|

उदयपुर : २०७२ मंसिर १३, जुन बेला उनी उत्साहका साथ चुनाव प्रचारमा थिए। लेकतन्त्रमा चुनाव जित्नु र हार्नुको कुरा परको थियो। देशमा नयाँ संविधानअनुसार चुनाव हुँदै थियो। त्यस कारण पनि उनमा जोस निकै थियो।

लोकतान्त्रिक व्यवस्थामा उनलाई चुनाव हार्नुसँग पर्वाह थिएन तर जनताको लामो समयको संघर्षले सार्थकता पाउँदै थियो। त्यसैले त उदयपुरका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर- २ मा नेपाली कांग्रेसको तर्फबाट नारायणबहादुर कार्की उम्मेदवार बनेर प्रचारमा हिँड्दै थिए। नजतामाझ आफ्ना योजना सुनाउँदै थिए उनी। तर उनलाई के थाहा- त्यही मंसिर १३ उनका लागि कालो दिन बन्दै थियो। त्यही दिन आफ्नो एउटा खुट्टा नै गुमाउनुपर्छ भन्ने उनले कल्पनासम्म गरेका थिएनन्।

मंसिरको २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै थियो। त्यही निर्वाचनका लागि प्रचार प्रसारमा रहेका कार्कीका लागि त्यो दिन जीवनमा कहिल्यै बिर्सन नसक्ने क्षण बन्यो।

उदयपुरगढी गाउँपालिकाको वडा ५ र ६ बीचमा पर्ने दनुवार बेँसी पुग्दा पूर्वसांसदसमेत रहेका कार्की अज्ञात समूहले थापेको विद्युतीय एम्बुसमा परे। प्रत्यक्षदर्शीका अनुसार विद्युतीय धराप विस्फोट हुँदा उनी सवार गाडी करिब १० मिटर माथिसम्म उफ्रियो। कार्कीसहित गाडीमा सवार नौ जनामध्ये चार जना घाइते भए। उम्मेदवार कार्की र नेपाली कांग्रेसकी युवा नेतृ मीरा कटुवाल गम्भीर घाइते भए।

घाइते सबैलाई हेलिकोप्टरबाट काठमाडौँ पुर्‍याइयो। घाइतेमध्ये मीराको तत्कालै खुट्टा काटियो। उनी पनि जीवनभर आपांग बनिन्। उपचारको क्रममा रहेका २०७० सालको संविधासभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित कार्कीको पनि उपचारकै क्रममा गएको जेठ महिनामा खुट्टा गुम्यो। कार्की पनि अपांग बने।

त्यो एम्बुस कसले थापेको थियो भन्ने अहिलेसम्म पत्ता लागेको छैन।

खुट्टा गुमाएको त्यो क्षण

मंसिर १२ गते लेखानीमा कार्यक्रम थियो। लेखानीबाट राती कटारी आइपुगेका थिए उनीहरू। १३ गते बिहान नेपालटारतिर लागे। ‘विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अलिकति गडबढी गर्छ भन्ने लाग्यो’, कार्कीले भने, ‘मैले मेरा साथीहरूलाई विप्लव समूहसँग सम्पर्क गर भनेँ। विप्लव समूहले प्रहरीले घरमा बस्न दिएर खाने खर्च दे भने, मैले आफूसँग अहिले पैसा नभएको र पछि दिन्छु भनेँ।’

११ बजे उदयपुरगढी गाउँपालिकाको नेपालटारमा कार्यक्रम थियो। त्यहाँबाट कार्कीसहित सात जना हिँडे। त्यहीँको कच्ची बाटोमा एम्बुस थापेको रहेछ। कार्कीले एकै पटक पड्केको आवाज मात्र सुने रे।

‘त्यहाँ नजिकै अन्य घरहरू पनि थिए। मैले झ्यालबाट मुन्टो निकालेँ। गाडी कोल्टिएर पल्टेको थियो। त्यहाँ बम छ भन्दै मान्छेहरू भागिरहेका थिए’, उनी त्यो कहालीलाग्दो घटना सम्झन्छन्, ‘कोही पनि नजिक आएनन्। एक जनाले भन्यो, उहाँ त हाम्रा नारायण सर जस्तो पो हुनुहुन्छ त? मैले म नारायण सर नै हुँ, नारायण मास्टर नै हुँ, यहाँबाट निकालिदिनुहोस् भनेँ। त्यसपछि सबैको सहयोगमा मलाई निकालियो।’

त्यो घटनाबाट गम्भीर घाइते बनेका कार्कीलाई उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं लगियो। उनलाई त्रिवि शिक्षण अस्पताल लगियो। त्यहाँ पुग्दा उनीमाथि अर्को बज्रपात आइपर्‍यो। उनलाई डाक्टरले खुट्टा काट्नुपर्छ भने।

‘धेरै डाक्टहरूले हेर्नुभयो। डाक्टर गोविन्द केसीले यो खुट्टा काट्दा राम्रो हुन्छ भन्ने सल्लाह दिनुभयो’, उनी भावुक हुँदै सम्झन्छन्, ‘यो कुराले मलाई निकै भावुक बनायो। मैले केसी डाक्टर साबलाई नकाट्दा हुँदैन भनेर सोधेँ। उहाँले पनि कोसिस गरौँ भन्नुभयो।’ तर सबै कोसिस कहाँ सफल हुन्छ र! उनको खुट्टा पनि अन्तत: काट्नुपर्ने नै भयो। ‘कुनै पनि एन्टिबायोटिकले काम गरेन। दुखेर धेरै गाह्रो भयो। खुट्टाका तीनवटा औँला पनि सुके', उनले भने, ‘डक्टर साबले सुकेका तीनै औँला फालिदिनुभयो। बाँकी दुईवटा औँलामा मात्र थिए। त्यति गर्दा पनि सन्चो भएन। झनै समस्या बढ्दै गयो। घुँडामाथि पनि पुग्न सक्छ भन्दै डाक्टरले खुट्टा काट्ने निर्णय गरे। म अपांग भएँ।’

चुनाव त सकियो। उनी पराजित पनि भए। लोकतन्त्रमा विश्वास गर्ने उनलाई चुनाव हार्नु सामान्य नै लाग्यो। तर जीवन भने उनको अब बैशाखीकै सहारामा चल्ने भयो। ‘चुनाव सकिएको यत्रो भयो, ओछ्यानमै छु’, उनले भने, ‘चुनाव हार्नु जित्नु एउटा पाटो थियो। मेरो जीवन नै बर्बाद भयो। मर्नु न बाँच्नु बनाएर छाडे मलाई।’

'अपराधी पक्राउ नपर्दा दुःख लाग्छ'

उनलाई एम्बुसमा पार्ने समूह अझै पत्ता लागेको छैन। यो विषयले उनलाई बेलाबेला धेरै चिन्तित बनाउँछ। अहिलेसम्म प्रहरीले एम्बुस थाप्ने विप्लव समूह मात्र भन्छ। उनलाई अहिलेसम्म देखाएको छैन।

‘मलाई एम्बुस थाप्नेलाई प्रहरीले पक्राउ नगर्दा धेरै पीर परेको छ’, उनी भन्छन्, ‘कतै कोहीसँग रिसइवी नभएको मान्छे म। मेरो त यो हालत भयो। अपराधीले सजाय नपाउने? अपराधी दण्डित नहुने? अहिलेको पुलिसले एम्बुस थाप्ने पक्राउ गरिदिएन। एक दुई जना विप्लव समूहको मान्छे पक्राउ गर्‍यो अनि आरोप लगायो तर मलाई बम पड्काउने मान्छे देखाएनन्।’ तर उनलाई अझै पनि अपराधी पक्राउ पर्ने आशाचाहिँ छ। ‘प्रहरीले दुई दिन मात्रै अलिक बुझ्ने अफिसरलाई पठाएर अनुसन्धान गर्ने हो भने सबै कुरा खुल्छ’, उनले भने, ‘तर प्रहरीले त्यति पनि गरिदिएन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.