|

दैलेख : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग र मुलुकमा बढ्दो महँगी कालोबजारी रोक्नु पर्ने माग गर्दै आइतबार दैलेखमा प्रदर्शन गरिएको छ। निर्मला घटना मा सरकारले आयोग मात्र बनाउने तर सत्यतथ्य सार्वजानिक नगरेको भन्दै दैलेखमा नेपाल महिला संघको अगुवाईमा महिला तथा युवाले प्रदर्शन गरेका हुन्।

स्थानीय महिला र युवाहरूले घटना भएको दुई महिनासम्म पनि सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै आन्दोलमा उत्रिएका हुन्। सरकारविरुद्धको र्‍याली जिल्ला सदरमुकाम बजार परिक्रमा गर्दै सरकारविरुद्ध चर्का नारा लगाउँदै देवकोटा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

प्रदर्शनकारीहरूले  दुईतिहाइको वाम सरकार जनतालाई न्याय दिन नसकेको भन्दै आक्रोश पोखेका थिए। प्रदर्शनकारीहरुले टाउकोमा कालोपट्टी बाँधेर घटनाका अपराधीलाई  फाँसीको माग गर्दै हत्यारालाई  पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री  रामबहादुर थापा र प्रधानमन्त्री केपी ओलीको राजीनामासमेत मागेका छन्। प्रदर्शनमा उत्रिएर सरकारविरुद्ध आक्रोशित युवा र महिलाहरूले सरकारले जनताको सुरक्षा गर्न नसकेको आरोपसमेत लगाए।

जुलुसपछि आयोजित कोणसभामा बोल्दै स्थानीय महिलाहरूले बालिकादेखि वृद्धासम्म बलात्कृत भएर हत्या गरिँदा पनि सरकारले केही गर्न नसकेको भन्दै देशमा सरकार हुनु र  नहुनुको केही आभास नभएको युवा नेतृ वासना थापाले बताइन्। सरकारको विरुद्धमा निर्मलाका हत्यारा कानुनी कठघेरामा नआउन्जेलसम्म आन्दोलन जारी रहने उनीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.