विचार

वर्तमानमा बेथितिको यथार्थ
SHARES

असोज ८, २०७५

    वर्तमान सरकारलाई भोट दिँदा नेपालीले आश्वस्तता, विवेक र विश्वास, सक्रियता, न्याय र यथार्थ, समग्रता, समझदारी र सहिष्णुता आदिको आशा गरेका थिए। तर पाउँदा ठीक विपरीत पाए– आतंक, अविवेक र विश्वासहीनता, निष्क्रियता, अन्याय वा साविक प्रचलित मनोमानी र ढाकछोप, एकलौटी, असमझदारी र दुई तिहाईको दम्भले थिचेको असहिष्णुता र सुस्ती। 

    कुरा प्रष्ट छ– वामपन्थी सरकार भनेर न धारे हात लगाउनुकै अर्थ छ, न घिरौँला जत्रो नाक फुलाउनुकै। ऐतिहासिक क्रमको एउटा सरकार हुन्छ, जसमा नाक र चाक, दाँत र हात हुने पहिले पहिलेका जस्तै मान्छे हुन्छन्, जो राष्ट्रिय भाँडाको आकारबाट कमै भिन्न हुनसक्छ। नित्य अभाव, अन्याय, अव्यवस्थाको जुवामुनि थिचिएको हाम्रो जस्तो समाजका  लागि रातारात अमेरिकाली–युरोपेली स्तरको जीवनशैली दिनु कसैले ऋण खाएको हुँदैन। त्यसैले कम्युनिस्ट शब्दैसँग मोहनी लागेजस्ता वा एलर्जी लागेजस्ता दुवै खालेले जति छिटो ब्युँझिए, त्यति जाती।

    तैपनि नेतामा दायित्वबोध, देशको माया, आत्मविश्वास र आफ्नो वचनप्रति इमान्दारी र सीप उपयोग गर्ने सीप भए ‘एकपल्ट दिगो थिति बसाएपछि सधैँलाई, लाटाबाठा सबैलाई’ हुने थियो। छोरीहरूले संसारभरि दरदरको ठोकर खाँदै भौँतारिनुपर्ने थिएन, न छोराहरूले अमानवीय शर्त सुविधामा थ्री डिका काम गरिरहनुपर्थ्यो र दिनैपिच्छे दुई चार जनाले बाकसमा सुतेर आइरहनुपर्थ्यो। भरसक विदेशी सेवामा जानैपर्ने थिएन, गए पनि आफ्नै मर्जीले, आफ्नै शर्तमा जाने थिए। भएको स्रोत साधन न त्यसै सडिएर जान्थ्यो, न कसैले माटाको भाउमा उपयोग गथ्र्यो वा न कसैले नेपालले फलाना र चिलानाप्रति निर्भर नभई हुँदैन भनेर अर्ति दिइरहनुपर्थ्यो। बरु ब्युँझेको रुवान्डा हुन एकै दशक लाग्ने थिएन भन्ने सोच्ने थिए। 

    मैले साठी करोडको सट्टा बीस–पच्चीस लाखको कार चढे बचेको उनान्साठी करोडले कम्तीमा तीसवटा पुल  बन्ने थिए र कसैले ‘खसे खोला : बाँचे फेरि भेट होला’ भनेर ज्यान माया मार्नुपर्ने थिएन। प्राकृतिक स्रोत साधनले भरपूर हाम्रो देश संसारका विकसित देशमध्ये एक नम्बरमै पुग्ने थियो, मित्रराष्ट्रसँग हात थाप्नुपर्ने थिएन। न हेपिएको अनुभूत गर्नुपर्ने थियो, न अभावमा कुन्ठित भइरहनुपर्थ्यो। अभावमै त अन्तर्राष्ट्रिय प्रतियोगितामा झन्डा गाढ्न सक्ने हाम्रा होनहार प्रतिभाले हेलिकोप्टर, रोबोट, विमान बनाउने मात्र होइन, अन्तरिक्ष अभियानै चलाउने थिए भन्ने सोच्थे र त्यस्तो वातावरण बनाइदिन्थे।

    दुई तिहाई भएको बेला पनि नगरे कहिले गर्ने भन्ने, दुई तिहाई दिने जनतालाई वास्तविक कामैले धन्यवाद दिने र आफ्नो पनि इतिहास बनाउने अवसर चिन्ने र सदुपयोग गर्ने थिए। 

    कम्तीमा आवश्यकताको गाम्भीर्यअनुसार कामको प्राथमकिता निर्धारित गरेर भटाभट गर्दै जाने थिए। त्यसका निमित्त दलीय, जातीय, पारिवारिक आदि कुनै साइनो होइन, योग्यताका आधारमा विशेषज्ञ, प्राविधिज्ञको सेवा लिने र भावनामा समग्रताको, व्यवहारमा कामको सर्वोच्चताको सँस्कृति बसाउने थिए। आआफ्ना कार्यकर्तालाई नगद बाँडेर पक्षपोषण गरी बानी बिगार्ने गैरजनतावादी पूर्वसरकारहरूको सँस्कृति पछ्याइरहने थिएनन्।

    कथित वामपन्थीको सरकार भए पनि बहादुर शाह र राजेन्द्रलक्ष्मीदेखि नै अर्कोलाई मासेर एकलौटी गर्ने आत्मघाती सोचको अनन्त खुट्टा तानतान र शीतयुद्धले नै नेपाली विकास कठ्याङ्ग्रिएको तथा सबै शक्ति एकजुट नभई देश नबन्ने यथार्थ स्वीकारेर कांग्रेसले विपी–सुष्माबाहेक, राजावादीहरूले श्री ५ हरूबाहेक कोही नदेखेझैँ पुष्पलाल–मनमोहन–मदन भण्डारीबाहेक कोही नदेख्नुको सट्टा स्मृति, सम्मान, नियुक्ति आदिमा इतिहासका सबै योगदानकर्तालाई यथायोग्य सम्झिने परम्परा बसाल्ने थिए। 

    आफ्ना लागि पनि भ्रष्टाचार, नैतिक अपचलन आदिको ढोका खुला राख्ने कुत्सित मनसायपूर्वक प्रत्येक आन्दोलनपछि आन्दोलनविरोधीहरूलाई सजायको सट्टा पुरस्कृत गरेर, बेपत्ता पारिएका आदिको वास्ता नराखेर दण्डहीनता, कानुनी सिद्धान्तको ह्रास तथा उत्तरदायित्वहीनतालाई संस्थागत गर्ने थिएनन्।

    २००७ सालदेखि नै जनताका सरकारमाथि जनताको विश्वास हराएको बुझेर उक्त विश्वास कायम गर्ने किसिमले बोल्ने र काम गर्ने थिए। लटरपटर एकाध वर्ष जागिर खाने, त्यतिञ्जेलमा सात पुस्ताको बन्दोबस्त गर्ने र भए हुन्छ नभए सन्चमा जाने चलनको अन्त्य गर्ने थिए।

    पपुलिस्ट कुरा गरेर किरातीको सभामा किराती, बाहुनको सभामा बाहुन, तामाङको सभामा तामाङ खुसी पार्ने कुरा नगरेर सत्य र औचित्यमा अडान लिने र त्यो कुरा बुझाउने थिए कारण नेता शिक्षक पनि हो र समग्र देशको साझा पनि हो। त्यसरी पपुलिस्ट कुरा गरेर जनतालाई गुमराह पारेर समस्या बल्झाइरहने काम कहिल्यै गर्ने थिएनन्। सात सालमा स्वतन्त्र किरात घोषणा गरेका भोजपुरे राईको मादमा एक्लै पसेर विपीले उक्त घोषणा फिर्ता गराउन कन्भिन्स गरेका थिए।
    ठूल्ठूला कुराको सपना देखाउनुसँगै प्राथमिकता र प्रत्येकको यथार्थ, महत्त्व, लागत, समय र आफ्नो योजना कुन, किन, कसरी बुझाएर विरोध–उपहास होइन, सहभागिताचाहिँ प्राप्त गर्ने वातावरण बनाउने थिए।

    आफूले राष्ट्रिय परम्परा, आर्थिक–सामाजिक स्थिति आदिअनुसार उचित सामान्य वस्त्र, वेशभूषा, साधन, भवन आदि प्रयोग गर्ने थिए। दरबार वा महल जस्ता घर, लाखौँका मोबाइल, करोडौँका गाडी, नोकरचाकरदेखि साजसजावटका तामझाम र यसरी आफूलाई जनताको साथी–सहयोगी–सेवक नबनाएर टाढा अलग्ग बस्ने विशेष देवता बनाउने चलनमा विश्वास गर्ने थिएनन्।

    पार्टी, नाता वा निहीत फाइदाका लागि कुनै पनि अपराधीलाई जोगाउने, जोगाउन प्रोत्साहन गर्ने वा बाध्यै पार्नेजस्ता काम गरेर किमार्थ देशमा अपराध संस्कृतिको विकास हुन दिने थिएनन्। त्यसो गर्नेलाई निरपेक्ष भएर कानुनी सजाय दिलाउने थिए। त्यसको विरोध गर्ने र कानुनी सर्वोच्चताको माग गर्नेलाई दमन गर्ने थिएनन्।

    आफूलाई नियम, नैतिकता र आदर्शको नमुना बनाउने थिए। आफ्नो निजी लाभ वा लाभको रक्षा गर्न तल्ला तहका कार्यकर्ता, कर्मचारी वा कसैलाई माध्यम वा भरिया बनाउने र पक्राउ परेमा छुटाउन दबाब दिने, नियम कानुनलाई नै तोडमरोड गर्ने वा मुख खोल्ने डर भए मुखै बन्द गरिदिनेजस्ता अनैतिकताबाट टाढै रहने थिए। 

    समग्र राष्ट्रिय र उचित कुरामा नअड्ने बरु स्थितिअनुसार समस्या थाँती राख्ने, थामथुम पार्ने, तत्कालको आक्रोश मत्थर पारिहाल्ने भनेर जसलाई पनि शहीद घोषणा गरिहाल्ने, १० लाख रुपैयाँ बाँडिहाल्ने, आरक्षण दिइहाल्ने जस्ता कुराको सट्टा सत्य, न्याय, आदर्श र दीर्घकालीन औचित्यमा अड्ने थिए। 

    राष्ट्रको परराष्ट्र, शिक्षा, आन्तरिक शान्ति व्यवस्था, न्याय, अर्थतन्त्र आदि जस्ता राष्ट्रिय जीवनमा गहिरोसँग आवद्ध नीति, कार्यप्रणाली, संस्थापन आदि कुरा सरकार बदलिएपिच्छे बदलिइरहने थिएनन्।

    आफ्ना परिवारदेखि, इष्टमित्र, कार्यकर्ता, कर्मचारी र दलकै अन्य नेतासम्म शान देखाउने, फाइदा लिइहाल्ने, धाकधम्की लगाइहाल्ने, सरकारी साधन र अधिकारको दुरूपयोग गरिहाल्नेजस्ता लागिसकेका विसंगत आदत, गलत परम्परा अन्त्य गर्न आवश्यक शिक्षा, विचार विमर्श, कानुनी कडाइ, वैकल्पिक व्यवस्था आदि अपनाउने थिए। 

    विरोधका लागि विरोधको संस्कार अन्त्य गरेर राम्रा कुरा विरोधी दल, विचारक आदि जसको पनि लिने, त्यसको कदर गर्ने, अपनाउने र आफ्ना गल्ती देखाइदिएमा प्रतिष्ठाको प्रश्न नबनाई सधन्यवाद सिक्ने, अपनाउने गरेर आफूलाई उठाउने थिए।

    सार्वजनिक विषय जस्तो यातायात, शैक्षिक वा हाटबजार आदिका कुरामा कुनै तात्कालिक कामविशेषले कुनै व्यवधान पर्ने भए त्यस्तो व्यवधान कमभन्दा कम समयका लागि, कमभन्दा कम बाधा पर्ने गरी कुशलतापूर्वक संचालन गर्ने र नम्रता र मर्यादापूर्वक पूर्वसूचना दिने चलन चलाउने थिए। 

    बाटो, पानी, पार्क, आदिको उपयोगको उच्चतम व्यवस्था मिलाउने थिए। जस्तो : पार्कमा शौचालय, पानी, फोहोर फाल्ने बाकस, बत्ती आदिको सकेसम्म स्वचालित व्यवस्था गर्ने थिए, उपयोग गर्ने तरिका आदिका बारेमा आवश्यक सूचना टाँस्ने थिए, माइकिङ गराउने थिए र कर्मचारीसमेत खटाएर नम्रतासाथ त्यसमा अभ्यस्त गराउने थिए।

    कर्मचारी, प्रहरी आदिले जनतासँग व्यवहार गर्दा उचित मर्यादासाथ व्यवहार गर्ने वातावरण बनाउने र चलन चलाउने थिए, त्यस्तो शिक्षा दिने थिए, पालन गराउन कर्मचारी खटाउने थिए र जबर्जस्ती पालना नगर्नेलाई उचित तरिकाले बुझ्ने बुझाउने र स्थितिअनुसार दण्ड पनि गराउने थिए। जस्तो : प्रहरीहरू ड्राइभरलाई ‘तँ’ भनेर गाली गर्छन्। ड्राइभरले खलासीलाई र खलासीले त्यही सिको गर्छ यात्रीसँग। त्यसो त प्रहरीहरू पनि माथिबाट त्यही भोगिरहेका हुन्छन्।

    आफूले राष्ट्रिय परम्परा, आर्थिक–सामाजिक स्थिति आदिअनुसार उचित सामान्य वस्त्र, वेशभूषा, साधन, भवन आदि प्रयोग गर्ने थिए। दरबार वा महल जस्ता घर, लाखौँका मोबाइल, करोडौँका गाडी, नोकरचाकरदेखि साजसजावटका तामझाम र यसरी आफूलाई जनताको साथी–सहयोगी–सेवक नबनाएर टाढा अलग्ग बस्ने विशेष देवता बनाउने चलनमा विश्वास गर्ने थिएनन्।

    जनताले तिर्ने कर कति लिने, केकेमा लिने, कसरी उठाउनेजस्ता कुरा पर्याप्त सोचबुझपछि निर्णय गर्ने थिए। कर लिएअनुसार अनिवार्य सुविधा–सुरक्षा दिने थिए, करको पूरापूरा सदुपयोग गर्ने थिए ताकि जनताले त्यसको प्रशंसा गरून् नकि निन्दा।

    बजार भाउ, आपूर्ति व्यवस्था,  शुद्धता, नापतौल आदिको  समयमा उचित निर्धारण, नियमित अनुगमन र आवश्यकतानुसार दण्ड र पुरस्कारको व्यवस्था गर्ने थिए।संक्षेपमा कौटिल्यका शब्दमा दण्ड (राज्य वा सरकार) सदा बिउँझो रहनेथियो र अपराध, ढिलासुस्ती, लापरवाही सदा निदाउँथ्यो, जसरी उज्यालो आएपछि अँध्यारो सुत्छ। 

    त्यसो त यो चौबीसै घन्टा, तीसै दिन, बाह्रै महिना र वर्षौं वर्ष एकनास चलिरहनुपर्ने कुरा हो। तर जनतामा, कर्मचारीमा, प्रहरीमा, सरोकारका सबैमा यस्तो बानी परेपछि, यस्तो प्रणाली तैनाथ रहेपछि, यसमा तलमाथि भए कानुनले कसैलाई छोड्दैन र गलत नगरेको भए अवश्य सुरक्षा गर्छ भन्ने विश्वास भएपछि यसमा एक किसिमको स्वचालन आउँछ, जुन सजिलो पनि हुन्छ, सुरक्षित पनि र गौरवपूर्ण पनि। तर कानुनलाई छल्न, पेल्न, किन्न सकिन्छ भन्ने भएपछि, जुन यतिखेर प्रचलित छ, जनजीवनमा ‘लथालिंग देशको भताभुंग चाला, जोमाथि अन्याय उसकै गर्दन जाला’ सामान्य हुने क्रम घट्ने होइन, बढ्नेछ, जसरी यथार्थमै भइरहेको छ।

प्रकाशमणि दहाल

दहाल समसामयिक राजनीतिकलगायत विषयमा कलम चलाउँछन्।

prakashmanidahal@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]