देशकै विकास हुन्छ। अहिले हाम्रो हेर्नुस्, साग खेल आयोजना गर्ने पालो छ। अहिलेसम्म कुनै चाइँचुँइ छैन। अहिले नसक्ने भन्न थालिसकेका छन्। यिनीहरूको ध्यान कति लगानी आउछ भन्नेमा मात्रै हुन्छ। के काम गर्ने र हाम्रो खेलाडीलाई पदक जिताउन कसरी प्रशिक्षण गर्ने भन्ने छैन। बुझेकै छैन त के ध्यान हुन्छ, खेलकुदको 'ख' त बुझेको छैन। 

हामीलाई मस्कोमा ओलम्पिक भिलेजमा राख्यो। त्यहाँ विदेशी छुस्के (पत्रकार) पनि थिए। त्यहाँ एउटा भारतको पत्रिकाको मान्छेले हाम्रो राम कार्कीसँग 'कैसा लगा' भनेर सोधेछ। भारोत्तोलनको खेलाडी कार्कीले, 'अच्छा लगा, बहुत अच्छा हे' भनेपछि भारतको पत्रिकामा एक इन्चमा 'हमने नेपाली ओलम्पियन से पुछा था, उसले अच्छा हे। ऐसा हे, वेसा हे' भनेर छापेछ। पत्रिकाको नाम थाहा छैन। शरदचन्द्र शाह आएर 'यो कसले भनेको हो?, पत्ता लगाउनुपर्‍यो' भनेर मलाई जिम्मेवारी दिए। म नेपाल प्रहरीको इन्सपेक्टर थिए। खोज्दै जाँदा कार्की रहेछन् भन्ने पत्ता लागेको थियो। 

मस्को ओलम्पिकमा खेल्ने बेला भयो। नेपालबाट पहिलो प्रतिस्पर्धामा विष्णु मालाकार। उसको पहिलो खेल उत्तर कोरियनसँग पर्‍यो। उत्तर कोरियन पनि काँचोकाँचो थियो, राम्रो खेलाडी थिएन। उसको पनि पहिलो खेल हुनुपर्छ। मालाकार आत्तिएको जस्तो थियो। पहिलेदेखि नै तर्सिएको रहेछ। पहिलोपटक ओलम्पिकमा खेल्दाखेरि मानसिक अवस्था कमजोर बन्यो। अनुभव थिएन। रिङमा खेल्दाखेल्दा दुवैले एग्रेसिभ खेलेनन्। बक्सिङ खेल्ने भनेको हानाहान गरेन भने रेफ्रिले चेतावनी दिन्छ। खेल् भन्छ। दुवै नलडी बसे। भ्याटभुट, भ्याटभुट, भ्याटभुट गरेका थिए रेफ्रीले चेतावनी दिँदै रोक्यो। त्यसपछि डिफेन्सिभ खेल्यो र विष्णु मालाकार हार्‍यो। घटना त्यतिमात्रै भएको हो। हामी १ महिना ओलम्पिकमा बस्दाखेरि नेपालमा के भएको थियो? नेपालको समाचारमा के थियो? केही थाहा थिएन। 

त्यहाँ गल्ती के भयो भन्ने लाग्छ भने कोहीपनि पत्रकार लगिएन। अहिले त हरेक खेलमा पत्रकार लगिन्छ। पत्रकारको सन्तुष्टि हुन्छ। जान नपाउने पत्रकार रिसाउलान्। तर पलपलका समाचार आइरहेका हुन्छन्। समाचार सही आएको हुन्छ। त्यो बेलमा पत्रकार लैजाने चलन थिएन। त्यसबेला त्यो घटना भारतीय पत्रिकाले 'नेपालके बक्सर ने ओलम्पिक में पिसाब किया' भनेर सानो समाचार लेखेछ। एकदुई इन्चको मात्रै थियो। छुसुक्क आएको समाचारलाई इस्यु बनाएर नेपालमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हल्लिसकेको रहेछ।

हामीसँग पैसा थिएन। ओलम्पिक भिलेजमा रसियाभरीका जम्मै सामान राखेको थियो। खेलाडीको सिफारिस बिना हाम्रो त्यहाँको दूतावासका मान्छेहरू छिर्न नपाउने व्यवस्था थियो। उनीहरूले त्यहाँबाट धेरै सामान बोकाएर पठायो। हामीसँग केहीपनि थिएन किन्नलाई, उनीहरूले भने गितारदेखि मोटरसाइकलका टायरसम्म किन्न लगायो। हामी त भरियाजस्ता थियौँ। त्योबेलामा खेलाडी भरिया हुने चलन नै थियो। अलिअलि पैसा दियो सामान बोकायो। हामी फर्केर आयौँ दिल्ली विमानस्थल भएर।

हामी जब दिल्ली विमानस्थलमा दौरा सुरुवाल, कालो टोपी लगाएर जुनजुन खेलको खेलाडी हो त्यो लेखेर हिँडेका थियौँ। मलाई अहिले पनि त्यो क्षण सम्झना छ, दिल्ली विमानस्थलमा एयरहोस्टेजले अलिकति चिनेको रहेछ। 'तपाईंहरूमध्ये बक्सर को हो?' भनेर सोधिन्। म बोलिहाले 'हामी नै हौँ बक्सर।' 'तपाईंहरूलाई लाज लाग्नुपर्ने' भनिन्। 'लाज लाग्नेले जुँगा पाल्छ?' भने। मेरो त्योबेलामा पनि जुँगा थियो। मेरो नाता पर्ने पाइलट थियो। हामीलाई देखेपछि ऊ मुसुमुसु हाँसिरहेको थियो।

पिसाब गर्नु पर्दैन? खाएपछि दिसापिसाब त आउछ नि! रिङमा पिसाब गरेको होइन, पिसाब गरेको त हो नि मस्कोमा! रसियामा जाने पिसाब फेर्दै नफेर्ने? पिसाब फेरेको हो तर रिङमा पिसाब फेरेको होइन। बक्सिङको लुगा लगाउदा तुर्रर मुत्न सकिँदैन। ग्लुइङ गार्ड लगाएको हुन्छ। त्यसमाथि हाफ ट्राउजर लगाएको हुन्छ। कसले देख्यो र पिसाब? त्यसै टिपेर बोकेर हिँड्न हुन्छ?

काठमाडौं विमानस्थलमा आउँदाखेरि रुपकराज शर्मा नगरप्रहरी र ईन्द्रबहादुर शेरचन भ्याली प्रहरीमा हुनुहुन्थ्यो। जब विमान ल्यान्ड गर्‍यो, त्यहाँ त टेक्ने ठाउँ नै छैन। मान्छे नै मान्छे। सबै पुलिस एयरपोर्टमा। दिल्ली एयरपोर्टमा पनि केही खुलासा भएको थिएन। यहाँ आएपछि थाहा भयो एयरहोस्टेजले किन सोधेकी रहिछ र पाइलट किन हाँसेको रहेछ भन्ने। त्यो पत्रिकाबारे त हामीलाई थाहा थिएन। 

के हो भनेर सोधेको त 'ओलम्पिकमा मुतेको हो? ओलम्पिकमा मुतेको हो?' भनेर हामीतिर औँला देखाउने। 'ऊ त्यै हो मुत्ने, ऊ त्यै हो मुत्ने' भनेर अनुमान लगाउने। रुपक दाइ मभन्दा सिनियर प्रहरीमा। 'ओए रवीभाइ के छ? आउ रवीभाइ यता जाउँ' भन्दै हामीलाई त एस्कर्ट गर्दै ल्यायो। के भएको हो भन्दाखेरि त 'ओलम्पिकमा मुतेको हो' भनेर त्यो बीचमा रूस विरूद्धका देश, पत्रकार, जान पाएन भनेर रिसाउने सबै तयार भएर बसेका रहेछन्।

प्रस्‍टीकरण 

त्यसपछि एउटा  पार्टी थियो। त्यहाँ प्रहरीका ठूलाबडाहरू पनि थिए। पछि उहाँहरू चिफ पनि भए। म त अलि फ्याट्ट बोल्ने खालको परे। ठूलो पार्टीमा भेट भएको बेला हाम्रो हाकिमसापले 'तिमीले हो पिसाब गर्‍या?' भन्नुभयो। 'हैन म त एक महिनासम्म समातेर बस्या' भने। 'पिसाब गर्नु पर्दैन? खाएपछि दिसापिसाब त आउछ नि! रिङमा पिसाब गरेको होइन, पिसाब गरेको त हो नि मस्कोमा! रसियामा जाने पिसाब फेर्दै नफेर्ने? पिसाब फेरेको हो तर रिङमा पिसाब फेरेको होइन। बक्सिङको लुगा लगाउदा तुर्रर मुत्न सकिँदैन। ग्लुइङ गार्ड लगाएको हुन्छ। त्यसमाथि हाफ ट्राउजर लगाएको हुन्छ। कसले देख्यो र पिसाब? त्यसै टिपेर बोकेर हिँड्न हुन्छ?' भनेर मैले तर्कसहित प्रतिवाद गरेको थिए।

खेलाडीको डिफेन्ड खेलाडीले गर्ने हो। खेलाडीको पदाधिकारी बोल्दैनन्। उनीहरूलाई बजेट, पैसा र विदेश जाने मात्रै ध्यान हुन्छ। अथवा, त्यो ठूलो मान्छेले कसरी टीका लगाएर पद दिन्छ भन्ने ध्यान हुन्छ। त्योभन्दा अरूमा त ध्यान नै छैन। जिन्दगीमा खेलेको पनि छैन र रिङमा प्रवेश गर्दा कस्तो गाह्रो हुन्छ भन्ने कुरा पनि थाहा छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.